आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कवि विप्लव प्रतीकद्वारा अनुवादित ‘यौटा सपनाको अवसान’ सार्वजनिक

शनिबार, २० असोज २०८०, २१ : ४२
शनिबार, २० असोज २०८०

काठमाडौँ । अर्थर मिलरद्वारा लिखित ‘डेथ अफ सेल्सम्यान’ को नेपाली संस्करण ‘यौटा सपनाको अवसान’  वी रिडले सार्वजनिक गरेको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा कवि तथा अनुवादक विप्लव प्रतीक, निर्देशक अनुप बराल र गोविन्द पराजुली, साउन्ड र प्रोडक्सन डिजाइन देव न्यौपाने, नाटककै कलाकारहरू दिया मास्के, विकास जोशी, सुरज मल्ल, अभिषेक खड्का र अविरल प्रताप अधिकारीले नाटकको पुस्तक विमोचन गरेका हुन् । 

नाटक ‘यौटा सपनाको अवसान’ ०७९ चैतमा मण्डला थिएटरमा मञ्चन गरिएका थियो । मण्डलमा ३३ दिनसम्म चलेको नाटकको ३६ वटा शो मञ्चन गरिएको वि रिडले जनाएको छ । विमोचन कार्यक्रममा कवि तथा अनुवादक विप्लव  प्रतिकले नाटक मञ्चनदेखि लिखित पुस्तक बजारमा ल्याउनु खुसीको कुरा रहेको बताए ।

नाटक मञ्चन हुँदासम्म यसको लिखित पुस्तक बजारमा ल्याइने तय नभएको उनको भनाइ छ । ‘डेथ अफ सेल्सम्यान’ को  अनुवाद र नाटक मञ्चन गर्नु जीवनकै उत्कृष्ट काम रहेको उनले बताए । नाटकमा मलाई भूमिका दिए पनि कार्यव्यस्तताका कारण आफूले गर्न नसकेको उनले सुनाए ।
 
निर्देशक अनुप बरालले नाटकको स्क्रिप्ट लेख्दा र मञ्चन हुँदा छुट्टाछुट्टै रूप लिने हुँदा नाटकको दुई पटक जन्म हुने गरेको बताए । ‘कुनै किताब पढिसकेपछि अँध्यारो कुनामा छोड्ने र फर्केर हेर्न मन लाग्दैन,’ उनले भने, ‘तर डेथ अफ सेल्सम्यान किताब सिरानीमा राख्न मन लाग्यो र त्यसकै नाटक मञ्चन गर्नुपर्छ भन्ने लाग्यो ।’

हिन्दी भाषामा अनुवाद गरिएको डेथ अफ सेल्सम्यान पढेपछि मैले पुष्पा आचार्यलाई अनुवाद गर्न दिए पनि अनुवादको पाण्डुलिपि हराएपछि काम रोकिएको उनले सुनाए । अहिले यही पुस्तक विप्लव प्रतीकसम्म पुगेर अनुवाद भई, नाटक मञ्चन र पुस्तकसमेत सार्वजनिक भएको उनले सुनाए ।

नाटकमा लीला चरित्र निभाएकी कलाकार दिया मास्केले साइकोलोजिकल्ली लीलाको भूमिका निभाउन गाह्रो भएको सुनाइन् । घर चलाउने, हरेक सम्बन्धलाई जोड्ने भूमिकामा लीला रहेकोले मैले आफ्नो आमा, दिदी, भाउजूलगायतलाई हेरेर भूमिका निर्वाह गरेको उनको भनाइ छ । नेपालमा नाटक व्यावसायिक भई नसकेको भन्दै निर्देशक गोविन्द पराजुलीले व्यावसायिक वातावरणतर्फ बनाउनकै लागि नाटक निर्देशन सुरु गरिएको बताए ।

नाटकको स्क्रिप्टमा छलफलभएदेखि थिएटरमा नाटक मञ्चनसम्म पुग्न झन्डै २ वर्ष लागेको उनले सुनाए । यो नाटकको हरेक शो पछि शून्यता वा रित्तिएको जस्तो महसुस भएको विकास जोशीले बताए । पहिलो पटक यो नाटक सन् १९४९ मा न्यूयोर्कको ब्रोडवे मा ७४२ पटकसम्म मञ्चन गरेको थियो ।

सन् १९४९ मै नाटक विधामा पुलिट्जर प्राइज प्राप्त गरेको थियो । विभिन्न उपाधि पाइसकेको यो नाटकको धेरै फिल्म समेत बनिसकेका छन् । नेपाल, अमेरिका, युके, जर्मनी, चीन र भारतलगायत धेरै मुलुकमा आ–आफ्नै भाषामा नाटक मञ्चन भइसकेको वी रिडले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप