आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशको चाडपर्व सुरक्षा योजना : साढे ५ हजार प्रहरी परिचालन

मङ्गलबार, ०७ कात्तिक २०८०, १८ : ४४
मङ्गलबार, ०७ कात्तिक २०८०

हेटौंडा । बागमती प्रदेशमा चाडपर्वलक्षित विशेष सुरक्षा योजनाअन्तर्गत प्रदेशका १० जिल्लामा ५ हजार ४९९ जना प्रहरी जनशक्ति परिचालन गर्ने भएको छ । प्रदेश मातहत रहेका उपत्यका बाहेकका १० जिल्लामा चाडपर्वलक्षित १ हजार ६३७ वटा ड्युटी संख्या कायम गरिएको छ ।

चाडपर्वको मौका पारेर हुने अपराधिक घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिई कानुन दायरामा ल्याउनुको साथै प्रदेशमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यसहित सुरक्षा योजना कार्यान्वयन गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले जानकारी दिइन् ।

उनका अनुसार नागरिकले सुरक्षित, भयरहित एवं उल्लासमय रुपमा चाडपर्व मनाउन सक्ने वातावरण सृजना गर्न मादक पदार्थ सेवन तथा लागू पदार्थ सेवन गरी सवारी चलाउने कार्य नियन्त्रण गर्न नियमित तथा सप्राइज चेकजाँच  गरिनेछ । साथै, चाडपर्वलक्षित उच्छृङ्खल क्रियाकलाप नियन्त्रण गर्ने, राजमार्गमा हुन सक्ने लुटपाट, डकैतीका घटना नियन्त्रण गर्ने, कालोबजारी तथा अभाव सिर्जना हुन नदिने, पटका, आतिसबाजी, प्रज्वलनशील तथा विष्फोटक पदार्थजस्ता वस्तुको नियन्त्रण गर्ने लगायतका क्रियाकलाप सञ्चालन गरिनेछ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले  नागरिकको सहायताका लागि १० जिल्लाका विभिन्न ५९ वटा स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । जसमा कुल १९४ जना प्रहरी परिचालन गरिएको उनले बताइन् ।

सुरक्षा योजनाबमोजिम सरप्राईज चेकिङ, सीमा नाका चेक जाँच, चेक प्वाइन्ट, मादक पदार्थ चेक प्वाईन्टमा ४१७ जना प्रहरी परिचालन गरिएको छ ।

५३७ वटा ड्युटी चाडपर्वलाई लक्षित गरी राजमार्ग गस्ती, मोबाइल गस्ती, पैदल गस्ती, मोटर साइकल गस्ती, पिकेटमा कायम गरी १ हजार ५७१ जना प्रहरी परिचालन गरिने प्रहरी नायव महानिरीक्षक राणाले बताइन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार चाडपर्वमा ३९४ प्रहरी कार्यालय र इकाइहरुको सरक्षार्थ ९९६ प्रहरी परिचालन हुनेछन् भने १० वटा कमाण्ड पोष्टमा ९५ प्रहरी परिचालन हुनेछन् । कार्यालयले प्रदेशका सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर १९ वटा रिजर्भ फोर्स खडा गरेको छ भने उक्त फोर्समा १९३ प्रहरी परिचालन गरिएको छ ।

८ वटा स्ट्राईकिङ फोर्समा ७५ प्रहरी, १९ क्युराटीमा १६९ प्रहरी, ३४ सिमा नाका चेकजाँचमा १२१ प्रहरी, १३ वटा अस्पताल रेस्क्यु टिम खडा गरी प्रदेश प्रहरी कार्यालयले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । 

राजमार्ग र सहायक राजमार्गमा ७४ ट्राफिकसहित चेकिङको व्यवस्था मिलाइएको छ । उक्त चेकिङमा २७२ जना प्रहरी परिचालन गरिएको छ भने ३५ वटा सरप्राईज चेकिङमा १२३ प्रहरी, ४५ वटा रेगुलर चेकिङ टिमका लागि १४२ प्रहरी, २६ चेक प्वाइन्टमा ८० प्रहरी परिचालन गरिएको छ ।

६० वटा मोबाइल गस्तीमा ३५४ प्रहरी, १८२ वटा मोटरसाइकल गस्तीमा ३९० प्रहरी, १०२ वटा  पैदल गस्तीमा २८५ प्रहरी, १५० पिकेटमा ४३० प्रहरी, ४३ राजमार्ग गस्तीका लागि १२२ प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ ।

४४ स्थानको यात्रु सहायता कक्षका लागि ११६ प्रहरी परिचालन गरेर सेवा प्रवाहको व्यवस्था मिलाएको छ भने २७ स्थानमा धार्मिकस्थल सुरक्षाका लागि ८३ प्रहरी, ५३ वटा बैंक तथा वित्तिय संस्था सुरक्षाका लागि १५९ प्रहरी, १६ वटा बजार अनुगमन ड्युटीका लागि ९३ प्रहरी, २३ जना सादा पोशाक ड्युटीमा ७० प्रहरी खटाइएको छ ।

राजनीति कार्यक्रम सुरक्षाका लागि ७ वटा ड्युटीमा ६५ प्रहरी, ६ कर्डन एण्ड सर्चका लागि ५९ प्रहरी, ४ वटा एम्बुसमा ५३ प्रहरी, ३० वटा मादक पदार्थ सेवा चेक प्वाइन्टमा ९३ प्रहरी, १९ वटा लामो दुरी सवारी साधन चेकजाँचका लागि ५० प्रहरी, २३ वटा एलआरपीमा    १४९ प्रहरी, ३६ वटा एसआपीमा १५२ प्रहरी, २९ वटा कार्यालय तथा विशिष्ट व्यक्ति÷निवास सुरक्षा   ड्युटीका लागि १३६ प्रहरी, जुवा तास नियन्त्रण ड्युटीका लागि ९७ प्रहरी, ४२ अवैध मदिरा नियन्त्रण  ड्युटीका लागि १२७ प्रहरी, १६ वटा राजमार्ग रात्रिकालिन वेशमा ८१ प्रहरी, ८ वटा ग्रामीण गस्तीमा १६ प्रहरी परिचालन गरिएको छ ।

साथै, सुरक्षा संवेदनशीलताको आधारमा प्रदेशका विभिन्न स्थानमा थप सुरक्षा बल प्रदान गर्न बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतको नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण तथा बागमती प्रदेश प्रहरी स्कुल, शान्तिपुरमा  ७३५ जना प्रहरी स्टेण्डवाई राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप