आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी यू—१९ प्रिमियर कप

यू-१९ प्रिमियर कप क्रिकेट : उत्कृष्ट ब्याटिङ र बलिङमा नेपाली खेलाडीको दबदबा

शुक्रबार, १० कात्तिक २०८०, १६ : १४
शुक्रबार, १० कात्तिक २०८०

काठमाडौँ । नेपाली टोली मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । प्रतियोगिताको फाइनलमा पुगेसँगै नेपाल आगामी यू—१९ एसिया कपका लागि पनि छनोट भइसकेको छ ।

नेपालले अब मंगलबार हुने फाइनल खेलमा उपाधिका लागि संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्नेछ । त्यसअघि सोमबार जापान र सिंगापुरबीच तेस्रो स्थानका लागि खेल हुनेछ । प्रतियोगितामा तेस्रो स्थान र फाइनल खेलमात्र बाँकी रहँदा सर्वाधिक रन बनाउने ब्याट्सम्यान र सर्वाधिक विकेट लिने बलरको सूचिमा नेपाली खेलाडीहरूले दबदबा कायम गरेका छन् । 

मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा नेपालका अर्जुन कुमाल सबैभन्दा अगाडि छन् । उनले तीन खेल खेलेर कुल एक सय ७५ रन बनाइसकेका छन् । उनले साउदी अरेबियाविरुद्धको खेलमा एक सय ४३ रन बनाएका थिए । 

393741800_733479155475134_7836171828733534606_n

ओपनर ब्याट्सम्यान अर्जुनले साउदीविरुद्धको खेलमा एक सय ११ बलको सामना गरी दुई छक्का र १७ वटा चौका हिर्काएका थिए । त्यो खेलमा उनको ‘स्ट्राइक रेट’ १२८.८३ रहेको थियो । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा पनि नेपाली खेलाडी नै छन् । 

नेपाली ब्याट्सम्यान तीन खेलमा कुल एक सय ३२ रन बनाउँदै दोस्रो स्थानमा रहेका हुन् । नेपाली टोलीका कप्तान समेत रहेका देव खनालले इरानविरुद्धको खेलमा एक सय रन बनाएका थिए । त्यो खेलमा उनले केवल ६० बलको सामना गरी चार छक्का र १२ चौका हिर्काएका थिए ।

इरानविरुद्धको खेलमा देवको ‘स्ट्राइक रेट’ १६६.६७ रहेको थियो । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा सिंगापुरका आर्यवीर चौधरी तेस्रो स्थानमा छन् । उनले तीन खेलमा एक सय ३२ रन बनाएका छन् । तर, ‘स्ट्राइक रेट’ मा उनी देव खनालभन्दा पछाडि छन् । जारी एसीसी यू—१९ प्रिमियर कपमा सबैभन्दा राम्रो ‘स्ट्राइक रेट’ पनि नेपाली ब्याट्सम्यानकै रहेको छ । देव खनालको ‘स्ट्राइक रेट’ १४८.३१ रहेको छ । 

394522802_733479685475081_3411356896339001498_n

यसैगरी एउटै खेलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि नेपालका अर्जुन कुमाल पहिलो स्थानमा छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा सिंगापुरका आर्यवीर चौधरी दोस्रो र नेपालका देव खनाल तेस्रो स्थानमा आसिन छन् । 

सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचिमा भने इरानका अमिर खोरसान्दा पहिलो स्थानमा छन् । हालसम्म उनले ६ वटा छक्का प्रहार गरेका छन् । सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहेका नेपालका देव खनाले पाँचवटा छक्का हिर्काएका छन् । 

394571045_733479968808386_2518741200904822060_n

यसैगरी सर्वाधिक चौका हिर्काउने खेलाडीको सूचिमा पहिलो र दोस्रो स्थानमा नेपाली ब्याट्सम्यान रहेका छन् । प्रतियोगितामा हालसम्म अर्जुन कुमालले २२ र देव खनालले १६ वटा चौका प्रहार गरेका छन् । तेस्रो स्थानमा रहेका सिंगापुरका आर्यवीर चौधरीले १५ चौका हिर्काएका छन् । 

यसैगरी जारी प्रतियोगितामा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान पनि नेपाली खेलाडी देव खनालले बनाएका छन् । उनले केवल ५९ बलमा शतक पुरा गरेका थिए । दोस्रो स्थानमा रहेका ओमानका आदित्य परागले ७९ बलमा शतक बनाएका छन् । 

यसैगरी सबैभन्दा बढी विकेट लिने बलरको सूचिमा पनि नेपाली खेलाडी नै पहिलो स्थानमा छन् । नेपाली टोलीका बलर दीपेश कँडेलले तीन खेलमा १५ विकेट लिइसकेका छन् । दोस्रो स्थानमा रहेका यूएईका आयान अफजल खानले १३ विकेट लिएका छन् । जारी प्रतियोगिताको आफूले खेलेको चारवटै खेलमा नेपाली टोली विजयी भएको छ । 

393840939_733479395475110_7327445191283542364_n

प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराएको थियो । त्यसअघि समूहगत चरणमा पनि नेपालले तीनवटै खेल जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो । 

प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् । छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । 

त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप