आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रभाव पार्न सक्ने खेलाडी : कागिसो राबाडा (दक्षिण अफ्रिका)

मङ्गलबार, ३० असोज २०८०, १२ : ५३
मङ्गलबार, ३० असोज २०८०

काठमाडौँ । एकदिवसीय विश्वकपमा मंगलबार दक्षिण अफ्रिका र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । खेल धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसनको स्टेडियममा खेलिने छ । त्यो स्टेडियम तीव्र गतिका बलरहरूका लागि उपयुक्त मानिन्छ । 

खेलको प्रारम्भमा यो रङ्गशालामा तीव्र गतिका बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै आएको इतिहास छ । त्यसैले नेदरल्यान्ड्सविरुद्धको खेलमा दक्षिण अफ्रिकाले आफ्ना अनुभवी बलर कागिसो राबाडाबाट निकै ठुलो आशा गरेको छ ।

राबाडा दायाँहाते तीव्र गतिका बलर हुन् । उनले दक्षिण अफ्रिकाका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । २८ वर्षीय राबाडाले दक्षिण अफ्रिकाका लागि हालसम्म ९४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् । 

एकदिवसीय प्रतियोगिताको ९२ पालीमा उनले २७।३८ को औसतले एक सय ४९ विकेट लिएका छन् । एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन केवल १६ रन दिएर ६ विकेट हो । उनले एकदिवसीय खेलमा दुईपटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । 

उनले एकदिवसीय खेलमा ६ पटक चार विकेट पनि लिएका छन् । उनले दक्षिण अफ्रिकाका लागि ६० टेस्ट खेल्दै २२।३४ को औसतले कुल दुई सय ८० विकेट लिएका छन् । टेस्ट क्रिकेटको एक पालीमा उनको उत्कृष्ट प्रदर्शन एक सय १२ रन खर्चिएर सात विकेट हो । 

टेस्ट क्रिकेटको दुवै पालीमा भने उनको उत्कृष्ट प्रदर्शन एक सय ४४ रन खर्चिएर १३ विकेट हो । टेस्ट क्रिकेटमा उनले १३ पटक पाँच वा त्योभन्दा बढी विकेट लिएका छन् । उनले टेस्ट क्रिकेटमा १४ पटक चार विकेट हात पारेका छन् । 

राबाडाले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि ५६ खेल खेल्दै २९।८७ को औसतले कुल ५८ विकेट लिएका छन् । टी—२० मा उनको उत्कृष्ट प्रदर्शन २० रन खर्चिएर तीन विकेट हो । यसका अतिरिक्त टोलीलाई आवश्यकता पर्दा उनी टोलीका लागि रन पनि बनाउन सक्छन् । 

उनले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रियमा ३९ पाली खेल्दै तीन सय ३५, टेस्टमा ९३ पाली खेल्दै आठ सय ९७ र टी—२० अन्तर्राष्ट्रियमा २१ पाली खेल्दै एक सय ४७ रन बनाएका छन् । जारी विश्वकपमा पनि उनले श्रीलंकाविरुद्ध दुई र अस्ट्रेलियाविरुद्ध तीन विकेट लिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप