सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

परम्परागत बालीको विकल्प बन्दै किवी

सोमबार, १७ वैशाख २०८१, ०९ : ०७
सोमबार, १७ वैशाख २०८१

भोजपुर । व्यावसायिक किवी खेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागत रूपमा गरिने आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् ।

एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवी खेतीमा लागेका छन् । विशेष गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिकालगायतमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् ।

टेम्केमैयुङ–४ नागीमा व्यावसायिक रूपमा नै खेती विस्तार भइरहेको स्थानीय कृषक नवीन राईले बताए । आफूले एक सय ५० भन्दा बढी बिरुवा लगाएर व्यावसायिक रूपमा खेती गरिरहेको उनको भनाइ छ । मकै फल्ने बारी मासेर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेको राईले बताए ।

“किवी खेती किसानको रोजाइको बाली बनेको छ”, उनले भने, “अन्य बाली हटाएर किवीखेती विस्तार भइरहेको छ । मकै, आलु खेतीभन्दा किवीबाट राम्रो आम्दानी लिने गरेको छु ।” सुरुमा इलामबाट बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिए ।

किवी लगाएको ठाउँमा पाखे अलैँची र खोर्सानीसमेत पनि खेती गर्न सकिने भएकाले दोहोरो फाइदा लिन सकिने राईले बताए । किवी खेतीबाट वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी लिने अपेक्षा रहेको बताए ।

टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय किसान एकराज विष्टले किवीको व्यावसायिक खेती गरिरहेको बताए । विष्टले करिब १० रोपनी क्षेत्रमा तीन वर्षअघिबाट किवी खेतीको विस्तार गरेको उनको भनाइ छ ।

“वैदेशिक रोजगारीबाट फर्केर व्यावसायिक किवी खेती गरिरहेको छु”, विष्टले भने, “राम्रो आम्दानी हुने भएपछि मैले व्यावसायिक खेती थालेको हुँ । फल लिनका लागि तीनदेखि चार वर्षसम्म लाग्छ । तर अन्य बालीको तुलनामा किवी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।”

टेम्केमैयुङ गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रममार्फत कृषिको खेती विस्तारमा सहयोग गरिरहेको जनाएको छ । किसानलाई व्यावसायिक तथा आधुनिक खेतीमा लाग्न प्रोत्साहन गर्दै गाउँपालिकालाई कृषिमा नमूना बनाउने उद्देश्यका साथ काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् ।

“गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्ध रूपमा कामको थालनी गरिरहेका छौँ”, उनले भनिन्, “व्यावसायिक रूपमा कृषि कर्ममा लागेका स्थानीयलाई आवश्यक सहयोग गर्दै आएका छौँ । गाउँपालिकालाई कृषिमा नमूना बनाउने हाम्रो लक्ष्य छ ।”

किवीको राम्रो जातको पहिचान गरेर लगाएमा एक बोटबाट एक सयदेखि एक सय ५० केजीसम्म फलाउन सकिने  स्थानीय कृषक रत्नबहादुर विष्टले बताए । पछिल्लो समय किवीखेती धेरै मानिसको रोजाइमा पर्ने बालीका रूपमा स्थापित भएको उहाँको भनाइ छ  । गाउँघरका मानिस मकै, आलु खेती छाडेर व्यावसायिक किवी खेतीमा लागेको विष्टले बताए । 

किवी एक हजार पाँच सय मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा खेती गर्न सकिने किसानको भनाइ छ । व्यावसायिक खेतीमा लागेका  किसानलाई सरकारले विशेष कार्यक्रम बनाएर प्रोत्साहन गर्न सके देशको आर्थिक विकासमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ । यहाँको भौगोलिक विविधतालाई ध्यानमा राखेर माटोअनुसारको खेती विस्तारमा ध्यान दिन आवश्यक रहेको किसानको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप