बेलहिया नाकामा नागरिक सहायता कक्ष स्थापना
बुटवल । चाडपर्वलाई लक्षित गरेर रुपन्देहीको बेलहिया नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतको पहलमा सहायता कक्ष स्थापना गरिएको हो ।
नागरिक सहायता कक्षमा चालक र सहचालकको दैनिक रूपमा र यात्रु, पर्यटक सर्वसाधारणको आवश्यकताका आधारमा स्वास्थ्य परीक्षण गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
यस्तै आवश्यकता आधारमा औषधि, मास्क, स्यानीटाइजर उपलब्ध गराइने उनले बताए । यस्तै ट्राफिक नियमबारे सचेत गराउनुका साथै विभिन्न गन्तव्यसम्मको भाडदारबारे पनि जानकारी गराइने उनले बताए ।
बिहीबार चालकहरूलाई माला लगाइदिएर नागरिक सहायता कक्षको स्थापना गरिएको हो । त्यसक्रममा उनीहरूलाई सवारी चलाउँदा सावधानी अपनाउन र यात्रुलाई सम्मानपूर्वक व्यवहार गर्न समेत आग्रह गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले नागरिक सहायता कक्षले चालकलाई पनि सहयोग पुग्ने बताए ।