आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

डाक्टर साबलाई लिएर नै माओवादीसँग एकता गर्ने हो, विभाजनको पक्षमा छैनौँ : नेसपा महासचिव यादव

शनिबार, २० असोज २०८०, १७ : ०६
शनिबार, २० असोज २०८०

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता गर्ने वा नगर्ने भन्ने विषयमा नेपाल समाजवादी पार्टी(नेसपा) भित्र दुई धार देखिएको छ । अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महिन्द्रराय यादवबिच देखिएको शक्ति संघर्षले पार्टी गठन भएको १४ महिनामै विभाजनतर्फ उन्मुख भएको छ ।

भदौ ३० गते भट्टराईलाई बाइपास गरेर माओवादीले एकताका लागि अध्यक्ष यादवलाई पत्र पठाएपछि आन्तरिक विवाद उत्कर्षमा पुगेको हो । एकताको विषयमा निर्णय लिन पार्टी कार्यालय कोटेश्वरमा दुई दिनसम्म बसेको कार्यकारिणी समितिको बैठकले वैशाखमा महाधिवेशन गर्ने निर्णयसहित मंसिरको पहिलो हप्ता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ ।

गत वर्ष निर्वाचनअघि माओवादीसँग पार्टी एकता गर्ने सहमति गर्दै नेसपाले माओवादीको चुनाव चिह्न र साझा घोषणापत्र लिएर निर्वाचनमा होमिएको थियो । तर, सोही सहमति कार्यान्वयन गर्न भट्टराईले आनकानी गरेपश्चात माओवादीले नेसपामाथि लगातार दबाब बढाएको छ । भट्टराई पक्ष माओवादीसँग पार्टी एकता गर्न नहुने अडानमा छ । यादवपक्ष पूर्वसहमति अनुसार पार्टी एकता गर्नुपर्ने अडानमा छ । त्यसका लागि नेसपाले गत चैतमा  पठाएको ९ बुँदे प्रस्तावको जवाफ दिनुपर्ने शर्त राखेको छ ।

प्रस्तुत छ, नेसपाभित्र देखिएको आन्तरिक विवाद, माओवादीसँग पार्टी एकता र आगामी योजनाको विषयमा रातोपाटीका सहकर्मी गणेश पाण्डेले नेसपाका महासचिव रमेशप्रसाद यादवसँग गरेको कुराकानीको सम्पादित अंश : 

एकता सम्बन्धमा माओवादी केन्द्रले नेसपालाई पठाएको पत्रले ठुलै हलचल ल्याएको छ, यसमा तपाईंको धारणा के हो ?

हामीले माओवादीबाट चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिएको कुरा सर्वविदितै छ । त्यतिबेला निर्वाचनपछि पार्टी एकता गर्ने सहमति भएको थियो । दुवैतर्फ वार्ता टोली गठन भयो । हाम्रोतर्फ गंगाजी संयोजक, म र दुर्गाजी सदस्य रहेको वार्ता टोली गठन भयो । अहिले एक जना थप गरेर चार सदस्यीय टोली बनाएका छौँ ।

त्यसैले माओवादीले पठाएको पत्र त जनाउमात्र हो । यसअघि हामीले नै ९ बुँदे एकता आधार पत्र पठाएका थियौँ । एकता गर्ने भए माओवादी विचारधारा त्याग्नुस् भनेर हामीले निर्वाचनअघि प्रचण्डजीलाई भनेका थियौँ ।

अब त्यो च्याप्टर सकिएको छ । ९ बुँदे एजेण्डामा अहिले खासै प्रगति भएको छैन । हाम्रो २ वटा अध्यक्षमध्ये पत्र महिन्द्रजीको नाममा आएको हो । त्यतिबेला डा. भट्टराई दिल्लीमा हुनुहुन्थ्यो । पत्रमा खासै केही लेखिएको छैन । यद्यपि यस विषयलाई लिएर पार्टीभित्र ठूलै तरङ्ग भयो । पत्राचार जसरी हुनुपर्थ्यो, त्यसो नभएको सबैलै स्वीकार गरेका छन् । त्यसलाई मान्यता नदिने र विचार, सिद्धान्त मिल्ने अन्य पार्टीसँग एकताको ढोका खुला राख्ने निर्णय भएको छ । यस सम्बन्धमा २÷३ दिनसम्म पार्टीमा गम्भीर छलफल भयो ।

गतवर्ष साउन ९ गते माओवादी केन्द्रसँग पार्टी एकता गर्ने गरी सहमति गर्नुभयो । तर, निर्वाचनपछि एकाएक सम्बन्ध कसरी बिग्रियो ?

त्यतिबेला हामीले माओवादीको चुनाव चिह्न लिएर गएकै हो । पार्टी एकता गर्ने प्रस्ताव डाक्टर साब (बाबुराम भट्टराई) ले राख्नुभएको थियो । गत वर्ष प्रचण्डजीको निवासमा म, महिन्द्रजी, गंगाजी र नारायणकाजी लगायत सबै बसेर सहमति गरेको हो । माओवादीले नाम फेर्ने र नेकपा समाजवादी राख्ने मौखिक सहमति भएको हो । सत्य कुरा यही हो । निर्वाचन भएपश्चात पनि डाक्टर साबले छिट्टो पार्टी एकीकरण गरौँ भनिरहनुभएको थियो ।  

हामीले प्रचण्ड र बाबुरामजीलाई तत्काल एकता नगरौँ भनेका थियौँ । जसपाबाट छुटेर हामीले नेसपा बनाएको हो । खास गरेर पाहाडतिर नयाँ शक्तिबाट आएको लिगेसी छ । मधेसतिर जसपाबाट नेसपामा आएका छन् । कोही ढुलमुल अवस्थामा छन् । कोही जसपामा छन्, कोही नेसपामा छन् । संगठन हाम्रो तितरबितर छ । पहिला संगठन बनाउन लागौँ भनेर हामीले प्रस्ताव राख्यौँ ।

बाबुरामजीले ‘हैन पहिला पार्टी एकता गरौँ’ भन्नुभयो । उहाँले महेन्द्रजीलाई ‘तपाईं उपनेता बन्नुहुन्छ । मुख्यमन्त्री नेसपालाई दिने कुरा भएको छ’ भन्नुभयो । त्यतिबेला उहाँहरूले संस्थागत रूपमा नभइ व्यक्तिगत ढङ्गले एकताको डिल गर्नुभयो । डाक्टर साबको कुरा मानेको  भए त्यतिबेलै एकीकरण भइहाल्थ्यो । पछि प्रचण्ड र बाबुरामजी बिच किन सम्बन्ध बिग्रियो, हामीलाई थाहा भएन ।

पहिला एकताका लागि त्यसरी हतारिएका बाबुराम पछि किन टाढिनुभयो ?

खोई ! उहाँहरूको आन्तरिक कुरा हामीलाई थाहा भएन । त्यस्ता कुरा हामीलाई जानकारी गराउनुभएको पनि छैन । यद्यपि बाबुराम भट्टराईले ‘प्रचण्डजी कस्तो मान्छे हो मलाई थाहा छ । हामीलाई त चिप्ल्याइरहनुभएको छ । माओवादीसँग एकता गर्न सकिँदैन’ भन्नुभएको थियो । समाजवादी मोर्चाको अवधारणा आफूले ल्याएको हो तर आफूलाई नै मोर्चामा नराखेको भन्दै उहाँले गुनासो गर्नुभएको थियो । त्यही कारण पनि हुनसक्छ वा भित्री कुरा केही भए थाहा भएन ।

तपाईं महासचिवको भूमिकामा त्यति सन्तुष्ट हुनुहुन्न भन्ने चर्चा चलेको छ, त्यस्तै हो ?

हुनसक्छ । पार्टीको महासचिव छु तर केही कुरा थाहा हुँदैन । पार्टी एकता हुँदा यो पद म आफैँले रोजेको हो । जसपामा हुँदा म उपाध्यक्ष थिएँ । मलाई सहअध्यक्ष बनाउने भनिएको थियो । सहअध्यक्षमा गंगाजी भएपछि क्लस्टरका आधारमा म महासचिव बन्छु भनेको हो ।

पछिल्लो समय महिन्द्र पक्षधरले पार्टी एकताका लागि भट्टराईमाथि चर्को दबाब बढाइरहेको भन्ने छ नि ?

हामी दोधारमा छौँ । प्रत्यक्ष र समानुपातिक दुवै जितेका छौँ । संघीय संसदमा महिन्द्रजी हुनुहुन्छ । अहिले नेसपाको संसदीय दल छैन । माओवादीकै दल र परिचयपत्र छ तर पार्टी छुट्टै छ । चुनावअघि नै प्रचण्डजीलाई तपाईं माओवादी नाम परिवर्तन गर्नुहोस्, पार्टी एकता गरेरै जाने भनेका थियौँ । तर, अहिले बाबुरामजी र प्रचण्डजीबिच केही कुरा नमिलेको होला । उहाँहरू एउटै अखडाका खेलाडी हो । लामो समय एउटै पार्टीमा सहकार्य गरेका र सँगै जनविद्रोह गरेका हुन् । भित्री असहमति के हो, हामीलाई थाहा भएन ।

अहिले पार्टी एकीकरण गर्ने वा नगर्ने विषयमा दुई धार छ । त्यही पनि हामीले मिलाएर जाने प्रयास गरेका छौँ ।

मधेसमा जातीय पहिचानको जुन लडाइँ भएको थियो, त्यो नयाँ संविधानमा जारी गर्दा होस्, प्रदेशको नामकरण गर्दा होस्, त्यसमा प्रचण्डजीको ठूलो योगदान छ । मधेस प्रदेशमा प्रचण्डजीले भोटिङ नगराइ दिएको भए मधेस नामकरण हुने अवस्था थिएन । त्यसकारण उहाँसँग नीति, विचार र एजेण्डा मिल्छ । एकताको विपक्षमा कोही पनि छैनन् । तर माओवादीले पठाएको पत्रले वातावरण बिग्रिएको हो ।

एक ढिक्का भएर पार्टी एकता अगाडि बढाउन हामीले प्रयास जारी राखेका छौँ । पत्र किन त्यसरी आयो ? ९ बुँदेको सम्बन्धमा माओवादीको विचार के हो भन्ने विषयमा जवाफ माग्ने सहमति भएको छ । बिचमा पार्टी दुई धार भएजस्तो देखिए पनि अहिले एक ढिक्का भएका छौँ । पार्टीमा सबैको आ–आफ्नो विचार र स्वतन्त्रता हुन्छ । तर हामीले मिलाउने कोसिस गरेका छौँ । एकीकरणको ढोका बन्द गरेका छैनौँ । एकीकरणको पक्षमा छौँ र हुन्छ पनि ।

एकता गर्न बाबुरामले नमाने पनि पार्टी एकीकरण हुन्छ हैन ?

डाक्टर साबलाई त मिलाएर नै लानुपर्छ नि । एकताको पहल उहाँले गर्नुभएको हो । माओवादीको घर हामीले कहाँ हेरेका थियौँ र ! माओवादीको घर कस्तो छ, के छ भनेर उहाँले नै देखाउनुभयो । महिन्द्रजीले मान्दिएको भए निर्वाचन भएको एक महिना नपुग्दै पार्टी एकीकरण भइसक्थ्यो । आन्तरिक एकता बलियो बनाएर जाउँ भनेर उहाँले रोकेको हो ।

त्यतिबेला महिन्द्रकै कारण एकीकरण रोकिएको तपाईँले जिकिर गर्नुभयो, किन ?

उहाँले चाहेको भए निर्वाचन लगत्तै माओवादीसँग पार्टी एकता भइसक्थ्यो । केन्द्रीय सदस्य, प्रदेश सदस्य जसपामा पनि छ, नेसपामा पनि छ । नेसपामा कति रहन्छन्, त्यसलाई क्लियर बनाएर जाउँ भनेर उहाँले रोक्नुभएको हो । महिन्द्रजीले सम्मानजनक एकताको पक्षमा त्यतिबेला अडान लिनुभएको हो । मधेसमा हाम्रो छुट्टै पहिचान छ । त्यसैले २÷३ महिना समय माग्नुभएको सत्य हो । एकता नगर्ने हिसाबले उहाँले रोक्नु भएको होइन ।

पार्टी एकता गर्ने सहमति भएपछि फेरि महाधिवेशनको मिति किन तय गरेको त ?

पार्टीको नीति, विचार तथा सांगठनिक संरचनाको विषयमा मन्थन गर्ने ठाउँ केन्द्रीय समिति वा महाधिवेशन नै हो । भोलि एकीकरणको पक्षमा जान्छ वा महाधिवेशनमा जान्छ, त्यो केन्द्रीय समितिले निर्णय गर्छ । तर महाधिवेशन भए पनि एकीकरण हुन्छ । महिन्द्रजीले पनि एकताको महाधिवेशन गरौँ भन्ने प्रस्ताव गर्नुभएको हो । नेसपा बनाउन डाक्टरसाबको निकै ठूलो मेहनत छ । उपेन्द्रजीको पार्टी जोगाउन पनि उहाँले ठूलो भूमिका खेल्नुभयो । प्रधानमन्त्री भएको व्यक्ति ४ नम्बरमा बसेर पनि जसपा बचाउनुभयो । उहाँलाई लिएर नै माओवादीसँग पार्टी एकता गर्ने हो । हामी पार्टी विभाजन गर्ने पक्षमा छैनौँ ।

नेसपामा आउँदा तपाईंहरूलाई फाइदा भयो कि घाटा ?

धेरै घाटा भएको छ । स्थानीय तहको निर्वाचनमा जसपाबाट धेरै जना मेयर, उपमेयर भएका छन् । उनीहरू त अब आउँदैनन् । नेसपा बनाउने बेला मधेस, पहाड र हिमालका साथीहरू जसपाबाट छुटेर नेसपासँग पार्टी एकता गर्ने गरी जडीबुटी बैठकले निर्णय ग¥यो । त्यतिबेला मधेस, पहाड र हिमालमा कति प्रतिशत छ, त्यसमा हामीले ध्यान दिएनौँ । पार्टी एक ढिक्का भएर जाने कुरालाई बढी महत्त्व दियौँ । नाफा घाटामा चल्ने हाम्रो त्यस्तो नियत छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप