आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट : जापानविरुद्धको सेमिफाइनलमा नेपालको गतिलो सुरुआत

बिहीबार, ०९ कात्तिक २०८०, ०९ : ५८
बिहीबार, ०९ कात्तिक २०८०

काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको जापानविरुद्धको सेमिफाइनल खेलमा नेपालले गतिलो सुरुआत गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २५ ओभरको खेल सकिँदासम्म दुई विकेट गुमाएर एक सय ४० रन बनाएको छ ।

नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठी अविजित ३५ र कप्तान देब खनाल अविजित आठ रन बनाउँदै क्रिजमा छन् । आकाशले ४७ बलको सामना गरी एक छक्का र एक चौका हिर्काएका छन् । 

त्यसअघि नेपालका ओपनर ब्याट्सम्यानद्वय दीपक बोहरा र अर्जुन कुमालले ३२ रनको साझेदारी गरेका थिए । दीपक ७९ रन बनाएर आउट भएका थिए । उनले ७० बलमा दुई छक्का र १० चौका पनि प्रहार गरेका थिए । 

अर्जुन भने १० रनमा पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रुपमा आठ रन पाएको छ । जापानका बलर काजुमा कातो स्टाफोर्ड र किफर यामामोतोले एक—एक विकेट लिएका छन् । हाल वर्षाका कारण खेल रोकिएको छ । 

मलेसियामा जारी उक्त प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध सिंगापुरले ४२ ओभरमा सात विकेट गुमाएर एक सय २३ रन बनाएको छ । उक्त खेलमा सिंगापुरले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो । 

नेपाली टोली समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यूएई समूह ‘बी’ र सिंगापुर समूह ‘सी’ को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेका हुन् । नेपालले समूहगत चरणको तीनवटै खेलमा जित हात पारेको थियो । 

नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपाली टोलीले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपाल बिहीबार खेलिएको तेस्रो खेलमा भने साउदी अरेबियालाई तीन सय दुई रनको विशाल अन्तरले हराएको थियो । 

प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् । छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । 

त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप