आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गुगुटेरेसको नेपाल भ्रमण

पोखरा आएर गुटेरेसले भने- अद्भुत हिमाल र हिमनदीहरू जोगाउनुपर्छ

सोमबार, १७ वैशाख २०८१, १० : २३
सोमबार, १७ वैशाख २०८१

पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनको असर कम गर्न हिमाल र हिमनदी जोगाउनुपर्ने बताए । 

अन्नपूर्ण बेसक्याम्पबाट फर्केपछि पोखरामा पत्रकारहरूलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले यी अद्भुत हिमालहरू र यी अद्भुत हिमनदीहरू जोगाउनुपर्छ । जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल र नेपालजस्ता अन्य देशहरूलाई समर्थन गर्न आवश्यक छ ।’ 

जलवायु परिवर्तनकै कारण धेरै ठाउँमा भूस्खलन भएको भन्दै उनले यसबाट पीडित समुदायका लागि विश्वस्तरबाटै प्रभावकारी कदम चाल्नुपर्ने बताए । ‘जलवायु परिवर्तनका कारण धेरै भागहरू भूस्खलन भएका छन् । धेरै समुदायमा जुन गहिरो रूपमा परेको नकारात्मक असर छ यसलाई मैले अन्तर्राष्ट्रिय समुदायमा अपिल गर्नेछु,’ उनी अघि भन्छन्, ‘पीडित समुदायको रक्षा गर्न र जलवायु अनुकूलनको लागि धेरै कोषहरू पनि छन् । यी कोषहरू क्षति कम गर्न र पीडित जनताको फाइदाका लागि बनाइएका हुन् । त्यसको उपयोग हुनुपर्छ ।’ 

उनले जलवायु परिवर्तनको असरलाई कम गर्न प्रभावकारी ऐक्यबद्धता आवश्यक रहेको बताए । ‘मैले भ्रमण गरेका र देखेका ठाउँहरूमा मान्छेहरू जलवायु परिवर्तनको कारणले धेरै पीडामा छन्,’ गुटरेसले थपे, ‘वास्तवमै हिमाली क्षेत्रको अवस्था जटिल छ ।’ गुटेरेस पोखराबाट लुम्बिनी उडेका छन् ।

उनले पोखरामा रहँदा पुम्दीकोट स्थित विशाल शिव मन्दिरको अवलोकन गरे भने फेवातालमा डुङ्गा सयर गरे । उनको प्रमुख जोड जलवायु परिवर्तन र हिमालमा देखिएको असरमा केन्द्रित थियो । पत्रकार सम्मेलनमा पनि उनले जलवायु परिवर्तनबाहेक अन्य विषय बोलेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप