आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट : नेपालले साउदीलाई दियो तीन सय ४८ रनको विशाल लक्ष्य

बिहीबार, ०२ कात्तिक २०८०, ११ : २८
बिहीबार, ०२ कात्तिक २०८०

काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा नेपालले साउदी अरेबियालाई जितका लागि तीन सय ४८ रनको विशाल लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर तीन सय ४७ रन बनाएको हो ।

मलेसियामा जारी उक्त प्रतियोगितामा नेपाली टोलीको योगफल विशाल बनाउन एक ब्याट्सम्यानले सतकीय र एक ब्याट्सम्यान उत्कृष्ट अर्धसतकीय पाली खेले । ओपनर ब्याट्सम्यान अर्जुन कुमालले टोलीका लागि एक सय ४२ रन बनाए । उनी अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा सबैभन्दा बढी रन बनाउने नेपाली खेलाडी पनि बनेका छन् । 

प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका अर्जुनले एक सय ११ बलको सामना गरी दुई छक्का र १७ वटा चौका हिर्काए । नेपालले पहिलो विकेट ७१ रनको कुल स्कोरमा गुमाएको थियो । ओपनर दीपक बोहरा २९ रन बनाउँदै आउट भएका थिए ।  त्यसपछि अर्जुन र आकाश त्रिपाठीले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई दुई सय ६० रनको बलियो स्थितिमा पुर्‍याएका थिए । आकाश केवल ११ रनका कारण सतक पुरा गर्नबाट चुके । उनले टोलीको खातामा ८९ रन थपे । 

पेभेलियन फर्किनुअघि आकाशले ९८ बलको सामना गरी दुई छक्का र ६ वटा चौका हिर्काएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान देब खनाल भने शून्य रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान दीपकप्रसाद डुम्ब्रे पनि १४ बलमा १४ रन बनाउँदै आउट भए ।  विशालबिक्रम केसीले अविजित २४ रन थपे । उनले १८ बलमा तीन चौका पनि हिर्काए ।

मिलन बोहराले पनि नौ रन बनाए । दीपेश कँडेलले १४ रन जोडे । उनले ११ बलमा एक छक्का पनि हिर्काएका थिए । नेपालले अतिरिक्त रुपमा २६ रन पाएको थियो ।  साउदी अरेबियाका बलर मुहम्मद अहमद राजाले दुई विकेट लिए । मुहम्मद चायुर अहमदले पनि दुई विकेट लिए । अब्दुल्लाह सिराज जुहाइर मुहम्मद र साजिब मजिबर रहमानले पनि एक—एक विकेट हात पारे । 

जारी प्रतियोगितामा यो नेपालको तेस्रो खेल हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको थियो ।  प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । दुई खेलबाट चार अंक जोड्रदै नेपाल तालिकाको पहिलो स्थानमा आसिन छ । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपका लागि छनोट हुनेछन् । 

छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यु—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप