आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
तेल उद्योगको लापार्बाही

अन्यत्र उत्पादित तेल ल्याएर पुनः प्याकिङ गर्ने उद्योगलाई उत्पादन अनुमति, डिभिजन कार्यालयलाई पत्तो छैन

शुक्रबार, १९ असोज २०८०, १६ : २७
शुक्रबार, १९ असोज २०८०

मकवानपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले चितवनको एउटा तेल उद्योगलाई उत्पादन अनुमति दिएकोमा विवाद देखिएको छ । अन्यत्र उत्पादित तेल ल्याएर प्याकिङ गर्ने उद्योगलाई उत्पादनको अनुमति दिइएको हो ।

कार्यालयले भरतपुर महानगरपालिका वडा नम्बर–१६ स्थित सालासर बालाजी आयल इन्डष्ट्रिज प्रा.लि. लाई खाने तेल उत्पादन अनुमति दिएको हो । सो उद्योगलाई तोरी, भटमास र सूर्यमुखी (सनफ्लावर) तेल उत्पादनको अनुज्ञा दिइएको छ । कार्यालयले सो उद्योगलाई तोरीको २ वटा ब्राण्ड (दीपज्योति र सन सिटी), भटमासको सनसिटी ब्राण्डको प्रशोधित तेल र सूर्यमुखी (सनफ्लावर) को सनसिटी ब्राण्डको प्रशोधित तेल उत्पादनका लागि अनुज्ञा दिइएको हो ।

कार्यालय प्रमुख क्षितिज श्रेष्ठ स्वयंले अनुगमन गरी सो उद्योगलाई उत्पादन अनुज्ञा पत्र जारी गरिएको हो । सो उद्योग अनुगमनका लागि कार्यालय प्रमुख श्रेष्ठमात्र उद्योगमा पुगेका थिए ।

अनुज्ञा प्राप्त गरेको उद्योगले न त तोरीको तोल उत्पादन गर्छ, न नै भटमास र सूर्यमुखी (सनफ्लावर)को तेल नै । भरतपुर–२५ निवासी दुर्गा प्रसाद काफ्लेको नाममा रहेको सो उद्योगले तेल उत्पादनका लागि आवश्यक केही उपकरण राखे पनि उत्पादन भने ठप्प छ । उद्योगमा राखिएका मेसिनहरु चलाउन सक्ने अवस्थामा छैनन् भने उद्योगको नाम अंकित विभिन्न ब्राण्डका तेल बजारमा बिक्री वितरण भइरहेको छ ।

उद्योगले बाराको जितपुर सिमरा–९ को श्री हनुमान औद्योगिक खाद्य तेल उद्योगबाट लुज ट्याङ्करमा भटमास तथा तोरीको तेल आयात गरी रि–प्याकिङ गरेर आफ्नो ब्राण्डमा बजार पठाउने गरेको छ । सो उद्योगमा विराटनगबाट समेत लुज ट्याङ्करमा तेल आयात हुने गरेको छ ।

उत्पादनको अनुज्ञा लिएको सो उद्योगमा तेल उत्पादनका लागि आवश्यक कुनै पनि कच्चा पदार्थ छैन । उद्योगमा तोरी र भटमास समेत भेट्न मुस्किल छ भने सूर्यमुखी (सनफ्लावर)को सिड हालसम्म आयात नै गर्न सक्ने अवस्था नरहेको उद्योगका कर्मचारी बताउँछन् । सूर्यमुखी (सनफ्लावर) तेलका लागि ट्याङ्करमै तेल आयात गर्ने गरेको ती कर्मचारीले बताए ।

कानुनतः कुनै पनि खाद्य उद्योगलाई लुज ट्याङ्करमा तेल आयातको अनुमति छैन । तर, कानुन विपरीत तेल उद्योगहरुले बाहिरी जिल्लाबाट ट्याङ्करमा तेल आयात गर्ने गरेका छन् ।

2

डिभिजन कार्यालयलाई नै पत्तो छैन

कार्यालयले सम्बन्धित जिल्लास्थित डिभिजन कार्यालयलाई समेत जानकारी नगराई अनुज्ञा पत्र जारी गरेको हो । उक्त उद्योगलाई उत्पादन अनुज्ञा वितरण गर्ने कुनै पनि प्रक्रियामा जिल्लास्थित डिभिजन कार्यालयलाई सहभागी गराइएको छैन ।

खाद्य उद्योगहरुको अनुगमन तथा नियमन र नवीकरण लगायतका काम गर्न चितवनको भरतपुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय खडा गरिएको छ । सो कार्यालयमा अधिकृतस्तरको खाद्य निरीक्षक अधिकृत घननाथ अधिकारी कार्यालय प्रमुखका रुपमा कार्यरत छन् ।

सालासर बालाजी उद्योगको अनुज्ञाका विषयमा आफूलाई कुनै जानकारी नभएको र सो उद्योगमा हालसम्म आफू नपुगेको कार्यालय प्रमुख अधिकारीले बताए । उनका अनुसार जिल्लामा अनुज्ञा पत्र जारी गर्ने अधिकार नरहेको र सो विषयमा विभाग र तत्कालीन क्षेत्रीय (हालका प्रादेशिक) कार्यालयहरुलाई अधिकार छ ।

जिल्लामा खाद्य उद्योगहरुलाई अनुज्ञा पत्र जारी गर्ने कुनै पनि प्रक्रियामा डिभिजन कार्यालयहरुलाई संलग्न गराउने कानुनी वा व्यावहारिक प्रक्रिया नरहेको उनले बताए । अनुज्ञा जारी भएका उद्योगहरुको विषयमा जानकारी लिन अनुगमन नै गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख क्षितिज श्रेष्ठले उद्योग दर्ता अनुसार अनुज्ञा पत्र जारी हुने बताए । उद्योग दर्ताका क्रममा समावेश भएका व्यवस्थाका आधारमा अनुज्ञा पत्र जारी गर्ने गरेको उनले बताए ।

उद्देश्य र प्रकृति अनुसार खाद्य उद्योगहरुलाई अनुज्ञा पत्र जारी गरी वितरण गर्ने कानुनी प्रक्रिया रहेकाले सोही अनुसार काम भइरहेको भन्दै उनी पन्छिए । रि–प्याकिङ गर्ने उद्देश्यले जारी भएको उद्योग भए सोही अनुसार र उत्पादन गर्ने उद्देश्य भए सो अनुसार अनुज्ञा जारी गर्ने उनले बताए । तर उत्पादनको कच्चा पदार्थसमेत नभएको र ‘रि–प्याकेजिङ’ गर्ने उद्योगलाई कसरी उत्पादनको अनुमति दिइयो भन्नेबारे उनले प्रस्ट जवाफ दिएनन् ।

अनुज्ञा जारी गर्ने अधिकार विभाग र मातहतको प्रादेशिक कार्यालयमा रहेकाले डिभिजन कार्यालयहरुलाई यसबारे जानकारी गराउन जरुरी नरहेको श्रेष्ठले बताए । डिभिजन कार्यालयहरुले अनुगमन वा अन्य कुनै प्रक्रियाको क्रममा सो विषयमा जानकारी लिने उनको भनाइ छ ।

o

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप