आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

टी-२० विश्वकप छनोट : आज हुने नेपाल र ओमानबिचको खेलले समूह विजेताको टुङ्गो लगाउने

बिहीबार, १३ वैशाख २०८१, ०७ : ४३
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । आगामी टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको अन्तिम चरणको छनोट खेलमा बिहीबार नेपालले ओमानको सामना गर्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने नेपाल र ओमानबिचको खेल नेपाली समयअनुसार, बिहान ९ बजे सुरु हुनेछ ।

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । बिहीबार हुने खेलले समूह बितेको टुङ्गो लगाउने छ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् ।

टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्दै छन् । नेपालले यसअघि एक पटक टी—२० विश्वकप खेलेको छ । जारी छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

ओमानले भने आफ्नो पहिलो खेलमा मलेसियालाई ३२ रनले र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । चार अंकसहित तालिकामा नेपाल पहिलो र समान अंक जोडेको ओमान दोस्रो स्थानमा छन् । नेट रन रेटमा नेपालभन्दा ओमान अगाडि छ ।

दुई—दुई हार भोगिसकेका मलेसिया र सिंगापुर भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । समूह ‘ए’ को विजेताले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ । समूह ‘ए’ को उपविजेताले भने सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

हाल समूह ‘बी’ मा चार अंकसहित संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो र दुई अंकसहित बहराइन दोस्रो स्थानमा छन् । दुई अंक जोडेको हङ्कङ तेस्रो र खाता खोल्न नसकेको कुवेत चौथो स्थानमा आसिन छन् । 

बिहीबार नै मुलपानी क्रिकेट मैदानमा हङ्कङले यूएई र बहराइनले कुवेतको सामना गर्दै छन् । बिहीबार दिउँसो समूह ‘ए’ को दोस्रो खेल कीर्तिपुर मैदानमा मलेसिया र सिंगापुरबिच खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप