आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

वार्नरले बराबरी गरे सचिनको कीर्तिमान, रोहितभन्दा मात्र एक शतक टाढा

शुक्रबार, १५ मङ्सिर २०८०, १० : ५९
शुक्रबार, १५ मङ्सिर २०८०

नयाँ दिल्ली । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले आईसीसी एकदिवसीय विश्वकपमा नेदरल्याण्ड्सविरुद्ध शतक प्रहार गर्दै नयाँ इतिहास रचेका छन् । उनले ९३ बलमा १०४ रन बनाउने क्रममा ११ चौका र ३ छक्का हिर्काए ।

बुधबार नयाँ दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा उनले बनाएको शतक प्रतियोगितामा लगातार दोस्रो थियो । यसअघि उनले गत शुक्रबार पाकिस्तानविरुद्ध १६४ रनको शानदार पाली खेलेका थिए ।

विश्वकपमा उनको यो छैटौँ शतक पनि हो । सन् २०१५ को विश्वकपमा उनले अफगानिस्तानविरुद्ध पहिलो शतक बनाएका थिए । सन् २०१९ को विश्वकपमा उनले पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध शतक बनाए ।

योसँगै उनले प्रतियोगिताको इतिहासमा सबैभन्दा दोस्रो धेरै शतक बनाउने सचिन तेन्दुल्करको कीर्तिमानलाई बराबरी गरेका छन् । अस्ट्रेलियाका भेटरान ब्याट्सम्यान अब रोहित शर्माको ७ शतकको कीर्तिमानभन्दा एक शतक मात्र टाढा रहेका छन् ।

शर्माले यही विश्वकपमा अफगानिस्तानविरुद्ध शानदार शतक बनाउँदै सचिनको कीर्तिमान तोडेका थिए । सो खेलमा उनले मात्र ६१ बलमा शतक बनाएका थिए । यसबाहेक विश्वकपमा रिकी पोन्टिङ र कुमार संगाकाराले ५–५ शतक बनाएका छन् ।

वार्नर विश्वकपको इतिहासमा सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा पाँचौँ स्थानमा उक्लिएका छन् । उनले प्रतियोगितामा १ हजार ३ सयभन्दा बढी रन बनाएका छन् । उनीभन्दा अगाडि सचिन तेन्दुल्कर, रिकी पोन्टिङ, कुमार संगाकारा र विराट कोहली रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप