आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

राष्ट्र संघका महासचिव गुटेरसको नेपाल भ्रमण स्थगित

मङ्गलबार, २३ असोज २०८०, १९ : ४६
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित भएको छ । महासचिव गुटेरस नेपालको तीन दिने भ्रमणका लागि २६ गते काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको थियो । 

इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण उनले नेपाल भ्रमण स्थगित गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । प्रवक्ता लम्सालले भनिन्, 'महासचिवको नेपाल भ्रमण हालका लागि स्थगित भएको हो । इजरायल र प्यालेस्टिन समूह हमासबीचको युद्धका कारण भ्रमण स्थगित भएको छ । भ्रमण छिट्टै हुन्छ । हामीले त्यसको तयारी गरिरहेका छौँ ।' 

नेपाल भ्रमणका क्रममा उनको लुम्बिनी र पोखरा जाने कार्यक्रम तय भएको थियो । यस्तै शनिबार संयुक्त राष्ट्रसंघका महासचिवले संसद्को संयुक्त सभालाई सम्बोधन गर्ने  तयारी पनि गरिएको थियो । 

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप