आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
न्यायलय

‘रिगल’ को कैद कट्टा गर्ने राष्ट्रपतिको निर्णयसहितको सक्कल मिसिल मगायो सर्वोच्च अदालतले

बिहीबार, १८ असोज २०८०, २३ : ४७
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । सर्वोच्च अदालतले नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को बाँकी कैद सजाय कट्टा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । साथै उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत आदेश भएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजालसले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।

इजलासले रिट निवेदनको टुङ्गो नलागेसम्म निवेदक तथा निजका परिवारका सदस्यहरूलाई यथोचित सुरक्षा प्रदान गर्न र गराउन गृह मन्त्रालयलाई लेखी पठाउनसमेत आदेश दिएको छ । रिट निवेदक वा प्रत्यर्थी कुनै पक्षको अनुरोधमा पनि सुनुवाइ स्थगित नहुने ब्यहोरा जनाउ दिई अरू नियमानुसार पेस गर्न इजलासले आदेश दिएको छ ।

इजलासले रिगलको हकमा यही असोज ३ गते राष्ट्रपतिद्वारा माफी मिनाहा सम्बन्धमा भएको निर्णयसहितको सम्पूर्ण सक्कल मिसिल महान्यायाधिवक्ताको कार्यालयमार्फत असोज २४ गतेभित्र झिकाउन समेत आदेश दिएको छ ।

रिगलले खुँडा प्रहार गरेर नेपालगञ्जका चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती शेर्पाले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन शेर्पाले माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।

regal-1

regal-2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप