आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीय सरकारका कर्मचारी ठेकेदारभन्दा बढी पैसा कमाउने नियतले आउँछन् : मुख्यमन्त्री यादव

सोमबार, १० वैशाख २०८१, १० : ०१
सोमबार, १० वैशाख २०८१

बारा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारका कर्मचारीहरु मधेस प्रदेशमा ठेकेदारले भन्दा बढी पैसा कमाउने नियतले आउने गरेको बताएका छन् ।

सिमरा विमानस्थलमा रातोपाटीसँगको कुराकानीमा मुख्यमन्त्री यादवले मधेस प्रदेश सरकारसँग आफ्नो कर्मचारी नहुँदा र संघीय सरकारले पनि प्रहरी र कर्मचारी समायोजनमा चासो नदेखाउँदा काम गर्न समस्या भएको गुनासो गरे ।

‘विकास निर्माण र भ्रष्टाचार नियन्त्रणका लागि मधेस प्रदेशमा कर्मचारी समायोजन भइसकेपछि म एक रुपैयाँको पनि चलखेल हुन दिन्नँ, म यो ग्यारेन्टीका साथ भन्न चाहन्छु,’ मुख्यमन्त्री यादवले भने ‘प्रदेशमा पुलिस समायोजन भएपछि ठाउँठाउँमा राजस्व उठाउने अधिकार कानुनले हामीलाई दिएको छ, त्यसका लागि संघीय सरकारले कर्मचारी समायोजन र प्रहरी समायोजनको काम तुरुन्तै गरिदिनुप¥यो ।’

मधेस प्रदेशका ११ वटा मन्त्रालयमध्ये ६ वटा मन्त्रालयमा मात्रै सचिव छन् भने बाँकी ५ वटा मन्त्रालयमा सचिव नहुँदा कामकाजमा समस्या भएको छ । मुख्यमन्त्री यादवले निमित्त सचिवलाई मन्त्रालयको धेरै कामकाजको ज्ञान नहुने र भएका काममा पनि अख्तियारमा फस्छु भन्ने डरले कामै नगर्ने गरेको गुनासो गरे ।

उनले आफ्नो कार्यकालमा सबैभन्दा धेरै फोकस कृषि, शिक्षा, स्वास्थ्य सम्बन्धी कार्यक्रम रहेकाले  तिहार लगत्तै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका कार्यक्रम सुरु हुने जनाए ।

‘गत वर्ष म मुख्यमन्त्री हुँदा मधेस प्रदेशको ७ प्रतिशत बजेटमात्रै खर्च भएको थियो, मैले असारसम्म आउँदा ६० प्रतिशत हाराहारीमा बजेट खर्च गरेँ, चालु आर्थिक वर्ष मेरो नेतृत्वमा पास भएको बजेटमा ८० प्रतिशतभन्दा धेरै खर्च गर्ने लक्ष्य छ,’ मुख्यमन्त्री यादवले भने, ‘मधेस प्रदेशको विकासको सन्दर्भमा संघीय सरकारले बजेट नै दिँदैन भने विकास कसरी गर्ने ?’

७ वटा प्रदेशमध्ये सबैभन्दा बढी (३३ प्रतिशत) जनसङ्ख्या मधेस प्रदेशमा  भए पनि संघीय सरकारले कर्णाली प्रदेशको भन्दा पनि कम बजेट दिएको यादवको गुनासो छ । उनले मधेस प्रदेशलाई १३ अर्बमात्रै बजेट दिएको तर कर्णालीमा १७ अर्ब बजेट दिएको भन्दै गुनासो गरे ।

‘जनगणना अनुसार ३३ प्रतिशत जनसङ्ख्या मधेसमा बसोबास गर्दछन्, तर बजेटको सवालमा १५ प्रतिशतमात्रै बजेट आएको छ,’ मुख्यमन्त्री यादवले भने ।

उनले आफ्नो कार्यकालमा मधेसको मुहार ७ वटै प्रदेशमा सबैभन्दा राम्रो, भ्रष्टाचार मुक्त, शान्ति सुरक्षामा अब्बल हुने दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप