आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चार विधेयक पारित गर्दै बागमती प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस

मङ्गलबार, २३ असोज २०८०, १६ : ०४
मङ्गलबार, २३ असोज २०८०

हेटौंडा । बागमती प्रदेशको वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको छ । मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मंगलबार राती १२ बजेदेखि वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको १२ औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख शर्माले अधिवेशन अन्त्य गर्नेछन् ।

प्रदेशसभाको गत जेठ ९ मा आह्वान गरिएको उक्त अधिवेशनमा प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को बजेट पास गर्नुका साथै केही विधेयकहरू पारित गरेको छ । उक्त अधिवेशनमा ३८ वटा बैठकहरु सञ्चालन भएका छन् भने सो बैठकहरुले एक ध्यानाकर्षण प्रस्ताव र एक संकल्प प्रस्ताव समेत पारित गरेको छ ।

त्यस्तै उक्त अधिवेशनमा अर्थ सम्बन्धी २ वटा विद्येयकसहित ४ वटा विधेयकहरू पारित गरिएको छ । बैठकहरुमा आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सहित प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई व्यवस्थापन ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको हो ।

उक्त अधिवेशनको बैठकमा ७ वटा विधेयकहरू दर्ता भएका थिए । जसमध्ये ३ वटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेका छन् । संसदीय समितिमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०५७ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तक तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका क्रममा रहेका छन् ।

संसद् सचिवालयमा एक विवादित विधेयक भने विचाराधीन अवस्थामा रहेको छ । प्रदेश प्रमुख कार्यालयबाट पुनः विचारका लागि फिर्ता भएको विवादित चिठ्ठा विधेयक सचिवालयमा विचाराधीन अवस्थामा रहेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप