आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

नेसपामा प्रचण्डको ‘महेन्द्र कार्ड’ : बाबुराम अप्ठ्यारोमा, यादव पछि नहट्ने

गोरखा–२ प्रचण्डका लागि छाडेकोमा बाबुरामद्वारा गल्ती भएको महसुस
बिहीबार, १८ असोज २०८०, २० : ३२
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । ‘बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठुलो अर्थ छ, अब हामी सँगै उभियौँ । कसैले रोकेर रोकिन्न । आजै पार्टी एकता भएको होइन तर चुनावपछि हुन्छ । नाम परिवर्तन भएर नेकपा समाजवादी रहन्छ ।’

माथिका अभिव्यक्ति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७९ साउन ३१ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकारसामु व्यक्त गरेका हुन् । त्यतिबेला भट्टराईले जसपाबाट अलग्गिएर आफ्नै नेतृत्वमा नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका थिए । पार्टीको दोस्रो अध्यक्षमा महिन्द्रराय यादव थिए ।

निर्वाचन लगत्तै पार्टी एकता गर्ने सर्तसहित भट्टराईसँग सहमति भएपछि हौसिएका प्रचण्डले उक्त अभिव्यक्ति दिएका हुन् । त्यसअघि साउन ९ गते प्रचण्ड निवास खुमलटारमा दुवै पार्टीका शीर्ष नेताहरूको बैठकले मङ्सिरमा हुने निर्वाचनमा माओवादीको चुनाव चिह्न प्रयोग गर्ने, पार्टीको नाम नेकपा समाजवादी राख्ने गरी सहमति गरेको थियो ।

तर सहमति भएको १३ महिनापछि गत भदौ ३० मा पार्टी एकताका लागि प्रचण्डले पठाएको पत्राचारले नेसपा आन्तरिक अन्तर्द्वन्द्वमा फस्यो । भट्टराई साताव्यापी भारत भ्रमणमा निस्किएको बेला उनलाई ‘बाइपास’ गरी अर्का अध्यक्ष यादवलाई माओवादीले पत्र पठाएपछि नेसपा गम्भीर विवादमा फसेको हो ।

बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठुलो अर्थ राख्ने दाबी गरेका प्रचण्डले नै पठाएको पत्रले विश्वासको वातावरण टुटाएको हो । सोही पत्रका कारण पछिल्लो समय बाबुराम र प्रचण्डबिचको सम्बन्ध चिसिएको छ । नेसपालाई आन्तरिक द्वन्द्वमा फसाउन उक्त पत्र महत्त्वपूर्ण हतियार बन्यो । अन्तर्विरोधका चतुर खेलाडी भनेर चिनिएका प्रचण्डले नेसपाभित्र महिन्द्रको ढाडमा टेकेर बाबुरामको टाउकोमा प्रहार गर्न सफल भएको चर्चा उत्तिकै चुलिएको छ ।

माओवादीसँग पार्टी एकता नगर्ने भट्टराई पक्ष र पूर्वसहमति अनुसार पार्टी एकता गर्नुपर्ने यादवपक्षबिच विवाद उत्कर्षमा पुगेपछि सोमबार भट्टराईले कार्यकारिणी समितिको बैठक बोलाए । दुई दिनसम्म बसेको उक्त बैठकमा माओवादीले पठाएको पत्र र पार्टी एकता सम्बन्धमा गर्मागर्मी बहस भयो तर निष्कर्ष निकाल्न सकेन । अन्ततः निर्णय लिने जिम्मा पदाधिकारीलाई दिइयो । सोही विषयमा निर्णय लिन बुधबार पार्टी कार्यालय तीनकुनेमा  पदाधिकारी बैठक बस्यो ।

बैठकले आगामी वैशाखमा एकता महाधिवेशन गर्ने गरी मङ्सिर ६ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गर्‍यो । माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको ९ बुँदे आधारपत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय पनि बैठकले गर्‍यो । यद्यपि तीन सदस्यीय वार्ता समितिमा एक जना सदस्य थप गरी विचार, नीति र सिद्धान्त मिल्ने राजनीतिक दलसँग छलफल खुला राख्ने निर्णय भएको उपाध्यक्ष दुर्गा सोबले बताइन् ।

‘पार्टी विभाजन तथा अन्तर्द्वन्द्वमा फसाउने षड्यन्त्रपूर्वक पठाएको पत्रको कुनै अर्थ छैन । एकताका लागि हामीले पठाएको ९ बुँदे पत्रको जवाफ नआएसम्म माओवादीसँग वार्ता हुँदैन । तर विचार, नीति र सिद्धान्त मिल्नेसँग एकताको ढोका खुला रहनेछ’, सोबले भनिन्  ।

माओवादी केन्द्रले पठाएको पत्र पार्टीलाई विभाजन गर्ने र विवाद उत्पन्न गराउने गलत मनसायबाट आएको विषयमा सबैको एकमत रहेको उनको जिकिर छ ।

महासचिव रमेशप्रसाद यादवले पार्टी अध्यक्ष भट्टराई भारत भ्रमणमा रहेकाले दोस्रो अध्यक्षको नाममा माओवादीले पत्र पठाएको जिकिर गरे । यद्यपि दुवै अध्यक्षलाई पत्र पठाएको उनको दाबी छ । पार्टीभित्र एकताको विरोधी कोही नभएको भन्दै आगामी केन्द्रीय समितिले यस विषयको छिनोफानो गर्ने विश्वास उनले व्यक्त गरे । उनले एकताको नाममा पार्टी विभाजन नहुने पनि प्रस्ट पारे ।

‘डाक्टर साब भारत भ्रमणमा रहेकाले अर्को अध्यक्षलाई माओवादीले पत्र पठाएको हो । यस विषयमा मैले माओवादीका महासचिव देव गुरुङसँग बुझेको थिएँ । उहाँले दुवै अध्यक्षलाई पत्र पठाएको भन्नुभएको छ’, उनले भने, ‘पत्रले विवाद उत्पन्न भए पनि पार्टी विभाजन हुँदैन । भट्टराईसहितको पार्टी एकता हुन्छ । यसको छिनोफानो मङ्सिर ६ गते बस्ने केन्द्रीय समिति बैठकले गर्छ ।’

महासचिव यादवले प्रचण्ड र बाबुरामबिचको आन्तरिक विषय बुझ्न नसकेको भन्दै पत्रकै आधारमा एकताको पूर्वसहमतिबाट भाग्न नमिल्ने बताए । यद्यपि माओवादी पत्राचारकै कारण पार्टी निर्माणको १४ महिनामै नेसपा विभाजनको सँघारमा पुगेको चर्चा छ ।

माओवादीसँग पार्टी एकता गर्न निर्वाचन लगत्तै महिन्द्रलाई बाबुरामको दबाब

पूर्वसहमति अनुसार दुवै पार्टीले एउटै चुनाव चिह्नसहित संयुक्त घोषणापत्र बनाएर मङ्सिरमा भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भाग लिए । भट्टराईले लगातार निर्वाचन जित्दै आएको गोरखा–२ प्रचण्डका लागि त्याग गरे । उनलाई अत्यधिक मतले जिताउन भट्टराई आफैँ गाउँगाउँ पुगे । निर्वाचनमा विजयी भएलगत्तै प्रचण्ड एमालेको समर्थनमा पुस ११ गते प्रधानमन्त्री भए । तर त्यसअघि नै पार्टी एकतालाई अन्तिम रूप दिन प्रचण्ड र बाबुरामबिच सहमति भए पनि यादवको अडानका कारण रोकिएको महासचिव यादवको जिकिर छ ।

‘निर्वाचन भएको एक महिनामा दुई पार्टीको एकतालाई अन्तिम दिने डाक्टर साब र प्रचण्डबिच सहमति भएको थियो । तर महेन्द्रजीको अडानका कारण रोकिएको हो,’ महासचिव यादवले रातोपाटीसँग भने, ‘माओवादीले माओ विचारधारा त्यागे मात्र एकता सम्भव हुने हामीले अडान राख्यौँ । उहाँले एकताका लागि निकै जोडबल गर्नुभएको थियो । पछि उहाँहरूबिच किन सम्बन्ध बिग्रियो, हामीले बुझ्न सकेका छैनौँ ।’

प्रचण्डले माओ विचारधारा त्याग्ने आधिकारिक पत्र पठाइसकेको जनाउँदै उनले बाबुरामसहितको सिङ्गो पार्टी नै एकतामा सामेल हुने विश्वास व्यक्त गरे ।

१० वर्ष लामो माओवादी सशस्त्र युद्धमा प्रचण्डलाई साथ दिएका भट्टराईले २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि माओवादी परित्याग गरेका थिए । युद्धदेखि शान्ति प्रक्रियासम्म प्रचण्डसँग लभ–हेटको सम्बन्धमा रहेका भट्टराई पछिल्लो समय प्रचण्डबाट अपमानजनक धोका पाएको महसुस गरिरहेका छन् । पछिल्लो समय आफ्ना विश्वासिला पात्रहरूले समेत आफ्नो इमानदारिताको फाइदा उठाएकोमा बाबुरामले दिक्दारी मानेको उनी निकट एक नेताले बताए ।

पदाधिकारी बैठकमा भट्टराईले प्रचण्डलाई अन्तर्विरोधमा खेल्ने अविश्वासी नेता भएको चित्रण गरेका छन् ।

‘बाबुराम सर देशका लागि आवश्यक व्यक्ति हो । उहाँको इमानदारितामाथि प्रचण्डजीले पटकपटक खेल्नुभयो’, ती नेताले भने, ‘युद्धदेखि शान्ति प्रक्रियासम्म आइपुग्न र प्रचण्डलाई प्रधानमन्त्री बनाउन उहाँले ठुलो त्याग गर्नुभयो । तर प्रचण्डले उहाँलाई बारम्बार धोका दिनुभयो ।’

एक सय ८९ सदस्यीय केन्द्रीय समिति रहेको नेसपामा करिब ४० प्रतिशत केन्द्रीय सदस्य यादव पक्षको रहेको बताइन्छ । गएको निर्वाचनमा यादव सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । प्रचण्ड सरकारमा उनी खानेपानी मन्त्री छन् । यस्तै सहअध्यक्ष गंगा श्रेष्ठ सिन्धुली–२(२) बाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । जनयुद्धकालदेखि नै भट्टराईलाई साथ दिएका श्रेष्ठ पछिल्लो समय माओवादीसँग पार्टी एकताको पक्षमा उभिएको बुझिएको छ । श्रेष्ठ नेसपाबाट एकता टोलीको संयोजकसमेत हुन् । उपाध्यक्ष सोब र महासचिव यादव सदस्य छन् । बुधबारको बैठकले जनक साहलाई थप गरी चार सदस्यीय टोली बनाएको छ ।

  

माओवादी केन्द्रबाट उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव त्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत गरी पाँच सदस्यीय टोली गठन गरिएको छ ।

गोरखा–२ प्रचण्डका लागि छाडेकोमा बाबुरामले गल्ती भएको महसुस गरेका छन् ।

बैठकमा बाबुराम–महिन्द्र नोकझोक, कसले के भने ?

पदाधिकारी बैठकमा भट्टराईले प्रचण्डलाई अन्तर्विरोधमा खेल्ने अविश्वासी नेता भएको चित्रण गरेका छन् । पार्टी एकताका लागि यादव पक्षबाट दबाब बढाएपछि अप्ठ्यारोमा परेका उनले यथास्थितिमा माओवादीसँग पार्टी एकता हुन नसक्ने बताएको एक नेताले बताए ।

‘प्रचण्डजीलाई मैले जति नजिक रहेर चिनेको छु तपाईंहरूले चिन्नुभएको छैन । उहाँ अन्तर्विरोधमा खेल्ने र राजनीतिक फाइदा उठाउने चतुर खेलाडी हो । उहाँलाई विश्वास गरेर यथास्थितिमा माओवादीसँग पार्टी एकता हुन सक्दैन,’ बाबुरामलाई उद्धृत गर्दै ती नेताले भने, ‘उहाँले पठाएको पत्र नेतृत्वलाई अपमान गर्ने र पार्टीभित्र विवाद उत्पन्न गराएर विभाजन गर्ने खालको छ । तत्काल माओवादीसँग पार्टी एकता होइन, महाधिवेशनको तयारीमा जुट्न म सबैलाई आग्रह गर्छु ।’

वैकल्पिक शक्ति निर्माणमा समाजवादी मोर्चाको अवधारणा आफूले ल्याए पनि त्यसबाट अलग्याएको भन्दै बैठकमा उनले आक्रोस पोखेका थिए । प्रचण्डबाट आफूले बारम्बार धोकाबाहेक केही नपाएको उनले गुनासो पोखे ।

ती नेताका अनुसार बैठकमा बाबुरामले भने, ‘गतवर्ष उहाँले निर्वाचनमा सहकार्य गरौँ भन्नुभयो । एउटै समाजवादी पार्टी बनाएर जाऊँ भन्नुभयो । दुई नेता एक ठाउँमा उभिँदा त्यसले बाहिर राम्रो सन्देश जान्छ भन्नुभयो । तर निर्वाचन जितेपछि प्रचण्डजी टाढिनुभयो । समाजवादी मोर्चाको अवधारणा मैले ल्याएको हो । अन्त्यमा मलाई नै बाहिर निकाल्नुभयो । खोलो तर्ने लौरो बिर्सने उहाँको पुरानै शैली हो ।’

यस्तै गोरखा–२ प्रचण्डका लागि छाडेकोमा बाबुरामले गल्ती भएको महसुस गरेका छन् । प्रचण्डले निर्वाचनपछि जसरी पनि आफू प्रधानमन्त्री हुने र कार्यकारी भूमिकामा रहेर काम गरेर देखाउने इच्छा व्यक्त गरेको र लामो समय सहकार्य गरेका कारण उनी प्रधानमन्त्री हुँदा राम्रै हुन्छ भन्ने हिसाबले आफूले आफ्नो निर्वाचन क्षेत्र छोडेको बाबुरामको भनाइ थियो । ‘तर चुनाव जितेपछि यी सबै गुन बिर्सिनुभयो । हामीले माओवादीसँग सहकार्य नगरी संगठन विस्तार गरेर गएको भए प्रदेश र संघमा केही सिट जित्ने थियौँ । माओवादीसँग सहकार्य गरेर जित्दै आएको क्षेत्र पनि गुमायौँ’, बाबुरामको भनाइ उद्धृत गर्दै ती नेताले बताए ।

उपाध्यक्ष हिसिला यमीले माओवादीको पत्र बाबुरामलाई कमजोर बनाउने र पार्टी विभाजन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै आक्रोस पोखिकी थिइन् ।

बैठकमा अर्का अध्यक्ष यादवले माओवादीसँग पहिल्यै सहकार्य गर्न नहुने, गरिसकेपछि धोका दिन नमिल्ने बताएको बुझिएको छ । पार्टी एकताका लागि पठाएको पत्रलाई ‘जानकारी पत्र’ भन्दै उनले त्यसैलाई आधार बनाएर एकता प्रक्रिया रोक्न नमिल्ने अडान राखेका थिए ।

‘माओवादी केन्द्रले पठाएको पत्र एकताका लागि जानकारी दिएको जनाउ पत्र हो । सो पत्रमा एकताका लागि माओवादी विचारधारा त्याग्नेबाहेक अन्य केही लेखिएको छैन,’ बैठकमा अध्यक्ष यादवले राखेको भनाइ उद्धृत गर्दै नेसपाका एक नेताले भने, ‘यस विषयमा प्रचण्डजीसँग कुरा गर्दा दुवै अध्यक्षलाई पत्र पठाएको भनेका छन् । पत्रलाई नै लिएर एकता प्रक्रियाबाट भाग्न मिल्दैन ।’

दुवै पक्ष बसेर नीति, विचार, सिद्धान्तमा छलफल गर्न सकिने अध्यक्ष यादवको तर्क थियो । बैठकमा उनले आफू पार्टी विभाजन गर्ने पक्षमा नभएको विश्वास दिलाएका थिए । उनले प्रचण्ड र बाबुरामबिच भएको आन्तरिक द्वन्द्व के हो भन्ने प्रस्ट पार्न आग्रह गरेका थिए ।  

उपाध्यक्ष दुर्गा सोबले माओवादीको पत्राचार पार्टीभित्र अविश्वास, विवाद र विभाजन गर्ने कुत्सित मनसायबाट आएको भनाइ राखेकी थिइन् । पार्टीलाई थप एकताबद्ध बनाएर लैजान दुई अध्यक्ष मिल्नुको विकल्प नभएको उनको भनाइ थियो ।

अर्की उपाध्यक्ष हिसिला यमीले माओवादीको पत्र बाबुरामलाई कमजोर बनाउने र पार्टी विभाजन गर्ने गम्भीर षड्यन्त्र भएको भन्दै आक्रोस पोखिकी थिइन् । कुनै हालतमा पनि माओवादीसँग पार्टी एकता गर्न नहुने अडान राख्दै उनले प्रचण्डले पटकपटक धोका र षड्यन्त्रको राजनीतिबाहेक केही नगरेको आरोप लगाएकी थिइन् । ती नेताका अनुसार प्रचण्डलाई गोरखा–२ छोडेकोमा उनले बाबुराममाथि आक्रोश पोखेकी थिइन् ।

महासचिव रमेश यादवले सिङ्गो पार्टी एकताबद्ध भएर माओवादीसँग एकता गर्नुपर्ने धारणा राखेका थिए । पत्रलाई लिएर आन्तरिक द्वन्द्व चर्काउन नहुने र संगठन सुदृढीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो ।

उनले निर्वाचन लगत्तै पार्टी एकताका लागि आतुर भएकोमा अहिले किन पछि हटेको भन्दै अध्यक्ष बाबुराम भट्टराईमाथि प्रश्न तेर्स्याएका थिए ।

सहअध्यक्ष गंगा श्रेष्ठले सिङ्गो पार्टी एकता प्रक्रियामा जोडिनु पर्ने धारणा राखेका थिए । माओवादीले पठाएको पत्र विधि, प्रक्रिया विपरीत भएकाले त्यसलाई माओवादीले सच्याउनुपर्ने उनको भनाइ थियो । पार्टीले पठाएको ९ बुँदे प्रस्तावको आधारमा एकता गर्न उनले नेतृत्वलाई सुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप