सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विपन्नको निशुल्क दाहसंस्कार गर्दै इटहरी उपमहानगर

सोमबार, १७ वैशाख २०८१, ०६ : ३६
सोमबार, १७ वैशाख २०८१

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले  नगरका आर्थिक रुपमा विपन्न परिवारको  निधनमा निशुल्क दाहसंस्कार गर्दै आएको छ । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरा लगायतका सामग्री सहित निशुल्क दाहसंस्कार गर्दै आएको हो। 

यसअघि घरदेखि घाँटसम्म शवबाहन निशुल्क गरेको उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभावमा दाउरा लगायतका सामग्री किन्न आर्थिक समस्या भएकाहरुका लागि बुढी गंगा मुक्त्ती घाटमा निशुल्क दाहसंस्कार गरिँदै आएको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए । अहिलेसम्म १०४ जना विपन्नलाई निशुल्क दाहसंस्कार गरिएको उपमहानगरले जनाएको छ ।

पौडेलले आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेहरूका लागि यस्तो निर्णय गरिएको बताए । उपमहानगरले नागरिकको अन्तेष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार गर्नुअघि नै दाउरा लगायतका आवश्यक सामग्री  घाटमा नै निशुल्क व्यवस्था गरेको मेयर पौडेलले बताए ।

पौडेलले भने, 'कोही नगरवासीको आफन्तजनको मृत्यु हुँदा विपन्न परिवारका लागि इटहरी उपमहानगरले मसान घाटसम्म शव लैजान निशुल्करुपमा शवबाहन उपलब्ध गराउँदै आएको छ । तर, दाहसंस्कार गर्न दाउरा किन्ने पैसा नभएर टायरमा जलाएर अन्तेष्टि गर्नुपरेको खबर सुन्दा र देख्दा त्यो अवस्थाको अन्त्य गर्न मृतकका परिवारलाई दाहसंस्कार निशुल्क गरिदिएको हो   ।'

पौडेलका अनुसार इटहरी उपमहानगरले २० वटै वडामा कोही कसैको मृत्यु हुँदा अन्तिम संस्कारका लागि शव वाहन तथा बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने गरेको छ ।

 'जन्म र मृत्यु स्वभाविक प्रक्रिया हो । मृत्यु अहिलेसम्म कसैले रोक्न सकेको छैन। मानिसको मृत्यु पछि मृतक शरीरलाई सवै धर्मालम्बीहरुले आ–आफ्नै तरिकाले व्यवस्थापन गर्ने गर्दछन्,' उनी भन्छन्, 'मृत्यु पश्चाच गरिने शव व्यवस्थापनमा ठुलो धनराशी खर्च पनि हुने गरेको छ । तर विपन्न वर्गले भने शव व्यवस्थापन गर्दा पनि ऋण खोज्नुपर्ने बाध्यता छ ।'

भनेको समयमा ऋण नपाउँदा कतिपय अवस्थामा शव व्यवस्थापन गर्न समेत कतिपय परिवारलाई ठुलै समस्या हुने गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप