आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मुगु हत्याकाण्ड

दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने अडान

शुक्रबार, १४ वैशाख २०८१, १७ : ०८
शुक्रबार, १४ वैशाख २०८१

मुगु । मुगुको छाँयानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा भएको सामूहिक हत्याकाण्डको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहे पनि अझै घटनाको ‘क्लू’ पाउन सकिरहेको छैन ।  मुगु प्रहरीका अनुसार केही व्यक्तिलाई आशङ्का गरिए पनि नियन्त्रणमा लिइहाल्नका लागि अझै बलियो प्रमाण पाउन नसकिएको हो । 

बुधवार नै घटना घटेको र प्रहरीले शुक्रवार मात्रै थाहा पाएकोले अनुसन्धानमा केही कठिनाइ भइरहेको भनाई प्रहरीको छ ।  मुगुका प्रहरी नायब निरीक्षक वीरेन्द्र थापा भन्छन्, ‘घटना घटेपछि स्थानीयले नै ढिलो थाहा पाएको र प्रहरीलाई पनि ढिलो जानकारी भएको हो । थाहा पाए लगत्तै हामी घटनास्थलमा पुगेर स्थान सुरक्षित राख्ने प्रयास गरेको हो । ताकि हामीले केही प्रमाणहरू थाह पाउन सकियोस् ।’ 

बुधवार बेलुका घटना भए पनि प्रहरीले शुक्रवार बिहान साढे ९ बजेपछि मात्रै जानकारी पाएको थियो । स्थानीयले ताल्चा फोडेपछि घरभित्र २८ वर्षीय श्रीदेवी बोहरा र उनका ११ वर्षीय छोरा मनोज, ८ महिनाका छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहराको शव घरभित्रै फेला परेको थियो ।
प्रहरीका अनुसार कतारमा रहेका श्रीमतीका श्रीमान् दीपकसँग श्रीदेवीले बेलुकातिर भिडिओ कल समेत गरेकी थिइन् ।

धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले दाबी गरे पनि अहिलेसम्म घटनामा संलग्नताका प्रमाणहरू भने अझै पत्ता लगाउन सकिरहेको छैन । श्रीदेवीका श्रीमान् दीपक बोहरा भने दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने बताउँछन् । उनले सत्य तथ्य पत्ता लगाउनुपर्ने बताए । ‘पोस्टमार्टम गर्ने भनेर शवहरू सदरमुकाम ल्याइएको छ,’ दीपक भन्छन्, ‘सत्य तथ्य पत्ता नलागेर दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म म शव बुझ्ने छैन ।’ 

कतारमा रहेका दीपक शनिवार बिहान ११ बजे घरमा आइपुगेका हुन् । उनी आइसकेपछि शवहरू पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको हो । यद्यपि अहिलेसम्म पोस्टमार्टम हुन सकिरहेको छैन । अनुसन्धानमा सघाउनका लागि प्रदेश प्रहरी कार्यालयका डिआइजी भिमप्रसाद ढकाल पनि आइतबार मुगु पुगेका छन् भने शुक्रवार नै कोहलपुरबाट तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली, प्रदेश प्रहरी कार्यालयका वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँच जनाको अनुसन्धान विशेष टोली मुगु पुगेको थियो ।

तालिमप्राप्त कुकुरले पनि कुनै संकेत गर्न नसकेको अनुसन्धानमा सक्रिय प्रहरी अधिकृतहरू बताउँछन् । पोस्टमार्टमपछि थप केही विवरणहरू पत्ता लाग्ने आशा प्रहरीले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप