आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भेपमा सुन

अनुसन्धानमा फस्ने डरले राहुलले लुकाएका थिए ३ थान मोबाइल

बयानमा भने, ‘अहिले उपलब्ध गराउन सक्दिनँ’
बुधबार, २४ असोज २०८०, १३ : ०५
बुधबार, २४ असोज २०८०

काठमाडौँ । इलेक्ट्रिक सिगरेट (भेप)मा लुकाई ल्याएको करिब १० किलो सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएका राहुल महराले आफ्नो तीनवटा मोबाइल हराएको बयान दिएका छन् । राहुलले केन्द्रीय अनुसन्धान ब्यूरोमा आत्मसमर्पण गर्ने क्रममा पहिले चलाएको तीनवटै मोबाइल लुकाएर हुवावेको नयाँ मोबाइल लिएर गएका थिए । 

भेपमा सुन प्रकरणमा पक्राउ परेपछि प्रहरीले राहुलसँग पहिले चलाएको आईफोन १३ प्रो म्याक्स, आईफोन १४ प्रो म्याक्स र हुवावेको फोन खै भनेर सोधपुछ गरेको थियो । तर त्यसको जवाफमा राहुलले आईफोन १३ प्रो म्याक्स बिग्रेर नबनेको, आईफोन १४ प्रो म्याक्स साथीसँग मागेको हुनाले साथीलाई नै बुझाएको र हुवावेको फोन घरमै कतै रहेको बयान दिएका थिए । तर प्रहरीले ती सबै मोबाइल ल्याउन भनेपछि राहुलले परिवारका सदस्यलाई खोज्न लगाएको तर घरमा नभेटिएको रहस्यमयी बयान दिएको भेटिएको छ । 

रातोपाटीलाई प्राप्त राहुलको बयानमा आफूले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई भेट गरी लिलामीबारे चासो राखेको स्वीकार गरेका छन् । तर उक्त सामान सुन नै भएको भन्ने आफूलाई थाहा नभएको र पछि भेपमा सुन ल्याएर तस्करी गरिएको कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बयान दिएका छन् । 

यस्तो छ राहुल महराको बयानको पूर्ण पाठ

‘म २०१२ मा चीनको छेन्दु भन्ने स्थानमा चिनिया भाषा अध्ययन गर्नको लागि चीनमा गएको समयमा चिनिया नागरिक दाओजिङ वाङसँग मेरो चिनजान भई आएको हो । निज दाओजिङ वाङ ले तत्काल चीनबाट विभिन्न प्रकारका फलफूलहरू नेपालमा आयात गरी बिक्री गर्ने काम गरी आएको छु भनेका थिए । ६ महिना चीनमा चिनिया भाषा अध्ययन गरेर नेपाल फर्की आएको हो । त्यसपछि निज दाओजिङ वाङसँग मेरो बेला बखत फोनमा सामान्य कुराकानी हुँदै आएको थियो । 

मलाई हाल यकिन मिति याद भएन निज दाओजिङ वाङले मलाई निजको मोबाइल नम्बर ९८०१०xxx९८ बाट मेरो मोबाइल नम्बर ९८५११xxx८८ मा कल गरी मेरो साथीको इलेक्ट्रिक सिगरेट (भेप) त्रिभुवन विमानस्थल एयरपोर्टमा रोकिएको छ, के भएको हो निकाल्न मिल्छ मिल्दैन बुझी दिनु पर्‍यो भनी मलाई अनुरोध गरेको कारण मैले भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठलाई फोन गरी इलेक्ट्रिक सिगरेट (भेप) एयरपोर्टमा रोकिएछ, के भएर रोकिएको हो भनी मुक्ति प्रसाद श्रेष्ठलाई सोधपुछ गर्दा निजले उक्त इलेक्ट्रिक सिगरेट (भेप) जफत भएको छ, भन्सार तिरेर पनि फिर्ता दिन मिल्दैन, यो लिलामी प्रक्रियामा अगाडी बढ्छ भनी मलाई भनेका थिए । 

त्यसपछि पनि दाओजिङ वाङले मलाई पटक–पटक फोन गरी उक्त इलेक्ट्रिक सिगरेट (भेप) को के भइराखेछ बुझिदिनु पर्‍यो भन्ने गरेका थिए । करिब दुई हप्ता पछाडि निज दाओजिङ वाङसँग मेरो फोनमा कुराकानी हुँदा एक दिन निज दाओजिङ वाङले मलाई तपाई नै भन्सारमा गएर बुझिदिनु पर्‍यो भनेकोले मैले पनि के भएको रहेछ बुझौँ न त भनी म एयरपोर्ट जाँदा भन्सार कार्यालय अगाडी दाओजिङ वाङ, दाओजिङ वाङको ड्राईभर लोकेन्द्र कुमार पौडेल र मैले नचिनेका दुई जना चाइनिजहरुसँग भेट भए पछि म, लोकेन्द्र कुमार पौडेल र तिब्बतियन जस्तो देखिने नेपाली बोल्न जान्ने १ जना व्यक्ति समेत हामी ३ जना भई त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेलको कार्यकक्षमा गएको हो । 

निज अरुण पोखरेललाई निजको कार्यकक्षमा भेटी निजसँग अब जफत भएको उक्त इलेक्ट्रिक सिगरेट (भेप) लाई के गर्न सकिन्छ भनी कुराकानी हुँदा उक्त इलेक्ट्रिक सिगरेट (भेप) लिलामी प्रक्रियामा जाने, भन्सार तिरेर लैजान नमिल्ने कुरा बताएका थिए । यसै क्रममा म समेत सँग गएको तिब्बतियन जस्तो देखिने नेपाली बोल्न जान्ने व्यक्तिले जफत इलेक्ट्रिक सिगरेट (भेप ) हेर्न मिल्छ मिल्दैन, त्यही नै छ कि छैन भनी अरुण पोखरेललाई सोध्दा अरुण पोखरेलले उक्त इलेक्ट्रिक सिगरेट (भेप) हेर्न नमिल्ने कुरा बताएका थिए । 

निज अरुण पोखरेलले उक्त इलेक्ट्रिक सिगरेट (भेप) लिलामी हुने कुरा बताएपछि हामी तीनै जना फर्की म आफ्नो घर गएको थिए । यसमा मैले अरुण पोखरेललाई निजको मोबाइल नम्बर ९८४१२xxx१३ मा एसएमएस गरेको मलाई याद छैन । निजसँग मेरो फोन सम्पर्क के कति पटक भयो याद छैन । मेरो आफ्नो काम विशेषले एक पटक निज अरुण पोखरेललाई भेट गरेको थिए । निज अरुण पोखरेलले खुलाई लेखाई दिए जसरी उक्त इलेक्ट्रिक सिगरेट (भेप) को विषयलाई लिएर निजको कार्यालयमा ६/७ पटक गई छुटाउनको लागि दबाव दिने काम गरेको थिएन, छैन । 

मेरो बुबा कृष्ण बहादुर महराले अरुण पोखरेललाई फोन गरी मलाई सहयोग गरिदिनु भनेको सम्बन्धमा मलाइ थाहा छैन । मिति २०७९।०९।१० गते फ्लाई दुबईको उडान नम्बर एफजेड०५८७ बाट नेपाल आएका चिनिया नागरिक राहदानी नम्बर इजे६३५००३० बाहक ली हानसोङले २ वटा सुटकेस भित्र ७३ बट्टामा ल्याएको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत भएको, उक्त जफत भएको इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैधरुपमा सुन लुकाई छिपाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याएको भन्ने कुरा पछि पत्रपत्रिका समेतका मिडियाबाट थाहा भएको हो । मैले प्रयोग गरेको आईएमइआई नम्बर ३५४१०६७७२७९१२१३ भएको आईफोन १३ प्रो म्याक्स मोबाइल फुटेर बिग्रिएकोले दुई तीन पटक मर्मत गर्दा समेत नबनेपछि घरमा नै फालिदिएको थिएँ । आईएमइआई नम्बर ३५३४२५६८७१७६४१४ भएको आईफोन १४ प्रो म्याक्स मोबाइल मेरो साथी गोपाल शर्माको हो, उक्त मोबाइल मैले निज गोपाल शर्मासँग मागेर केही समय चलाएपछि निजलाई नै फिर्ता गरेको हो । आईएमईआई नम्बर ८६७९१५०४०६३६६६५ भएको हुवावे मैले मेरो घरमा नै राखेको थिएँ । मेरो आफन्तले उल्लेखित आईफोन १३ प्रो म्याक्स र हुवावे मोबाइलहरू मेरो घरमा खोजी गर्दा फेला नपरेको भनी मलाई जानकारी गराएकोले मैले उक्त मोबाइलहरू उपलब्ध गराउन सक्दिनँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप