आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भेपमा सुन तस्करी

भेपमा ल्याएको सुन छुटाउन राहुल महराले दबाब दिएको प्रमुख भन्सार प्रशासकको बयान

महरा परिवार र वाङबीच ११ वर्षदेखिको सम्बन्ध
सोमबार, २२ असोज २०८०, २२ : ११
सोमबार, २२ असोज २०८०

काठमाडौँ । इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाएर ल्याएको करिब १० किलो सुन छुटाउन माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका पुत्र राहुल महराले दबाब दिएको भन्सार प्रशासकले बयान दिएका छन् । सीआईबीलाई बयान दिने क्रममा तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले महराले अनुचित दबाब दिएको बयान दिएका हुन् । 

शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाइएको राय सहितको प्रतिवेदनमा विमानस्थलका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रतिवादी बनाइएका राहुल महरा भन्ने रेशम महरा लगायतको बयान उल्लेख छ । 
उक्त बयानमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले आफूलाई कृष्णबहादुर महराका छोरा राहुल महराले पटकपटक फोन तथा कार्यालयमै गई भेटघाट गरी उक्त ‘भेप’ छुटाउन वा छिटो लिलाम गरी आफैलाई लिलाम पर्ने व्यवस्था मिलाउन दबाब दिएको बयान दिएका छन् ।

अधिकारप्राप्त अधिकारीसमक्ष पोखरेलले दिएको बयानमा आफूले भेप छुटाउन नमिल्ने र लिलाम वा नष्ट हुने बताए पनि राहुलले प्रक्रिया मिलाएर छुटाउन दबाब दिएको बताएका छन् । प्रमुख भन्सार प्रशासक अरुणकुमार पोखरेलको बयानलाई समर्थन नभए पनि राहुलको बयानमा समेत प्रमुख भन्सार प्रशासक अरुण पोखरेलसँग मोबाइल र प्रत्यक्ष भेटेर समेत कुराकानी भएको र जफत भएको भेपको लिलाम प्रक्रियाबारे चासो राखेको स्वीकार गरेका छन् । 

आफूसँगै तिब्बती मूलका नेपाली भाषा बोल्ने व्यक्ति (दावा छिरिङ) पनि सँगै गएको र जफत गरिएको भेप र लिलाम गर्ने भनिएको भेप एउटै हो कि होइन भनेर हेर्न चाहेको कुरा पनि स्वीकार गरेका छन् । 

यस्तो छ राहुलको बयानको पूर्ण विवरण :
‘म २०१२ मा चीनको छेन्दु भन्ने स्थानमा चिनिया भाषा अध्ययन गर्नको लागि गएको समयमा चिनिया नागरिक दाओजिन वाङसँग मेरो चिनजान भई आएको हो । निज दाओजिन वाङले तत्काल चीनबाट विभिन्न प्रकारका फलफूलहरू नेपालमा आयात गरी बिक्री गर्ने काम गरी आएको छु भनेका थिए । 

६ महिना चीनमा चिनिया भाषा अध्ययन गरेर नेपाल फर्की आएको हो । त्यसपछि निज दाओजिन वाङसँग मेरो बेला बखत फोनमा सामान्य कुराकानी हुदै आएको थियो । मलाई हाल एकिन मिति याद भएन निज दाओजिन वाङले मलाई निजको मोबाइल नं. ९८०१०९९*** बाट मेरो मोबाइल नं। ९८५११११***मा कल गरी मेरो साथीको इलेक्ट्रिक सिगरेट (भेप) त्रिभुवन विमानस्थल एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ मिल्दैन बुझिदिनु पर्‍यो भनी मलाई अनुरोध गरेको कारण मैले भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठलाई फोन गरी इलेक्ट्रिक सिगरेट (भेप) एयरपोर्टमा रोकिएछ, के भएर रोकिएको हो भनी सोधपुछ गर्दा निजले उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत भएको छ, भन्सार तिरेर पनि फिर्ता दिन मिल्दैन, यो लिलामी प्रक्रियामा अगाडी बढ्छ भनी मलाई भनेका थिए । 

त्यसपछि पनि दाओजिन वाङले मलाई पटक पटक फोन गरी उक्त इलेक्ट्रिक सिगरेट (भेप) को के भईराछ बुझिदिनुपर्‍यो भन्ने गरेका थिए । करिब दुई हप्ता पछाडि निज दाओजिन वाङसँग मेरो फोनमा कुराकानी हुँदा एक दिन निज दाओजिन वाङ मलाई तपाई नै भन्सारमा गएर बुझिदिनुपर्‍यो भनेकोले मैले पनि के भएको रहेछ बुझौँ न त भनी म एयरपोर्ट जाँदा भन्सार कार्यालय अगाडी दाओजिन वाङ, दाओजिन वाङका ड्राईभर लोकेन्द्र कुमार पौडेल र मैले नचिनेका दुई जना चाईनिजहरुसँग भेट भए पछि म, लोकेन्द्र कुमार पौडेल र तिब्बतियन जस्तो देखिने नेपाली बोल्न जान्ने एकजना व्यक्ति समेत हामी ३ जना भई त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा गएको हो । 

निज अरुण पोखरेललाई निजको कार्यकक्षमा भेटी निजसँग अब जफत भएको उक्त इलेक्ट्रिक सिगरेट (भेप) लाई के गर्न सकिन्छ भनी कुराकानी हुँदा उक्त इलेक्ट्रिक सिगरेट (भेप) लिलामी प्रक्रियामा जाने, भन्सार तिरेर लैजान नमिल्ने कुरा बताएका थिए । 

यसै क्रममा म समेत सँग गएको तिब्बतियन जस्तो देखिने नेपाली बोल्न जान्ने व्यक्तिले जफत इलेक्ट्रिक सिगरेट (भेप) हेर्न मिल्छ मिल्दैन, त्यही नै छ कि छैन भनी अरुण पोखरेललाई सोध्दा अरुण पोखरेलले उक्त इलेक्ट्रिक सिगरेट (भेप) हेर्न नमिल्ने कुरा बताएका थिए । निज अरुण पोखरेलले उक्त इलेक्ट्रिक सिगरेट (भेप) लिलामी हुने कुरा बताएपछि हामी तीनै जना फर्की म आफ्नो घर गएको थिएँ । 

अरुण पोखरेलसँग मेरो फोन सम्पर्क के कति पटक भयो याद छैन । एक पटक निज अरुण पोखरेललाई भेट गरेको थिएँ । निज अरुण पोखरेलले खुलाई लेखाई दिए जसरी उक्त इलेक्ट्रिक सिगरेट (भेप) को विषयलाई लिएर निजको कार्यालयमा ६–७ पटक गई छुटाउनको लागि दबाब दिने काम गरेको थिएन, छैन । 

मिति २०७९।०९।१० गते फ्लाई दुबईको उडान नम्बर FZ0587 बाट नेपाल आएका चिनियाँ नागरिक राहदानी नम्बरEJ 6350030 बाहक ली हानसोङले २ वटा सुटकेस भित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जफत भएको, उक्त जफत भएको इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैधरुपमा सुन लुकाई छिपाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याएको भन्ने पछि पत्रपत्रिका समेतका मिडियाबाट थाहा भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप