आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमती प्रदेश : उत्पादन र आर्थिक उपार्जनमा जोड्न गृहिणी महिला उद्यमशीलता कार्यक्रम

बिहीबार, ०२ कात्तिक २०८०, ०६ : ४६
बिहीबार, ०२ कात्तिक २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले उत्पादन र आर्थिक उपार्जनमा जोड्न गृहिणी महिला उद्यमशीलता कार्यक्रम सञ्चालनको तयारी गरेको छ । प्रदेश सरकारले गृहिणी महिलालाई उद्यमशील बनाउने उद्देश्य अनुरूप ‘गृहिणी महिलासँग प्रदेश सरकार’ भन्ने मूल नाराका साथ सो कार्यक्रम सञ्चालनको तयारी गरेको हो ।

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै उद्यमी महिलाहरूलाई प्रोत्साहन गर्ने नीति लिएर अघि बढे अनुसार सो कार्यक्रम कार्यान्वयनको तयारी गरिएको हो । प्रदेश सरकारले ल्याएको चालु आर्थिक वर्ष २०८०-०८१ को बजेट किताबमा नै समावेश गरी उक्त कार्यक्रम सञ्चालनका लागि बजेट विनियोजन गरिएको छ । गृहिणीहरूलाई सशक्तीकरण गर्दै आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने बजेट किताबमा उल्लेख छ ।

गृहिणी महिला उद्यमशील कार्यक्रम सञ्चालनका लागि बागमती प्रदेश सरकारले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ । न्यूनतम लक्ष्य र कार्यविधि बनाउने विषयमा सरोकारवालाबिच छलफल समेत सुरु गरेको छ । कार्यविधि निर्माण गरी कार्यान्वयनको चरणमा जाने तयारी गरिएको उक्त कार्यक्रमको थप छलफल भने दसैँ पछि गर्ने प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सो कार्यक्रम कार्यान्वयनका लागि कार्यविधिको ड्राफ्ट समेत तयार गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललको प्रत्यक्ष चासोका रूपमा सो कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढाइएको सामाजिक विकास मन्त्रालयका सचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए । उक्त कार्यक्रमको मोडल, कार्यान्वयनको क्षेत्र, कार्यक्रमको प्रकृतिका विषयमा भने कार्यविधि निर्माण भएपछि मात्र निचोड निस्कने उनले बताए । दसैँ पछि सो कार्यविधिलाई अन्तिम रूप दिने गरी मन्त्रालयले तयारी गरेको र मुख्यमन्त्री र मन्त्रीसँग छलफलको कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

कार्यविधि कस्तो किसिमको प्रभावकारी हुन्छ ? भनेर पहिलो चरणमा सामान्य छलफल गरेका भएको उनले बताए । सो छलफलले कार्यक्रमका विषयमा ठोस परिणाम भने नरहेको उनले बताए । गृहिणी महिलाको क्षमता अभिवृद्धि, सशक्तीकरण गर्न सके उनीहरूको आर्थिक आयआर्जन वृद्धि लगायतका विषयलाई कार्यक्रमले समेट्न उनको भनाई छ । घरेलु तथा महिला हिंसाको न्यूनीकरणसँगै घरमा नै बसेर चुलो चौकामा व्यस्त हुने महिलाहरूलाई आर्थिक उपार्जनमा जोड्न सो कार्यक्रम महत्त्वपूर्ण हुने उनले बताए ।

उत्पादन, आर्थिक उपार्जनमा जोड

मन्त्रालयका सचिव डा. भुसालका अनुसार पुरानै ढर्राबाट कार्यक्रम कार्यान्वयन गर्ने पक्षमा मन्त्रालय रहेको छैन । तालिममा भन्दा पनि उत्पादनसँग जोडिएर सो कार्यक्रम कार्यान्वयन गरिने उनले बताए ।

विशेष रूपमा गृहिणी महिलाहरूको सिपलाई उत्पादनसँग जोड्दै आर्थिक उपार्जनमा जोड्ने कार्यक्रमको मूल उद्देश्य रहेको उनले बताए । गृहिणी महिलाहरूलाई सिप सिकाउने भन्दा पनि उनीहरुले गर्दै आएको सिपलाई नै व्यवस्थापन गरेर उत्पादन र बजारीकरणमा सधाउने कार्यक्रम रहने उनको भनाइ छ ।

उनका अनुसार घरको काममा नै सीमित भएका महिलाहरूलाई उद्यमीका रूपमा स्थापित गराउने उद्देश्य अनुसार ल्याएको उक्त कार्यक्रमले उनीहरूको सिपलाई व्यावसायिकतामा जोड्ने काम गर्नेछ । गृहिणी महिलाहरूलाई उद्यमीका रूपमा अघि बढाउन विशेषतः प्रकृति अनुसारको उत्पादनशीलतालाई जोड दिइने उनले बताए ।

घरेलु उद्यममा लागेका गृहिणी महिलालाई प्रोत्साहन गर्दै उत्पादन र बजारीकरणका विषयलाई सरकारले आफ्नो लगानीको क्षेत्रको रूपमा लिने उनले बताए । अन्य प्रकृतिको कार्यक्रम झैँ तालिम दिने, लिने भन्दा पनि परिणाममुखी कार्यक्रम बनाउने तर्फ मन्त्रालयले ध्यान केन्द्रित गरेको सचिव डा. भुसालले बताए ।

‘यस कार्यक्रमका थुप्रै विषयहरू कार्यविधिले निर्धारण गर्छ । कार्यक्रम कस्तो हुन्छ ? क्षेत्र कति ? लगायतका विषयले अहिले नै भन्न सकिन्न ।’ उनले भने, ‘प्रारम्भिक रूपमा कार्यविधिको खाका बनेको छ । तालिम लिने र दिने भन्दा पनि विशेष रूपमा उत्पादन र उत्पादकत्व वृद्धिमा यो कार्यक्रमको जोड हुन्छ । गृहिणी महिलाहरूले गर्दै आउनु भएको काम वा सिपको प्रयोग गरेर आर्थिक उपार्जनमा जोड्नु पर्ने हुन्छ । यसमा बजारीकरण, गुणस्तरीयता, व्यवस्थापन लगायतका विषयहरू हुन्छन् । महिलाहरूको सिपलाई उद्यममा जोड्ने प्रयत्न हुनेछ ।’

गृहिणी महिलाले गर्दै आएका जीविकोपार्जन सम्बन्धी सिपलाई वृहत् बनाउन प्राेत्साहन गर्ने र त्यसको उचित बजारीकरणमा सघाउनु कार्यक्रमको मूल मर्म रहेकाले कार्यविधिले सो विषयहरूलाई समेटेर अघि बढ्ने सचिव भुसालले बताए । गाउँघरमा सीमित रहेका घरेलु समाग्रीहरु, हस्तकला, कृषि उद्यम, खाद्य उत्पादन लगायतका क्षेत्रमा सो कार्यक्रम मार्फत प्रोत्साहन गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप