आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गैरीगाउँ हत्या प्रकरण

सञ्जय भण्डारीविरुद्ध मुद्दा दर्ता, जीवित रहेसम्म कैदमा राख्न मागदावी

शुक्रबार, २६ असोज २०८०, १५ : ०९
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । तीनकुनेको गैरीगाउँस्थित दिव्या सःमिलमा चार जनाको हत्या भएका घटनाको अभियुक्त सञ्जय भण्डारीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कसुरमा भण्डारीलाई जीवित रहेसम्म कैदमा राख्न मागदावी लिइएको छ । 

प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले भण्डारीविरुद्ध बिहीबार साँझ मुद्दा दर्ता गराएको हो । घटनाका सम्बन्धमा आरोपित सञ्जय भण्डारीले कसुर कबुल गरेको, घटनास्थलमा भण्डारीको उपस्थिति देखिएको, मोबाइलको लोकेशन तथा सिसीटिभी फुटेजबाट पनि भण्डारीको उपस्थिति पुष्टि भएको भन्दै निजलाई जीवनभर कैदमा राख्न माग दाबी लिई बिहीबार मुद्दा दर्ता गरिएको हो । 

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार हत्यामा संलग्नताको प्रमाण पुष्टि भएको, वारदतामा प्रयोग भएका हतियार तथा कपडा लगायतका अन्य प्रमाण पनि पुष्टि भएको र क्रूर तथा निर्ममतापूर्वक हत्या गरेको कारण भण्डारीलाई जीवित रहेसम्म जेलमै राख्न मागदावी लिइएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप