मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जलवायु संरक्षणमा नेपालले पाउने ५० करोड मुस्ताङ पठाउने प्रधानमन्त्रीको घोषणा

बुधबार, ०१ कात्तिक २०८०, २३ : ०५
बुधबार, ०१ कात्तिक २०८०

पोखरा । विश्व समुदायले जलवायु परिवर्तन अनुकूलनका लागि सङ्कलन गरेको रकमबाट नेपालले ५० करोड पाउने भएको छ । जलवायु परिवर्तन कम गर्न नेपालले गरेका अभ्यास र मेहनतका आधारमा उक्त रकम आउन लागेको हो । 

त्यो सबै रकम यसपालि मुस्ताङ पठाउने निर्णय भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए । ‘जलवायु संरक्षण बापत अन्तर्राष्ट्रिय संस्थाबाट नेपाललाई ५० करोड प्राप्त हुँदै छ । त्यो सबै रकम मुस्ताङलाई दिँदैछौं,’ उनले भने, ‘यसबाट पनि पुष्टि हुन्छ कि सरकार मुस्ताङको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति निकै नै संवेदनशील छ ।’

गत साउन २८ गते मुस्ताङको कागबेनीमा बाढीका कारण ठुलो क्षति भएको छ । मुस्ताङ सबैभन्दा कम पानी पर्ने क्षेत्र पनि हो । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असरका कारण बर्सात हुन थालेको छ । एक अध्ययन अनुसार मुस्ताङ जिल्ला नेपालमै सबैभन्दा बढी तापक्रम बढेको जिल्ला पनि हो । अन्य क्षेत्रमा वर्षेनी ०.०१ प्रतिशत तापक्रम बढ्छ भने मुस्ताङमा ०.१ प्रतिशत तापक्रम वृद्धि भएको उक्त अध्ययनले देखाएको छ । यसको अर्थ अन्य क्षेत्रमा भन्दा १० गुणा बढी तापक्रम मुस्ताङमा बढेको छ । 

पछिल्ला समय नेपालको हिमाली क्षेत्रमा तापक्रम अत्यधिक बढेको छ । हिउँ पग्लिने र त्यसबाट बाढी आएर धनजनको क्षति हुन थालेको छ । २०७८ सालमा मनाङमा आएको बाढीलाई पनि जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ । हिमाली क्षेत्रका नागरिकहरूले वर्षाबाट जोगिन छाना फेर्न थालेका छन् । केही वर्ष अघिसम्म माटोकै घर र माटोकै छत भएका यहाँका घरहरूमा अहिले जस्तापाता र कंक्रिट देखिन्छ । घरको बनोट फेर्नुमा जलवायु परिवर्तनलाई हेरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा मुस्ताङमा जलवायु परिवर्तनले पारेका असरबारे स्थानीयसँग अन्तरक्रिया गर्न बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले हिमालय क्षेत्रको संरक्षणका लागि सरकार गम्भीर भएर लागेको बताए । 

‘जलवायु परिवर्तनको प्रत्यक्ष अनुभव गर्न पाउँदा र विगतमा भएको क्षतिको अवलोकन गर्न पाउँदा धेरै ज्ञान प्राप्त भएको छ । पछिल्लो पटक धेरै वर्षपछि अविरल वर्षा, बाढी र त्यसले पु¥याएको क्षति विशिष्ट प्रकृतिको छ । सरकारले गम्भीरता पूर्वक लिएको छ,’ उनले अघि भने, ‘जलवायु परिवर्तन हाम्रो लागि पनि राष्ट्रिय चुनौतीको रूपमा छ । दक्षिण एसिया र खासगरी हिमालय पर्वत शृङ्खला जसरी हिउँ पग्लने क्रम सुरु भएको छ । यसले प्रत्यक्ष जनजीवन र वातावरणमा असर गरेको छ ।

यो निकै नै गम्भीर प्रकृतिको छ ।’ उनले अन्तर्राष्ट्रिय फोरमहरुमा पनि नेपालमा जलवायु परिवर्तनले पारेको असरबारे निरन्तर आवाज उठाउँदै आएका छन् । संयुक्त राष्ट्र संघको महासभा र रोममा भएको खाद्य सम्मेलनमा नेपालमा जलवायु परिवर्तनबाट परेको भयानक असर र जनधनमा परेको क्षतिबारे जानकारी गराएको प्रचण्डले बताए । 

‘विश्वको ध्यानाकर्षण भएको छ । हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको असरबारे विश्वले ध्यान नदिने हो भने र विश्वले जलवायु परिवर्तनका लागि छुट्याएको रकम यहाँ केन्द्रित नगर्ने हो भने ठुलो मानवीय क्षतिको सामना गर्नुपर्ने हुन सक्छ,’ उनले भने । कोप २८ मा पनि नेपालको प्रतिनिधित्व गरेर जाँदैछु ।

 जलवायु परिवर्तनकै लागि यो कार्यक्रम राखिएकोले नेपालमा जोखिम न्यूनीकरणका लागि कोषको व्यवस्था गरिदिन पहल गर्ने उनले बताए । जलवायु परिवर्तनकै असरबारे प्रत्यक्ष जानकारी गराउन संयुक्त राष्ट्र महासङ्घको महासचिवलाई नेपाल घुम्ने निम्तो दिएको उनले सुनाए । ‘जलवायु परिवर्तनको बारेमा प्रत्यक्ष देखाउने प्रयास गरेको थिएँ । १३ तारिखमा नै आउने कुरा थियो । इजरायल र हमासबीचको द्वन्द्वले केही दिन सरेको छ । केही दिनपछि आउँदै हुनुहुन्छ,’ प्रचण्डले थपे, ‘मुस्ताङको क्षति अलि विशिष्ट छ । सबै मिलेर यसको सामना गर्नुपर्ने छ ।’ फरक प्रसङ्गमा उनले मुस्ताङको उत्पादनलाई बजारीकरण गर्न नयाँ शिराबाट अगाडि बढाउने प्रतिबद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप