आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
इजरायल घटना

इजरायलबाट नेपालीको शव ल्याउन किन भयो ढिलाइ ?

शुक्रबार, २६ असोज २०८०, १५ : ५७
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । गत शनिवार इजरायलमा भएको हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भयो । निधन भएको एक साता वित्न लाग्दा समेत उनीहरूको शव नेपाल ल्याउन सकिएको छैन ।

 उनीहरूका आफन्तहरू चाँडो शव ल्याइदिन अनुरोध गर्दै आएका छन् । तर, सरकारले शव ल्याउन अझै समय लाग्ने बताइरहेको छ । त्यो समय कति हो भन्नेमा सरकार नै यकिन हुन सकेको छैन ।

परराष्ट्र मन्त्री एनपी साउद आफैँ नेपाली विद्यार्थी लिन इजरायल पुगे । इजरायलस्थित विमानस्थलमा इजरायली विदेश मन्त्रालयका उच्च अधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छोटो कुराकानी गरे । त्यही क्रममा उनले इजरायलमा भइरहेको आक्रमण, विदेशी कामदारको सुरक्षा लगायतका विषयमा चासो व्यक्त गरेका थिए । जवाफमा इजरायली विदेश मन्त्रालयका उच्च अधिकारीहरूले युद्धको क्रम जारी रहेकाले अहिले इजरायल कठिन अवस्थामा रहेको प्रतिक्रिया दिएका थिए ।

त्यही क्रममा मन्त्री साउदले इजरायलमा निधन भएका आफ्ना नागरिकहरूको शव नेपाल पठाउने विषयमा समेत कुरा राखेका थिए । जवाफमा धेरै देशका नागरिकको मृत्यु भएको र त्यसमा सबै शवको पहिचान गर्न गाह्रो भएको प्रतिक्रिया दिएका थिए ।

त्यसरी मारिनेहरूमा इजरायली मात्रै नभई आतङ्ककारीहरू समेत रहेको उनीहरूको पहिचानका लागि समय लागेको बताएका थिए ।

‘इजरायलमा हजारौँको सङ्ख्यामा हाताहाती भएको छ । त्यसमा इजरायली नागरिक मात्र नभई आतङ्ककारीहरू समेत हाताहाती भएका छन् । उनीहरूको शव रूजु गर्ने कुरा जटिल भएको छ । त्यसको आधिकारिक प्रमाणित गरेपछि मात्रै शवको व्यवस्थापन हुने कुरा इजरायली अधिकारीहरूले बताएका छन्’ मन्त्री साउदले भने ।

इजरायले त्यो प्रक्रिया पुरा गर्ने वितिक्कै शव नेपाललाई हस्तान्तरण गर्ने शुक्रवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री साउदले बताए ।

त्यो काम यथाशीघ्र गरिदिनका लागि नेपाल सरकारको तर्फबाट अनुरोध गरिएको र जति सक्दो चाँडो शव हस्तान्तरण गर्ने बताएका थिए ।

गत शनिवार इजरायल र गाजा नजिकैको सीमा क्षेत्रमा प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी कैलाली घोडाघोडी–४ का नारायण न्यौपाने, बझाङ जय पृथ्वी–६ का गणेश नेपाली, कैलाली बाउनिया–३ आशिष् चौधरी, दार्चुला लेकाम–५ का दिपेशराज विष्ट, दार्चुला मालिकार्जुन ४ का लोकेन्द्रसिंह धामी, धनुषा सपही–६, आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटीको पाँचनलीका राजन फुलारा, डोटी लामिखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारीको मृत्यु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप