आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल सुपर लिग : झापा एफसीमा स्पेनिस प्रशिक्षक

‘नेपाली फुटबलमा स्पेनिस शैलीको प्रयोग गर्नेछु’
बिहीबार, १८ असोज २०८०, १६ : २४
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । झापा एफसीले नेपाल सुपर लिग फुटबल प्रतियोगिताको आगामी संस्करणका लागि मुख्य प्रशिक्षकका रुपमा स्पेनका ओरिओल मोहेडानो सेगुरालाई नियुक्त गरेको छ । यूईएफए ‘ए’ लाइसेन्सप्राप्त ओरिओलले यसअघि स्पेन, स्विट्जरल्याण्ड, फिनल्याण्ड, नर्वे र कम्बोडियाका विभिन्न क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । 

उनको नियुक्तिले क्लब तथा समग्र नेपाली फुटबलमा योगदान पुग्ने विश्वास क्लबले  गरेको छ । झापा एफसी ओरिओलको आगमनलाई लिएर निकै उत्साहित र आशावादी रहेको जानकारी क्लबका अध्यक्ष अर्पणबिक्रम खड्काले दिए ।

‘झापा एफसीमा प्रशिक्षक ओरिओललाई स्वागत गर्न पाउँदा हामी निकै उत्साही छौँ । उनको प्रशिक्षण अनुभवले हाम्रो टोलीलाई नेपाल सुपर लिगको उपाधि दिलाउनेमा विश्वस्त पनि छौँ । यो सिजन नेपाली फुटबललाई थप व्यवसायी र राम्रो बनाउन हामी प्रयासरत छौँ,’ उनले भनेका छन् । 

क्लबका महासचिव एवं प्रवक्ता सुजन गौतमले पनि ओरिओलको आगमनबाट आफूहरु उत्साही भएको बताए । ‘कोच ओरिओलको आगमन नेपाली फुटबलमा झापा एफसीको स्तर बढाउने महत्वपूणर् आधार हो भन्ने हामीलाई लागेको छ । फुटबल क्षेत्रमा उनको विशेषज्ञताले हाम्रो प्रदर्शनमा सुधार आउने छ र यसले समग्र नेपाली फुटबलको विकासमा पनि योगदान पुग्नेछ,’उनले भने । 

प्रशिक्षक ओरिओलले आफू नयाँ चुनौती स्वीकार गर्न तयार रहेको बताए । ‘म झापा एफसीमा सामेल हुन पाउँदा निकै खुशी र उत्साही छु । यो मेरा लागि नयाँ चुनौती पनि हो । झापा एफसीले नेपालको फुटबलको स्तर बढाउन राम्रो प्रयास गरिरहेको छ । नेपालजस्तो सुन्दर देशमा फुटबलको विकासमा योगदान गर्न पाउँदा यसलाई मैले अवसर र चुनौती दुवैको रूपमा लिएको छु । मेरो लक्ष्य भनेको प्रतिस्पर्धी र सफल टोली तयार पार्नु हो । नेपाली फुटबलमा स्पेनिस शैलीको प्रयोग गरी समर्थकहरुलाई खुसी तुल्याउने प्रयास गर्नेछु,’ उनले भनेका छन् । 

ओरिओलले कम्बोडियाका प्रिमियर क्लबहरुमा मुख्य प्रशिक्षक तथा फिनल्याण्ड, नर्वेलगायतका देशका क्लबहरुमा सहायक प्रशिक्षकको रुपमा काम गरेका छन् । नेपाल सुपर लिगको दोश्रो संस्करण मंसिर ८ गतेदेखि काठमाडौँको दशरथ रंगशालामा सुरु हुनेछ । झापा एफसीले मंसिर ११ गते स्पोर्टिङ ईलामसँग आफ्नो पहिलो खेल खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप