जनताले संघीयता मान्य छैन भनेर देखाइसके : अध्यक्ष केसी
आइतबार, २१ असोज २०८०, १५ : ४९
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प संघात्मक प्रणाली हुन नसक्ने कुरा महशुस गरिसकेको बताए । उनले नेपाली जनताले संघीयता मान्य छैन भनेर देखाइसकेको बताए ।
अध्यक्ष केसीले जनतालाई मान्य नहुँदापनि संघीयताको मुरली किन बजाइरहेको भनेर सांसदहरुलाई प्रश्न गरे । उनले मुख्यमन्त्रीहरुलाई भैसेपाटीमा दरबार बनाउनु नै संघीयता हो भनि प्रश्न समेत गरे ।
अध्यक्ष केसीले संघीयताले गरी नखाएको टिप्पणी गरे । उनले प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय तहलाई अधिकार दिनुपर्ने बताए ।