आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी प्रिमियर कप

एसीसी यू-१९ प्रिमियर कप क्रिकेट : यूएईविरुद्धको फाइनलमा देवको शतक र अर्जुनको अर्धशतक

आइतबार, १२ कात्तिक २०८०, ०९ : ४९
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । नेपाली टोलीका कप्तान देव खनालले मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्धको फाइनल खेलमा शतक प्रहार गरेका छन् । उनी शतक बनाए लगत्तै पेभेलियन फर्किए । 

चौथो नम्बरमा क्रिज समाल्न आएका देवले ९२ बलको सामना गरी तीन छक्का र नौवटा चौका पनि हिर्काए । जारी प्रतियोगितामा यो उनको दोस्रो शतक हो । यसअघि उनले इरानविरुद्धको खेलमा पनि एक सय रन बनाएका थिए । त्यो खेलमा उनले केवल ६० बलको सामना गरी चार छक्का र १२ चौका हिर्काएका थिए ।

यूएईविरुद्धको फाइनल खेलमा मंगलबार नेपाली टोलीका ओपनर ब्याट्सम्यान अर्जुन कुमालले पनि अर्धशतक बनाएका छन् । उनले टोलीको खातामा ५५ रन थपे । उनले ७८ बलको सामना गरी चार चौका पनि प्रहार गरेका थिए । 

अर्जुनले साउदी अरेबियाविरुद्धको खेलमा पनि एक सय ४३ रन बनाएका थिए । यूएईविरुद्ध अर्का ओपनर दीपक बोहरा भने पाँच रन बनाउँदै पेभेलियन फर्किए । तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठी भने शून्य रनमै आउट भए । 

नेपालले १४ रनको कुल स्कोरमा दुई महत्त्वपूर्ण विकेट गुमाएको थियो । त्यसपछि देव र अर्जुनले टोलीको स्कोरलाई एक सय ३९ रनको बलियो स्थितिमा पुर्‍याएका थिए । २५.५ ओभरमा देव आउट भएपछि देव र उत्तम थापा मगरले नेपालको स्कोरलाई एक सय ८४ रनसम्म डोर्‍याएका थिए ।

हाल नेपालले ३९ ओभरमा चार विकेट गुमाएर दुई सय १३ रन बनाएको छ । विकेटकिपर ब्याट्सम्यान उत्तम २६ र दीपक प्रसाद डुम्रे १४ रन बनाउँदै क्रिजमा छन् । यसअघि सोमबार तेस्रो स्थानका लागि खेलिएको खेलमा जापानले सिंगापुरलाई हराएको थियो । 

प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् । छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । 

त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप