आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म्युजिक भिडियोलाई बोर्डमा समेट्न निर्देशक समाजको ध्यानाकर्षण

मङ्गलबार, ३० असोज २०८०, १२ : ०२
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ  । नेपाल म्युजिक भिडियो निर्देशक समाजले म्युजिक भिडियोलाई चलचित्रको परिभाषामा समेन्ट चलचित्र विकास बोर्डलाई ध्यानाकर्षण गराएको छ । समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डे, सहसचिव समन अधिकारी, कोषाध्यक्ष बबिता श्रेष्ठ, सदस्यहरू दयाराम घिमिरे, देवेन्द्र कुँवर र देवराज आचार्य, म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट र आदित्य बुढाथोकी, कलाकार रामेश्वर बुर्लाकोटी, सङ्गीत व्यवसायी राजेन्द्र पुरी लगायतले बोर्डमा पुगेर अध्यक्ष भुवन केसीलाई एक पत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो ।

चलचित्र विकास बोर्डले समेट्ने क्षेत्रको परिभाषामा चल्ने चित्रलाई ‘चलचित्र’ भनिएको तर निर्माण हुने प्रक्रिया, विधि, प्रविधि, प्रयोग तथा कलाकार, प्राविधिक, निर्देशक लगायतका विषयहरू म्युजिक भिडियोमा पनि एकै किसिमको रूपमा प्रयोग हुने भएता पनि म्युजिक भिडियोलाई चलचित्रको परिभाषाको प्रक्रियामा नराखेकोमा समाजले दुःख व्यक्त गरेको छ । 

म्युजिक भिडियो मार्फत देशका विभिन्न जातजाति, भाषा, कला संस्कृतिको जगेर्ना गर्दै राज्यको अर्थतन्त्र, पर्यटन, रोजगारी लगायतमा यस क्षेत्रले मद्दत पुर्याएको तथ्य राज्यसामु हुँदाहुँदै पनि म्युजिक भिडियोलाई चलचित्रको परिभाषाको रूपमा समावेश नगरिनु र औपचारिकतामा प्रवेश नगराउनु आफैमा पक्षपाती विषय भएकोले ध्यानाकर्षण गराएको समाजले जनाएको छ ।

दैनिक डेढ करोड हाराहारीको लगानी तथा हजारौँले रोजगारी पाइरहेको म्युजिक भिडियोले राज्यलाई अनौपचारिक रूपमा ठुलो फाइदा पुगिरहेको पत्रमा औँल्याइएको छ । 

समाजले बोर्ड अध्यक्ष केसीलाई पत्र बुझाउँदै राज्यले म्युजिक भिडियोको क्षेत्रबाट लिन सक्ने सम्भावित फाइदाहरू र राजस्व शीर्षकहरूबारे जानकारी गराएको छ । 

पत्र बुझ्दै बोर्ड अध्यक्ष केसीले जरुरी रहेको विषय जानकारी गराएको र आगामी बैठकमा यसबारेमा प्रस्ताव राख्ने बताए । केसीले बोर्डको तालुकदार मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यसबारेमा जानकारी गराई ठोस निर्णय गर्ने विश्वास दिलाए ।

समाजका कार्यवाहक अध्यक्ष देवेन्द्र पाण्डेले सोही प्रकृतिको ध्यानाकर्षण पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई पनि बुझाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप