आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

मुगु हत्याकाण्ड : रिसिइबीका कारण हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान

कुकुरसहित अनुसन्धानको टोली मुगु प्रस्थान
शनिबार, १६ मङ्सिर २०८०, २० : १०
शनिबार, १६ मङ्सिर २०८०

सुर्खेत । मुगुमा तीन छोराछोरीसहित आमाको शव फेला परेको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । शुक्रबार छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो ।

उनीहरूको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको घटनास्थलमा रहेका मुगुका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।घटनास्थल रगताम्मे रहेको हुनाले हत्या नै भएको दाबी प्रहरीले गरेको छ ।  यद्यपि हत्या गरिएको विषय भने थप अनुसन्धानबाट नै खुल्ने उनको भनाइ छ । 

थापाका अनुसार मृतक आमा श्रीदेवी छोराछोरीसहित कार्तिक ७ गते नै दसैँको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टीका लगाइसकेपछि उनी कार्तिक ८ गते बेलुका नै घर फर्किएकी थिइन् ।  

अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट सोही राति सामूहिक हत्या गरिएको अनुमान प्रहरीले लगाएको छ । यद्यपि प्रहरीलाई भने शुक्रबार बिहान ११ बजे मात्रै खबर भएको थियो । 

mugu murder 3

बिहीबार बिहानैदेखि घर बाहिर ताला लगाएको देखेपछि छिमेकीहरूले बिहानै सिमी टिप्न खेततिर गएका होलान् सोचेका रहेछन् । 

आज बिहानसम्म पनि घरमा ताला लगाएको देखेपछि । स्थानीले फेरि माइतीतिर फोन गरेका थिए । माइतीबाट उनीहरू ८ गते नै फर्किएको बताएपछि बिहान साढे ९ बजेतिर स्थानीयले ढोकाको ताला तोडेका थिए । 

घरभित्र चारैजना मृत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।

कार्तिक ८ गते बेलुका ६ बजेतिर नै श्रीदेवी माइती फर्किएको र त्यसको केही समयपछि कोही आएर सामूहिक हत्या गरेर घरको मूल ढोकामा त्यही घरको ताल्चा लगाएर भागेको हुनसक्ने अनुमान स्थानीयको छ । 

श्रीदेवीको माइजू रेशा बोहोरा भन्छिन्–‘घरभित्र पुरै रगत मात्रै छ । श्रीदेवीको मुख पुरै सुनिएको छ । म त बेहोस भएँ । खेतीको सिजनमा कहाँ गई भनेर हामीले खोजी गर्दा मात्र घटनाको विषयमा थाहा भएको हो ।’ 

mugu murder 2

रेशा ताला फोडेपछि सबैभन्दा पहिला घटनास्थलमा पुगेकी थिइन् । उनका अनुसार घरबाहिर चप्पल नै रहेको देखेपछि भित्र नै छन् कि क्या हो भनेर ताला फोड्ने काम भएको थियो । उनका घर वरपरका सबै मावली नाता पर्ने मात्रै छन् । त्यो भएकाले वरपर कसैसँग दुस्मनी रहेको आफूले थाह नपाएको उनको भनाइ छ । 

मृतकमा श्रीमान् दीपक वैदेशिक रोजगारीमा कतारमा रहेका छन् । घटना घटेपछि उनी फर्कने तयारीमा रहेका छन् । 

मन्दु गाउँ जिल्ला सदरमुकामदेखि २ घण्टा टाढा रहेको छ । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका भन्छन्, ‘कार्तिक ८ गते बेलुकासम्म पनि श्रीमान्सँग सम्पर्कमा रहेको पाइयो । ९ गते बिहान हेर्दा ढोकामा चाबी लगाएको देखियो । आज बिहान श्रीदेवीका मामाले ढोका तोडेर हेर्नुभएको रहेछ ।’ 

थापाका अनुसार हत्याको प्रकृति ठुलो कुनै रिसिइबी जस्तै भएर मारिएको जस्तो छ । ‘नभए अन्य कुनै कारणले बालबच्चालाई त्यसरी मार्नुपर्ने कारण कुनै देखिँदैन,’ उनले भने, ‘विभत्स तरिकाले हत्या गरिएको देखिएको छ । टाउकोमा प्रहार भएको छ । रगत नै रगतले भरिएको छ ।’

mugu murder 4

घटनास्थल सिल, प्रदेशबाट कुकुरसहित अनुसन्धानको टोली मुगु प्रस्थान

थापाका अनुसार घटनास्थल अहिले पुरै सिल गरिएको छ भने प्रहरीले त्यहीँ पहरा दिइरहेको छ । अनुसन्धानका लागि माथिल्लो निकायबाट अनुसन्धान टोली मुगुतर्फ गइसकेको अवस्था छ ।

 प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले प्रदेशबाट अनुसन्धानको टोली मुगुतर्फ गइसकेको रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार अनुसन्धान शाखाका वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच जनाको टोली आधा बाटोमा गइसकेको छ । यस्तै अनुसन्धानका लागि कुकुरको टोली पनि मुगुतर्फ गइसकेको र यतिबेला दैलेखको राकम पुगिसकेको ढकालले बताए ।

यस्तै जुम्लाबाट पनि अनुसन्धान टोली पठाइएको छ । ‘३/४ ठाउँबाट अनुसन्धान विज्ञहरू, अनुसन्धान समूहहरू पठाइसकेका छौँ,’ ढकालले भने,‘ कोही पुगिसके कोही पुग्दैछन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप