आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश प्रमुख शर्मासमक्ष अख्तियारको प्रतिवेदन पेश

स्थानीय तहहरूमा गत आर्थिक वर्षमा मात्र १ हजार ४४२ उजुरीहरू प्राप्त
बुधबार, २४ असोज २०८०, १७ : ११
बुधबार, २४ असोज २०८०

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौँडा कार्यालयले आर्थिक वर्ष २०७९/०८० को तेत्तिसौँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।

आयोगको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन प्रदेश प्रमुख शर्मालाई पेश गरेको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले जानकारी दिए ।

प्रतिवेदन पेश गर्ने कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले बागमती प्रदेशमा भ्रष्टाचार न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेलको बताए । उनले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा आयोगका हेटौँडा कार्यालयका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको प्रदेश भित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सार संक्षेप प्रस्तुति गरेका थिए ।

बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७९/०८० मा ५ हजार ३६० वटा उजुरीहरू दर्ता भएको आयोगले तयार पारेको उक्त प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षबाट गत आर्थिक वर्षमा १ हजार ४४७ मुद्दा जिम्मेवारी सरेर आएको थियो । कुल ६ हजार ८०७ उजुरी मध्ये गत आर्थिक वर्षमा आयोगको हेटौँडा कार्यालयले ४ हजार ४२० उजुरी फर्छ्यौट गरेको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये गत आर्थिक वर्षको ३ हजार ६२८ उजुरी र अघिल्लो आर्थिक वर्षको ७९२ उजुरी फर्छ्यौट भएका छन् । गत आर्थिक वर्षमा कार्यालयले ६४.९३ प्रतिशत उजुरीहरू फर्छ्यौट गरेको छ ।

प्रतिवेदन अनुसार बागमती प्रदेशका स्थानीय तहहरूमा गत आर्थिक वर्षमा मात्र १ हजार ४४२ उजुरीहरू प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३३५ उजुरी सहित कार्यालयलाई स्थानीय तहका कुल १ हजार ७७७ उजुरी प्राप्त भएकोमा १ हजार १७१ उजुरी फर्छ्यौट गरिएको छ ।

त्यस्तै बागमती प्रदेशका ४७७ निकाय विरुद्ध कार्यालयमा गत आर्थिक वर्षमा उजुरी परेको थियो भने अघिल्लो आर्थिक वर्षबाट ७२ वटा उजुरी जिम्मेवारी सरेर आएको थियो । जसमध्ये कार्यालयले ३०५ वटा उजुरी फर्छ्यौट गरेको छ । प्रदेशमा रहेका ३ हजार ४४१ संघीय सरकारी निकाय विरुद्ध कार्यालयमा उजुरी प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । संघीय निकायहरू विरुद्धको १ हजार ४० सहित गत आर्थिक वर्षमा कुल ४ हजार ४८१ वटा उजुरीहरू प्राप्त भएको थियो । जसमध्ये २ हजार ८९० उजुरी फर्छ्यौट गरिएको छ ।

कार्यालयमा प्राप्त कुल २ हजार ३२६ उजुरीमध्ये १ हजार ४४६ उजुरी प्रारम्भिक छानबिनबाट फर्छ्यौट भएका छन् भने १११ वटा उजुरी उपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ । ६१३ उजुरी तामेली, ३५८ उजुरी एकीकरण गरिएको छ । १३१ उजुरी आयोगको सम्बन्धित महाशाखामा पठाइएको र २३३ उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारबाहीका लागि विभिन्न निकायमा पत्राचार गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप