नेविसंघले दलहरूलाई विद्यालय शिक्षा विधेयकबारे आफ्नो धारणा बुझाउँदै
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विभिन्न दलहरूलाई विद्यालय शिक्षा विधेयकबारे आफ्नो धारणा बुझाउन थालेको छ । तल्ला कमिटीहरूबाट समेत सुझाव संकलन गरेर निर्माण गरेको धारणाबारे विभिन्न राजनीतिक दलहरूलाई अवगत गराउन थालेको हो ।
पहिलो चरणमा नेविसंघले आफ्नै पार्टी नेपाली कांग्रेसलाई विधेयकबारेको धारणा पेश गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेत रमेश लेखकको उपस्थितिमा महामन्त्री गगनकुमार थापालाई बुझाएको हो ।
विधेयकको विषयमा नेविसंघले आफ्नो धारणा तयार पारेको छ । उक्त धारणा आज सार्वजनिक गर्न लागेको छ । सोही आधारमा आफ्नो पार्टीसहित अन्य राजनीतिक दलहरूलाई समेत धारणाबारे अवगत गराउने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।
नेविसंघले विधेयकबारे तयार पारेको धारणा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलहरूलाई समेत बुझाउनेछ ।
नेविसंघले अबको ५ वर्षमा ९० प्रतिशत विद्यार्थीहरूल सामुदायिक विद्यालयमा हुनुपर्ने नीति ल्याएको छ । नेविसंघले विधेयक संसदमा दर्ता भएसँगै आफ्नो धारणा तय गर्न सार्वजनिक रूपमा सुझाव माग गरेको थियो ।
आफ्ना विद्यार्थी नेता तथा कार्यकर्ताहरूबाट आएको सुझावको आधारमा नेविसंघले विधेयकबारे धारणा तय गरेको हो ।