आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

एकै इनिङ्समा तीन शतक, मारक्रमको रेकर्ड : दक्षिण अफ्रिकाले बनायो कीर्तिमानी स्कोर

शनिबार, २० असोज २०८०, १८ : २९
शनिबार, २० असोज २०८०

नयाँ दिल्ली । एकै खेलमा तीन खेलाडीले शतक बनाएपछि दक्षिण अफ्रिकाले श्रीलङ्कासामु ४ सय २९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर पहिलो ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २८ रन बनाएको हो । 

आईसीसी एकदिवसीय विश्वकपमा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा ठुलो स्कोर हो । यसअघि अस्ट्रेलियाले सन् २०१५ मा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि ओपनर क्वीनटन डी कक, रासी भान डेर डुसेन र एइडन मारक्रमले शतक बनाए । कुनै पनि इनिङ्समा एकैपटक तीन खेलाडीले शतक बनाएको यो मात्र चौथो अवसर हो । यसअघि दक्षिण अफ्रिकाले नै दुई तथा इंग्ल्याण्डले एकपटक यो उपलब्धि हासिल गरेको थियो । विश्वकपको खेलमा भने यस्तो भएको पहिलो अवसर हो ।

यता मारक्रम ४९ बलमा शतक पुरा गर्दै विश्वकपमा सबैभन्दा चाँडो शतक बनाउने खेलाडी पनि बने । उनले ५४ बलमा १४ चौका र ३ छक्कासहित १ सय ६ रन बनाए । 

त्यस्तै, ओपनर डी ककले ८४ बलमा आफ्नो शतक पुरा गर्दै आउट भए । उनले १२ चौका र ३ छक्का हिर्काए । डुसेनले ११० बलमा १ सय ८ रन बनाए । उनले १३ चौका र २ छक्का हिर्काए ।

खेलको अन्त्यतिर डेभिड मिरले ३९ तथा हेनरिच क्लासेनले ३२ रनको योगदान दिए । श्रीलङ्काका लगि दिल्सान मधुशंकाले २ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप