आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शारदीय काव्य उत्सवमा दसैँको पीडा

आइतबार, २८ असोज २०८०, २१ : ४९
आइतबार, २८ असोज २०८०

काठमाडौँ । त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा आज यहाँ सम्पन्न ‘शारदीय काव्य उत्सव’ मा  कविहरूले  बिदेसिएकाहरूको पीडादेखि मानवीय र महिलालक्षित विभेदसम्मका कविता वाचन गरे । हरेक वर्ष झैँ यस वर्ष पनि बडादसैँका अवसरमा आयोजित कार्यक्रममा २५ जना कविले मुलुक छाड्नु नै गौरव ठानेकाहरूका तथा सत्ताको राजमार्गमा पुगेपछि भिर र गोरेटो बिर्सनेहरूप्रति व्यङ्ग्य गर्दै गरिबहरुले दसैँ मनाउन नसकेको पीडा र विश्वमै पुँजीवाद हावी भएकाबारे पनि गीत, मुक्तक र कवितामार्फत अभिव्यक्ति दिएका थिए । 

कार्यक्रममा मुरारी नराल, केशरी अमगाईं, अभय श्रेष्ठ, रामगोपाल आशुतोष, डा विक्रम तिमिल्सिना, महेश क्षितिज, माधव अटल, प्रकाश रम्घाली, प्रकाश गुरागाईं, स्वप्निल स्मृति, उमेश अकिञ्चन, होमराज श्रेष्ठ, देवी नेपाल, एचके धिताल, दिवाकर विष्ट, सुदीप उद्यत, राजेन्द्र श्रेष्ठ, देवराज ढकाल, यशोदा अधिकारी, देवकी समीक्षा, सावित्रा पाण्डे, सङ्गीता पनेरूलगायतले नेपाली र खस भाषामा कविता वाचन र मन्तव्य दिएका थिए ।

त्यस अवसरमा साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमीले दुई पङ्क्तिमा पनि गीत, गजल र कविताले गम्भीर भाव दिनसक्ने तथा तिनैमाथि हरफमाथि उपन्यास र महाकाव्य बन्ने उदाहरण दिँदै युवा कविका कविता चोटिला भएका बताउनुभयो । समालोचक डा गीता त्रिपाठीले जताततै हत्या, हिंसा, असमानताको विषम परिस्थितिमा शासकहरूले पनि साहित्य सुन्नु र पढ्नुपर्ने औँल्याए ।

प्रतिष्ठानका अध्यक्ष आरएम डङ्गोल, पूर्वअध्यक्ष श्रीहरि फुयाँल, महासचिव राजेन्द्र सागर र कोषाध्यक्ष लक्ष्मी रुम्बाले आफ्नो स्थापनाको १५ वर्ष प्रवेश गरेको प्रतिष्ठानले कविगोष्ठी, पुस्तक–पत्रिका प्रकाशन, साहित्ययात्रा, जलयात्रालगायत कार्यक्रम गरिसकेको र आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गरिने जानकारी दिए ।

यसैबीच, प्रतिष्ठानका अध्यक्षमा डङ्गोल उपाध्यक्षमा राजेन्द्रमान डङ्गोल, महासचिवमा राजेन्द्र सागर, सचिवमा लक्ष्मी रुम्बा र  कोषाध्यक्षमा पुरु लम्साल तथा सदस्यमा शिवप्रसाद आचार्य, डा विक्रम तिमिल्सिना, प्रभाती किरण, पुरु विमल, कृष्णकिसु, उत्तम विचार, वैरागी जेठा, जया ओझा र  पूजा श्रेष्ठ रहेको १३ सदस्यीय प्रतिष्ठान पुनः गठन गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप