आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

मुगु हत्याकाण्ड : कहाँ पुग्यो प्रहरीको अनुसन्धान ?

बुधबार, २० मङ्सिर २०८०, २२ : ५०
बुधबार, २० मङ्सिर २०८०

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दू गाउँमा एकै परिवारका ४ जनाको बीभत्स हत्या गरिएको एक साता पुग्दासम्म पनि हत्यारा पत्ता लागेको छैन । विभिन्न कोणबाट तीव्र गतिमा अनुसन्धान भइरहे पनि हत्यारा पत्ता लगाउन कठिनाइ भइरहेको हो । यद्यपि अनुसन्धान अधिकृतहरू हत्यारा निकट पुगेको बताइरहेका छन् । तर, घटनाबारे अझै पनि वास्तविक ‘क्लु’ पत्ता लगाउन मुस्किल भइरहेको अनुसन्धानमा सक्रिय एक अनुसन्धान अधिकृतले रातोपाटीलाई जानकारी दिए । घटनाबारे ३ जना इन्स्पेक्टरहरूले छुट्टाछुट्टै कोणबाट अनुसन्धान गरिरहेका छन् ।

प्रहरीले आइतबारदेखि विभिन्न शंकास्पदहरुसँग सोधपुछ गर्ने क्रम जारी छ । शुक्रवार छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज बोहरा, ८ महिनाका अर्का छोरा रहर बोहरा र ८ वर्षीय छोरी अप्सराको बोहराको शव घरभित्र भेटिएको थियो ।

धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि हत्याराले ढोकामा ताला लगाएर हिँडेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यापछि श्रीदेवी बोहराको मोबाइल हत्याराले लिएर गएको भेटिएको ती अनुसन्धान अधिकृतको भनाइ छ ।

‘घटना घटाइसकेपछि मूल ढोकामा प्रयोग हुने ताला नभएर अन्तबाट नै ल्याइएको अर्कै ताला प्रयोग भएको छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘हतियार ठुलो खाले प्रयोग गरिएको देखिन्छ । सानो बच्चा बाहेक अरू सबैमा हतियार प्रयोग भएको छ ।’ 

कार्तिक ८ मा साँझ ३ जना बच्चा र आमाको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे कार्तिक १० मा खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मुगुको टिमले अनुसन्धान सुरु गरेको थियो । मुगु प्रहरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएका अनुसन्धान अधिकृतहरूले सहयोग गरिरहेका छन् ।

अनुसन्धानलाई सघाउन आइतबार प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजी) भीमप्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन् । तालिम प्राप्त कुकुरले समेत कुनै संकेत नदिएपछि अनुसन्धान अझ लम्बिने देखिएको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार अनुसन्धानका लागि घर वरिपरि र अन्य केही शङ्कास्पद व्यक्तिहरूलाई सोधपुछ गर्ने कार्य भइरहेको छ । घटनाको ‘क्लु’ पत्ता नलाग्दा अनुसन्धान केही लम्बिने देखिएको उनले बताए । ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ, घटनास्थल सुरक्षित पनि राखिएकै छ,’ ती अनुसन्धान अधिकृतले भने, ‘पक्राउ गर्नकै लागि अझै पनि पर्याप्त विवरणहरू पत्ता लागिसकेका छैनन् ।’

ती अनुसन्धान अधिकृतका अनुसार घटना कार्तिक ८ गते साँझ भएको तर, श्रीदेवीका श्रीमानको प्यासेन्जरमा भने ९ गते श्रीदेवीको मोबाइलबाट टिका लगाएको फोटो पठाइएको छ । श्रीदेवीको मोबाइल हत्याराले नै लगेको हुनाले उक्त तस्बिर हत्याराले नै पठाएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले प्राविधिक कुराहरूमा अनुसन्धान गरिरहेको ती अधिकृत बताउँछन् । यद्यपि मुगुमा नेटवर्क समस्याले केही कठिनाइ भइरहेको छ । 

मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा भने दोषीलाई कारबाही नभएसम्म शव नबुझ्ने बताइरहेका छन् । कतारमा रहेका दीपक शनिवार बिहान ११ बजे घरमा आइपुगेका थिए । उनी आइसकेपछि शवहरू पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको थियो ।

शवहरूको पोस्टमार्टम भए पनि परिवारले बुझेको छैन । छाँयानाथ रारा नगरपालिका–६, का वडाध्यक्ष खेमबहादुर रावलकाअनुसार हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने भन्ने अडान परिवारको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप