आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशीमा किचलो

भीम पराजुलीलाई  देउवाले भने, ‘दलका नेता थापा नै मुख्यमन्त्री’

बुधबार, २४ असोज २०८०, १४ : ५४
बुधबार, २४ असोज २०८०

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले पाए दलका नेता उद्धव थापा नै कोशीको मुख्यमन्त्री हुने बताएका छन् । मुख्यमन्त्री आफूलाई बनाउन प्रस्ताव लिएर भेट गर्न पुगेका कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीलाई सभापति देउवाले यस्तो जवाफ दिएका हुन् ।

पराजुलीका अनुसार सो क्रममा देउवाले अहिलेको परिस्थितिमा दलका नेता नै मुख्यमन्त्री हो भनेका छन् भने अर्को विकल्प आउँदा पार्टीभित्र सल्लाह गर्ने बताएका थिए ।

‘सभापतिज्यू सँग मैले कोशी प्रदेशको विषयमा कुरा गरेँ । पार्टीभित्र फलानो, चिलानो भन्ने जुन आइरहेको छ नि, त्यो विषयमा पार्टीलाई मिलाएर जानुपर्छ भनेर मैले भनेँ । उहाँले मुख्यमन्त्री बन्दा संस्थागत रूपमा बन्छ । कांग्रेसबाट बन्ने भयो भने जो संसदीय दलको नेता छ, त्यही हुन्छ । अरू हुँदैन भन्नुभयो,’ पराजुलीले भने ।

आफूले सभापति देउवालाई विकल्प आयो भने केन्द्रीय सदस्य पनि हुँ, विराटनगर महानगरपालिकाको प्रमुख भएर चलाएको अनुभव पनि छ, पार्टीले मेरो नाममा पनि छलफल गरोस्, मलाई अवसर दिनुपर्‍यो भनेको पनि उनले सुनाए ।

दलको नेता नहुने परिस्थिति हुँदा सहयोग गरियोस् भन्ने आफ्नो प्रस्तावबारे देउवाले पार्टीका नेताहरूसँग छलफल गर्छु भन्ने जवाफ दिएको पराजुलीले जानकारी दिए । कुराकानीका क्रममा राप्रपासँग निर्णायक वार्ता गरेर अगाडि बढ्नुपर्ने सुझाव दिएको उनले सुनाए ।

‘मध्यावधिमा जान नहुने, देशको अवस्था र आर्थिक परिस्थिति पनि नराम्रो रहेको हुँदा प्रदेशप्रति वितृष्णा जाग्ने, काम नलाग्ने भन्ने अवस्था आएको छ । गणतन्त्र नचाहने, प्रणाली नचाहने, संविधान नमान्नेहरुका लागि मध्यावधिमा गएको खण्डमा खेल्ने ठाउँ भएको छ । यसकारण दलभित्र, पार्टीभित्रको विवाद समाधानको पहल होस् । पार्टी सभापतिले मिलाउनु प¥यो भनेको छु,’ पराजुलीले भने ।

राप्रपा मानेन भने मध्यावधिमा नजानका लागि एमालेसँग पनि सल्लाह गरेर जान सकिन्छ भनेर आफूले विकल्प सुझाएको उनले बताए । तर, सभापति देउवाले एमालेसँग मिलेर जाने कुरामा त्यति चासो नदिएको उनको भनाइ छ ।

कुराकानीका क्रममा आफूले राप्रपा मिलाउने भनेर सभापतिले सङ्केत गरेको बताए । ‘हिजो प्रधानमन्त्रीसँग पनि कुरा भयो, कांग्रेस सभापतिज्यूसँग पनि कुरा भयो,’ पराजुलीले भने, ‘राप्रपा सरकारमा आउने सम्भावना बढी देखिन्छ ।’

एमाले जोसुकैलाई सहयोग गर्न तयार भएको बताउँदै पराजुलीले कांग्रेसको एउटा ग्रुप, माओवादीको एउटा ग्रुपलाई एमालेले मुख्यमन्त्रीको कार्ड फालिरहेको बताए । ‘त्यो नहुँदा संस्थागत ढङ्गले पनि कांग्रेससँग मिलेर जान एमाले तयार छ,’ पराजुलीले भने, ‘सभापतिज्यूले भने त्यो कुरालाई गम्भीरतापूर्वक लिनुभएन ।’

कांग्रेस बाहेकको मुख्यमन्त्री बन्ने सम्भावना कम भएको बताउँदै पराजुलीले थापा नै मुख्यमन्त्री बन्ने र कांग्रेसमा बढी झगडा भयो भने माओवादी दलका नेता इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने दाबी गरे । ‘हाम्रो पार्टीमा धेरै झगडा भयो भने माओवादीबाट इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री हुने सम्भावना छ,’ पराजुलीले भने ।

कोशी प्रदेश सरकार बनाउने अन्तिम विकल्पको रूपमा रहेको संविधानको धारा १६८ (५) को अन्तर्गत सरकार बनाउन नेताहरूको दौडधुप चलिरहेको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री दाबी गर्न दिएको समयसीमा शुक्रबारसम्मका लागिमात्रै छ ।

बहुमतका लागि कम्तीमा ४७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । कोशीमा नेकपा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप