आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदर्शनको सुरुवातमा ‘परदेशी २’लाई दर्शकको साथ, कस्तो छ प्रतिक्रिया ?

आइतबार, २८ असोज २०८०, ०८ : ५७
आइतबार, २८ असोज २०८०

काठमाडौँ । शुक्रबारबाट रिलिज फिल्म ‘परदेशी २’ले प्रदर्शनको सुरुवाती व्यवसाय राम्रो गर्न सफल भएको छ । फिल्मले शुक्रबार र शनिबार देशभर राम्रो व्यवसाय गर्न सफल रहेको हो । 

फिल्मले शनिबार धेरै हलमा हाउस फूलको व्यवसाय गर्न समेत सफल भएको छ । फिल्मले व्यवसायमा मात्र राम्रो गरेको छैन, दर्शकको समीक्षा समेत राम्रो पाएको छ । हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले फिल्म मन परेको प्रतिक्रिया समेत दिएका छन् । फिल्मले घरी हँसाउने, घरी रुवाउने र धेरै दृश्यमा गम्भीर बनाउने दर्शकहरूले बताएका छन् ।

शनिवार फिल्मको व्यवसाय शुक्रवारको तुलनामा दोब्बर भएको निर्माता राजेश बंशलले बताए ।  आइतबार पनि सार्वजनिक बिदा परेकोले फिल्मले राम्रो व्यवसाय गर्ने उनको अनुमान रहेको छ । दर्शकहरूबाट प्राप्त सकारात्मक  प्रतिक्रियाले फिल्ममा दिन प्रतिदिन दर्शक बढ्ने निर्माता बंशल बताउँछन् ।

निर्देशक नारायण रायमाझीले दर्शकबाट पाएको साथ र प्रतिक्रियाले उत्साहित भएको बताए । उनले आफ्ना लागि आगामी दिनमा यो भन्दा राम्रो फिल्म दिनु पर्ने चुनौती समेत थपिएको धारणा राखे ।

उपत्यकामा मात्र नभएर शनिवार उपत्यका बाहिर बुटवल, पोखरा, नेपालगन्ज, चितवनका हलमा समेत फिल्मले राम्रो व्यवसाय गरेको छ । उपत्यका बाहिर पनि शुक्रबार भन्दा पनि शनिबार फिल्ममा दर्शक देखिएका छन् ।

387459538_6498349826957063_4780191828519963394_n

शनिबार निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसँगै अभिनेत्रीद्धय केकी अधिकारी र वर्षा शिवाकोटी काठमाडौँमा विभिन्न हलमा पुगेर दर्शकसँग फिल्मको प्रतिक्रिया समेत लिएका छन् । त्यस क्रममा केही दर्शकहरू कलाकारको अङगालोमा रोएको समेत देख्न सकिन्थ्यो । दर्शकबाट पाएको प्रतिक्रियाले आफूहरू उत्साहित रहेको अभिनेत्री वर्षाले बताइन् ।

फिल्ममा प्रकाश, केकी र वर्षाको अलवा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । 

राजेश वंशल र निर्देशक रायमाझी मिलेर फिल्म बनाएका हुन् । निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ बनाएका थिए । दुवै फिल्म सुपरहिट साबित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप