आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

मुगु सामूहिक हत्याकाण्ड अपडेट : शव पोस्टमार्टमका लागि सदरमुकाम लगियो

बिहीबार, १३ वैशाख २०८१, १८ : २४
बिहीबार, १३ वैशाख २०८१

सुर्खेत । तीन सन्तानसहित आमाको हत्या विषयका शनिबार बिहानदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी लिएको छ ।

मुगुका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँबाट शव उठाएर बीच बाटोमा ल्याइसकिएको रातोपाटीलाई जानकारी दिए । मन्दु गाउँ जिल्ला सदरमुकामदेखि २ घण्टा टाढा रहेको छ । 

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ ।

 मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते नै दसैंको टीका थाप्न सोही वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाइसकेपछि उनी ८ गते बेलुका नै घर फर्किएकी थिइन् ।  सोही राति सामूहिक हत्या गरिएको बताइएको छ । 

छाँयानाथ रारा नगरपालिका–६, का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान दीपक घर आइसकेपछि शव उठाइएको हो । कतारमा रहेका दीपक घटना घटेपछि शुक्रबार साँझनै कतारबाट हिँडेका थिए । उनी काठमाडौँबाट नेपालगंज विमानस्थल र त्यहाँबाट जहाजमै शनिबार बिहान ११ बजे गाउँमा घरमा पुगेका थिए ।

mugu-murder

‘घरमा असुरक्षित हुने भएपछि शव घरबाट उठाएर सदरमुकामको  शवगृहमा राख्नुपर्ने भएकाले जिल्ला अस्पतालमा पठाएका छौँ,’ रावलले रातोपाटीसँग भने, ‘३ दिन जति भइसकेकाले शव गनाउन थालेको थियो ।’ 

घटना ८ गते साँझ नै घटेपनि प्रहरीलाई भने शुक्रबार बिहान ११ बजे मात्रै खबर भएको थियो ।  बिहीबार बिहानैदेखि घर बाहिर ताला लगाएको देखेका थिए । शुक्रबार बिहान पनि ताल्चा लगाइएको देखेपछि स्थानीयले सोधिखोजी गरेका थिए । माइतीबाट पनि फर्किसकेको बताइसकेपछि स्थानीयले ताला फोडेका थिए । 

घरभित्र चारैजना मृत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ । 

मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर बस्नेतले अहिलेसम्म ठ्याक्कै केही भन्न नसकिने बताए । ‘हत्या त हत्या नै गरिएको देखिन्छ,’ उनले रातोपाटीसँग भने, ‘कसले किन गर्यो भन्ने कुरा अनुसन्धानपछि नै थाहा होला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप