आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नवजात शिशु बेपत्ता प्रकरण

डाक्टर कर्णसहित तीन जना जेल चलान, नर्स निर्मलासहित तीन जना धरौटीमा रिहा

बुधबार, २४ असोज २०८०, १८ : ५६
बुधबार, २४ असोज २०८०

विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । 

मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधबार डाक्टर ६८ वर्षीय कर्णसहित कटहरी गाउँपालिका–४ का सूर्यनारयण राजवंशी र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई  पुर्पक्षको लागि जेल चलान गरेको हो ।  

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । ६ जना मध्ये पाँच लाखमा शिशु बिक्री गरेको खुलेको डा। कर्ण, खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका छन् भने सहयोगी तीन जना धरौटीमा रिहा भएका छन् । मोरङ कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र ४७ वर्षीया दिलमनी देवी राजवंशीलाई १० हजार रुपैयाँ धरौटी रकम बुझाएर रिहा भएको मोरङ अदालतका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए । 

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार पक्राउ परेका ६ जना प्रतिवादीहरुविरुद्ध अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो । 

भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन् ।

विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा। कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई उक्त शिशु ५ लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको छ । त्यसअघि डा। कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको पनि अनुसन्धानबाट खुलेको छ । प्रहरीले यस घटनामा ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये ग्रिनक्रस हस्पिटलका संचालक कृष्ण खवासलाई मुद्दा नचलाउने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप