आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी यू—१९ प्रिमियर कप

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट : फाइनलमा नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

कप्तान देवले शतक तथा अर्जुन र उत्तमले बनाए अर्धशतक
आइतबार, १२ कात्तिक २०८०, १० : २१
आइतबार, १२ कात्तिक २०८०

काठमाडौँ । मलेसियामा जारी एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई जितका लागि दुई सय ८१ रनको लक्ष्य दिएको छ । फाइनल खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ८० रन बनाएको हो । 

नेपालली टोलीका कप्तान देव खनालले फाइनल खेलमा शतक प्रहार गरे । उनी शतक बनाए लगत्तै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका देवले ९२ बलको सामना गरी तीन छक्का र नौवटा चौका पनि हिर्काए । 

जारी प्रतियोगितामा यो उनको दोस्रो शतक हो । यसअघि उनले समूहगत चरणको इरानविरुद्धको खेलमा पनि एक सय रन बनाएका थिए । त्यो खेलमा उनले केवल ६० बलको सामना गरी चार छक्का र १२ चौका हिर्काएका थिए । 

जारी प्रतियोगितामा देव सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान पनि हुन् । उनले जारी प्रतियोगितामा कुल दुई सय ३२ रन बनाएका छन् । यसैगरी जारी प्रतियोगितामा सबैभन्दा छिटो शतक प्रहार गर्ने कीर्तिमान पनि देव खनालले नै बनाएका छन् । उनले इरानविरुद्ध केवल ५९ बलमा शतक पुरा गरेका थिए । 

यूएईविरुद्धको फाइनल खेलमा मंगलबार नेपाली टोलीका ओपनर ब्याट्सम्यान अर्जुन कुमालले पनि अर्धशतक बनाएका छन् । उनले टोलीको खातामा ५५ रन थपे । उनले ७८ बलको सामना गरी चार चौका पनि प्रहार गरेका थिए । 

अर्जुनले साउदी अरेबियाविरुद्धको खेलमा पनि एक सय ४३ रन बनाएका थिए । जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा अर्जुन दोस्रो स्थानमा छन् । उनले जारी प्रतियोगितामा कुल दुई सय ३० रन बनाएका छन् । 

यूएईविरुद्धको फाइनलमा नेपालका अर्का ओपनर दीपक बोहरा भने पाँच रन बनाउँदै पेभेलियन फर्किए । तेस्रो नम्बरका ब्याट्सम्यान आकाश त्रिपाठी भने शून्य रनमै आउट भए । नेपालले १४ रनको कुल स्कोरमा दुई महत्त्वपूर्ण विकेट गुमाएको थियो । 

त्यसपछि देव र अर्जुनले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई एक सय ३९ रनको बलियो स्थितिमा पुर्‍याएका थिए । २५.५ ओभरमा देव आउट भएपछि देव र उत्तम थापा मगरले नेपालको स्कोरलाई एक सय ८४ रनसम्म डोर्‍याएका थिए ।

विकेटकिपर ब्याट्सम्यान उत्तमले पनि टोलीका लागि अर्धशतकीय पाली खेले । उनले ५७ रन बनाए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले केवल ६७ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काएका थिए । 

नेपालका लागि दीपक प्रसाद डुम्रेले पनि अविजित २८ रनको योगदान गरे । उनले ३० बलमा एक छक्का र दुई चौका प्रहार गरे । विशालबिक्रम केसी तीनमा आउट भए । हेमन्त धामीले सात र दीपेश कँडेलले अविजित १० रन बनाए । आकाश चन्दले अविजित एक रन बनाए । नेपालले अतिरिक्त रूपमा १४ रन पाएको थियो । 

यूएईका बलर हरित सेठ्ठीले पाँच र आयान अफजल खानले दुई विकेट लिए । अमर बदामीले पनि एक विकेट हात पारे । यसअघि सोमबार तेस्रो स्थानका लागि खेलिएको खेलमा जापानले सिंगापुरलाई हराएको थियो । 

यसअघि प्रतियोगिताको सेमिफाइनलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनले हराएको थियो । 

त्यसअघि समूहगत चरणमा पनि नेपालले तीनवटै खेल जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो । 

प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी छन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट हुनेछन् । छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । 

त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप