आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एसीसी यू-१९ प्रिमियर कप

मलेसियाबाट उपाधि बोकेर फर्कियो यू-१९ क्रिकेट टोली

शुक्रबार, १५ मङ्सिर २०८०, ०९ : ३३
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौँ । मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोली बिहीबार बिहान स्वदेश फर्किएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपालले मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो । प्रतियोगिताभर नेपाल अपराजित पनि रह्यो ।

आफूले खेलेको पाँचवटै खेलमा विजयी हुँदै नेपालले उपाधि चुमेको हो । प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले जापानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय ४४ रनको विशाल अन्तरले हराएको थियो । 

त्यसअघि समूहगत चरणमा पनि नेपालले तीनवटै खेल जितेको थियो । नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । दोस्रो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको थियो । नेपालले तेस्रो खेलमा साउदी अरेबियालाई तीन सय दुई रनले हराएको थियो । 

प्रतियोगितामा १६ वटा राष्ट्र सहभागी थिए । यो प्रतियोगिताबाट तीन वटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यू—१९ एसिया कपमा छनोट भएका छन् । छनोट प्रतियोगितामा पहिलो हुने नेपाल र दोस्रो हुने यूएई एसीसी यू—१९ एसिया कपको समूह ‘ए’ मा परेका छन् । 

पाकिस्तानमा हुने प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान पनि छन् । मलेसियामा सम्पन्न छनोट प्रतियोगितामा तेस्रो हुने टोली जापान भने एसीसी यू—१९ एसिया कपको समूह ‘बी’ मा परेको छ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का र अफगानिस्तान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप