आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलिङह्याम चम्किँदा रियलले नापोलीलाई हरायो

बुधबार, १७ असोज २०८०, ०७ : ०८
बुधबार, १७ असोज २०८०

नापोली । इंग्लिस मिडफिल्डर जुड बेलिङह्यामले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गर्दा रियल मड्रिडले इटालियन क्लब नापोलीलाई उसैको घरेलु मैदानमा हराएको छ । च्याम्पियन्स लिगको समूह सी अन्तरगतको खेलमा रियल ३–२ गोलले विजयी भएको हो ।

खेलको १९ औँ मिनेटमा लियो ओस्टिगार्डले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । तर २७ औँ मिनेटमा बेलिङह्यामको पासमा गोल गर्दै भिनिसियस जुनियरले खेल बराबरी गरे । ३४ औँ मिनेटमा बेलिङह्यामले रियललाई खेलमा अग्रता दिलाए ।

दोस्रो हाफको सुरुवातमा नै पिटोर जेलेस्कीले पेनाल्टीबाट गोल गर्दै नापोलीलाई खेलमा फर्काए । खेल सकिन १० मिनेट बाँकी छँदा फेडेरिको भालभर्डेको प्रहार पोस्टमा रिबाउन्ड हुँदै गोलकिपर एलेक्स मेरेटलाई लागेर गोल भएपछि रियलले खेल आफ्नो पक्षमा पारेको थियो ।

योसँगै नापोलीको प्रतियोगितामा आफ्नो घरेलु मैदानमा १४ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । समूह कै अर्को खेलमा स्पोर्टिङ ब्रागाले युनियन बर्लिनलाई ३–२ गोलले हरायो ।

यो समूहमा रियल ६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । नापोली र स्पोर्टिङ ब्रगाको समान ३ अङ्क रहे पनि हेड टू हेडको आधारमा नापोली दोस्रो स्थानमा छ । युनियन बर्लिन अङ्कविहीन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप