आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विज्ञानका उत्कृष्ट १३ विद्यार्थीलाई अनुदान

बुधबार, १७ असोज २०८०, १३ : ५८
बुधबार, १७ असोज २०८०

काठमाडौँ । विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विभिन्न विभाग तथा क्याम्पसहरूमा अध्ययनरत स्नातकोत्तर तहका १३ जना उत्कृष्ट शोधार्थी विद्यार्थीहरूलाई केसीआरई उत्कृष्ट शैक्षिक अनुदानबाट  पुरस्कृत गरिएको छ । वार्षिक रूपमा उपलब्ध गराइँदै आएको उक्त शैक्षिक अनुदानको को राशि रु ८० हजार रहेको छ । 

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान र जल तथा मौसम विज्ञान केन्द्रीय विभागको संयुक्त आयोजनामा कीर्तिपुर स्थित काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एजुकेशन (केसीआरई) को सभाकक्षमा आयोजित कार्यक्रमबिच त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले उत्कृष्ट शोधार्थी विद्यार्थीहरूलाई उक्त अनुदान प्रदान गरेका थिए । 

त्रिुभवन विश्वविद्यालय र चाइनिज एकेडमी अफ साइन्सेस बीच सन् २०१४ मा सहमति भई उक्त राशिको अनुदान केन्द्रीय विभाग लगायत क्याम्पसहरूमा अध्ययन गर्ने त्रिविका विद्यार्थीहरूले प्राप्त गरिरहेका छन् । हालसम्म १३० जना शोधार्थी विद्यार्थीहरूले उक्त अनुदान प्राप्त गरिसकेका छन् । 

उत्कृष्ट शोधार्थी अनुदान प्राप्त विद्यार्थीहरूमा  वातवरण केन्द्रीय विभागका अन्जुली मुल्मी, खाद्य प्रविधि केन्द्रीय विभागका स्वेच्छा थापामगर, वायोटेक्नोलोजी केन्द्रीय विभागका रोजीना पाण्डे, रसायशास्त्र केन्द्रीय विभागका विद्यार्थीद्धय सोनिया जोशी र सीता खडका,  भौतिकशास्त्र केन्द्रीय विभागका सागर पाण्डे, गणित केन्द्रीय विभागका सन्देश ठकुरी, प्राणिशास्त्र केन्द्रीय विभागका अन्जु कर्माचार्य, तथ्याङ्कशास्त्र केन्द्रीय विभागका श्रृषा रिजाल, माइक्रोवायोलोज केन्द्रीय विभागका लक्ष्मी पाण्डे, भुगर्भशास्त्र केन्द्रीय विभागका नागेश रिजाल, वनस्पतीशास्त्र केन्द्रीय विभागका विनिका माथे र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका स्मृति अधिकारी रहेको छन् । 

उत्कृष्ट शोधार्थी विद्यार्थीहरूलाई अनुदान हस्तान्तरण गर्ने कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै शिक्षाध्यक्ष प्रा.डा शिवलाल भुसालले विज्ञानका उत्कृष्ट वैज्ञानिक विद्यार्थीहरूले विश्वविद्यालयको गरिमा बढाउने र भविष्यमा थप उत्कृष्ट कार्य गर्ने अपेक्षा व्यक्त गरेका थिए । 

विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा विनिल अर्यालले चाइनिज एकेडमी अफ साइन्सेस विश्वकै उत्कृष्ट वैज्ञानिकहरू निर्माण गर्ने संस्था रहेको र नेपालमा विज्ञान शिक्षाको विकास र गुणस्तरका लागि सहयोग गर्दै आइरहेको बताए । आगामी दिनमा त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग सहकार्य गरी विद्यार्थीहरूलाई विविध प्रकारका आर्थिक एवम् प्राज्ञिक सहयोगहरू उपलब्ध गराउने प्रतिबद्धता जनाए । 

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा दीपक अर्यालले सबै विद्यार्थीहरूमा शुभकामना व्यक्त गर्दै आर्थिक प्रोत्साहनका अन्य स्रोतहरू मार्फत विद्यार्थीहरूलाई अनुसन्धानमा उत्प्रेरित गर्नुपर्ने बताए । 

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक तथा काठमाडौँ सेन्टर फर रिसर्च एन्ड एजुकेसनका उपनिर्देशक डा. विनोद दवाडीका अनुसार  विद्यार्थीहरूले प्राप्त गर्ने रु ८० हजार मध्ये ६० प्रतिशत अर्थात् ४८ हजार रुपैयाँ पुरस्कृत भएको दिन र बाँकी २० प्रतिशत शोधकार्य ९ महिना भित्र सम्पन्न गरी सम्बन्धित विभागको सिफारिस अनुसार र अन्तिम २० प्रतिशत सम्बन्धित शोधार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा  अनुसन्धानात्मक लेख २ वर्ष भित्र प्रकाशित गरिसकेपछि प्रदान गरिने प्रावधान रहेको छ । 

नियमानुसार केसिआरई उत्कृष्ट शोध अनुदान बाट पुरस्कृत हुनुका लागि पहिलो चरणमा शोधकार्य अघिको सेमेस्टरमा उच्चतम अङ्क प्राप्त गरेका र उत्कृष्ट शोत्रप्रस्तावना भएका ३ जना विद्यार्थीहरूलाई सम्बन्धित विषयको विभागीय अनुसन्धान समिति बाट सिफारिस गरिनेछ  । यसरी सम्बन्धित विभागबाट सिफारिस भई आएका विद्यार्थीहरुमध्येवाट सर्वोत्कृष्ट विद्यार्थीलाई विज्ञान तथा प्रविधि अध्ययन संस्थानले गर्ने छनौट प्रक्रिया रहेको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप