आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भेपमा सुन तस्करी

राहुल महराको बयान : ‘भेप छुटाउन एयरपोर्ट भन्सारमा गएको थिएँ’

भाषा पढ्न चीन जाँदा दाओजिन वाङ्गसँग सन् २०१२ देखि चिनजान
सोमबार, २२ असोज २०८०, १८ : ५३
सोमबार, २२ असोज २०८०

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले इलेक्ट्रिक चुरोट ‘भेप’ छुटाउन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा गएको स्वीकार गरेका छन् । भेपमा लुकाएर भएको सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)मा बयान दिँदै राहुलले उक्त कुरा स्वीकारेका हुन् ।

उनले चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग सन् २०१२ मा चीनमै चिनजान भएको बताएका छन् । 

सिआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा उल्लेखित बयानअनुसार राहुलले वाङ्गलाई फलफुल ब्यापारीको रुपमा चिनेको बयान दिएका छन् । 

वाङ्गको आग्रहमा आफू विमानस्थल भन्सार कार्यालयमा ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) छुटाउन त्रिवि भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई भेट्न गएको बताएका हुन् । उनले भन्सार प्रशासक पोखरेलले इलेक्ट्रिक सिगरेट (भेप) छुटाउन अस्वीकार गरेको बताएका छन् ।

यस्तो छ राहुलको बयानको अंशः

म सन् २०१२ मा चीनको छन्दु भन्ने स्थानमा चिनियाँ भाषा अध्ययन गर्न गएको समयमा चिनियाँ नागरिक दाओजिन वाङ्गले तत्काल चीनबाट विभिन्न प्रकारका फलफुलहरु नेपालमा आयात गरी बिक्री गर्ने काम गरी आएको छु भनेका थिए । 

६ महिना त्यहाँ चिनियाँ भाषा अध्ययन गरेर नेपाल फर्की आएको हो । त्यसपछि निज दाओजिन वाङ्गसँग मेरो बेला बखत फोनमा सामान्य कुराकानी हुँदै आएको थियो ।

मलाई हाल एकीन मिति याद भएन, निज दाओजिन वाङ्गले मलाई निजको मोबाइल नम्बर ९८०१०९**** बाट मेरो मोबाइल नम्बर ९८५१११**** मा कल गरी मेरो साथीको इलेक्ट्रिक सिगरेट (भेप) त्रिभुवन बिमानस्थल एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ मिल्दैन ? बुझि दिनुपर्ने भयो भनि मलाई अनुरोध गरेको कारण मैले प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरी इलेक्ट्रिक सिगरेट (भेप) एयरपोर्टमा रोकिएछ, के भएर रोकिएको हो भनी सोधपुछ गर्दा निजले उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत भएको छ, भन्सार तिरेर पनि फिर्ता दिन मिल्दैन, यो लिलामी प्रक्रियामा अगाडि बढ्छ भनी मलाई भनेका थिए ।

त्यसपछि पनि दाओजिन वाङ्गले मलाई पटक पटक फोन गरी उक्त इलेक्ट्रिक सिगरेट (भेप) को के भइराछ बुझिदिनुपर्ने भयो भन्ने गरेका थिए । 

करिब दुई हप्ता पछाडि निज दाओजिन वाङ्गसँग मेरो फोनमा कुराकानी हुँदा एक दिन निज दाओजिन वाङ्ग मलाई तपाई नै भन्सार गएर बुझिदिनु पर्ने भयो भनेकोले मैले पनि के भएको रहेछ बुझौं न त भनी म एयरपोर्ट जाँदा भन्सार कार्यालय अगाडि दाओजिन वाङ्ग र दाओजिनको चालक लोकेन्द्र कुमार पौडेल र मैले नचिनेको दुईजना चाइनिजसँग भेट भयो । 

त्यसपछि म, लोकेन्द्र कुमार पौडेल र तिब्बतियन जस्तो देखिने नेपाली बोल्न जान्ने एकजना व्यक्तिसमेत हामी ३ जना भई त्रिभुवन बिमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा गएको हो । निज अरुण पोखरेललाई निजको कार्यकक्षमा भेटी निजसँग  जफत भएको भेपबारे कुरा गरेको हुँ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप