आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

शिशु बिक्री प्रकरणका अभियुक्तविरुद्ध आज थुनछेक बहस

आमालाई शिशुको तौल कम रहेको र अस्वस्थ रहेको त्रास देखाएर शिशु बिक्री गरिएको खुलासा
बुधबार, २४ असोज २०८०, १२ : १७
बुधबार, २४ असोज २०८०

विराटनगर । नवजात शिशु बिक्री गरेको कसुरमा विराटनगरस्थित ग्रीनक्रस अस्पतालका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना प्रतिवादीको बयान सकिएको छ । उनीहरुविरुद्ध आज मोरङ जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशमा हिजो प्रतिवादीहरुको बयान सकिएको हो । वादी र प्रतिवादीको पैरवी सकिएपछि अदालतले प्रतिवादीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोडिदिनेमध्ये एउटा आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालयले ग्रीनक्रस अस्पतालमा कार्यरत डाक्टर कर्णसहित ३३ वर्षीय सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका–२ की ४६ वर्षीय दिलमनी राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीय नर्स निर्मला यादव, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रतिवादी बनाएको छ ।

उनीहरूलाई तीन वटा मुद्दामा संयुक्त रूपमा १५ देखि २० वर्षसम्म कैदको मागदाबी लिएर अभियोग दर्ता गरिएको छ । उनीहरु विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर गरिएको हो ।

यसैबिच उपचारमा संलग्न डाक्टर तपेश्वरलाल कर्णले बिक्री गरेको शिशुको तौल घटाउन विराटनगरस्थित ग्रीनक्रस हस्पिटलको नर्सलाई दबाब दिएको खुलेको छ । पाँच लाख रुपैयाँमा बिक्री गरेको नवजात शिशुको तौल घटाउन लगाएर बिक्री गरेको कसैलाई पनि नभन्न कर्णले ड्युटीमा रहेकी नर्सलाई दबाब दिएका थिए ।

नर्स पुष्पा चौधरीले प्रहरीलाई दिएको बयान अनुसार अविवाहित किशोरीले करिब २ केजी तौलको शिशुलाई जन्म दिएकी थिइन् । तर, रेकर्डमा डाक्टर कर्णले ९ सय ५० ग्राम तौल उल्लेख गर्न लगाएका थिए ।

तौल कम भएपछि स्वास्थ्यमा समस्या देखिएको भन्दै धरानस्थि बिपी कोइराला विज्ञान प्रतिष्ठान वा सुविधासम्पन्न हस्पिटलमा लैजान सल्लाह अनुसार बुझिलिएँ भनेर डा. कर्णले लेख्‍न लगाएको ती नर्सले प्रहरीसमक्ष बयान दिएकी छन् । अभिलेखमा लेख्न लगाए पनि शिशुको बाबु र आमाले जन्मिएको छोरी नलगेर डाक्टर कर्णको योजना अनुसार बिक्री गरेको अभियोग पत्रमा उल्लेख छ ।

भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी २६ वर्षीय प्रेमिकाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन् । सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो ।

प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाई कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा. कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ ।

त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको पनि अनुसन्धानबाट खुलेको छ । प्रहरीले यस घटनामा ७ जनलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ग्रीनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचालउने निर्णय गरेको छ । अन्य ६ जनाविरुद्ध भने मुद्दा दायर गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप