आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट

ओमानलाई हराउन नेपालले १४६ रन बनाउनुपर्ने

मङ्गलबार, १८ वैशाख २०८१, १० : ४६
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको बिहीबारको खेलमा नेपालले ओमानबाट जितका लागि एक सय ४६ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको हो । 
ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ३२ रनको योगदान गरे । तल्लो क्रमका ब्याट्सम्यान नसिम खुसीले २५ रन जोडे । ओपनर प्रतिक अथावलेले पनि २४ रन बनाए । आयान खान १८ रन बनाउँदै पेभेलियन फर्किए । 

ओमानका तल्लो क्रमका ब्याट्सम्यान सकिल अहमदले अविजित २२ रन बनाए । उनले १७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काए । कालिमुल्लाहले पाँच रनमा पेभेलियन फर्किए । उनलाई करण केसीले सोमपाल कामीद्वारा क्याच गराएका थिए । ओमानले अतिरिक्त रुपमा सात रन पाएको थियो । 
नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले दुई—दुई विकेट हात पारे । गुल्सन झा र अविनाष बोहराले पनि एक—एक विकेट लिए । सन्दीपले चार ओभरमा ३० रन खर्चिए भने सोमपालले चार ओभरमा १६ रन दिए । करणले चार ओभरमा ४३ रन खर्चिए । 

ओमानको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका थिए । उनले ओमानका ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीलाई आठ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले कश्यपलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । कश्यपले पाँच बलको सामना गरी दुई चौका हिर्काएका थिए । पहिलो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाउँदा ओमानले आठ रन बनाएको थियो ।   

ओमानको दोस्रो विकेट सामपाल कामीले लिएका थिए । उनले ओमानका तेस्रो नम्बरका ब्याट्सम्यान अकिब इलियसलाई दुई रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । इलियस आउट हुँदा ओमानले ३.१ ओभरमा २१ रन बनाएको थियो ।

ओमानको तेस्रो विकेट गुल्सन झाले लिएका थिए । उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतिक अथावालेलाई २४ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । गुल्सनले प्रतिकलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । विकेटकिपर ब्याट्सम्यान प्रतिकले १८ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनी ओउट हुँदा ओमानले पाँच ओभर ३७ रन बनाएको थियो ।

ओमानको चौथो विकेट सोमपाल कामीले लिएका थिए । उनले ओमानका पाँचौँ नम्बरका ब्याट्सम्यान सोएब खानलाई शून्य रनमै बोल्ड गरेका थिए । सोमपालले लिएको यो दोस्रो विकेट थियो । सोएब आउट हुँदा ओमानले ५.४ ओभरमा ३८ रन बनाएको थियो ।  ओमानको पाँचौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले ओमानका ब्याट्सम्यान आयान खानलाई १८ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सन्दीपले आयानलाई बोल्ड गरेका हुन् । आयानले पेभेलियन फर्किनुअघि २५ बलमा दुई चौका हिर्काएका थिए ।

ओमानको छैठौँ विकेट पनि सन्दीपले नै लिएका थिए । आयानलाई आउट गराएलगत्तै सन्दीपले अर्को बलमा ओमानका ब्याट्सम्यान मेहरान खानलाई शून्य रनमै एलबीडब्लूको धरापमा पारेका थिए । त्यतिबेला ओमानले १३.२ ओभरमा ८७ रन बनाएको थियो ।  ओमानको सातौँ विकेट अविनाष बोहराले लिएका थिए ।

उनले ओमानका अनुभवी ब्याट्सम्यान जिसन मक्सुदलाई ३३ रनको ब्यक्तिग स्कोरमा पेभेलियन फर्काएका थिए । अविनाषले कप्तान सिजनलाई आसिफ शेखद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि जिसनले २६ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काएका थिए । त्यतिबेला ओमानको टोलीले १४.४ ओभरमा एक सय रन बनाएको थियो ।

ओमानको आठौँ विकेट करण केसीले लिएका थिए । उनले ओमानका ब्याट्सम्यान नसिम खुसीलाई २५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले नसिमलाई सन्दीप लामिछानेद्वारा क्याच गराए । करणले लिएको यो दोस्रो विकेट थियो । नसिमले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । उनी आउट हुँदा ओमानले १७.३ ओभरमा एक सय १८ रन बनाएको थियो । 

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा भने पुगिसकेका छन् । बिहीबारको खेलले समूह वितेको टुंगो लगाउने छ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । 

टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । नेपालले यसअघि एक पटक टी—२० विश्वकप खेलेको छ । जारी छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

ओमानले भने आफ्नो पहिलो खेलमा मलेसियालाई ३२ रनले र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । चार अंकसहित तालिकामा नेपाल पहिलो र समान अंक जोडेको ओमान दोस्रो स्थानमा छन् । नेट रन रेटमा नेपालभन्दा ओमान अगाडि छ । 

दुई—दुई हार भोगिसकेका मलेसिया र सिंगापुर भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । समूह ‘ए’ को विजेताले शुक्रबार हुने सेमिफाइनल खेलमा समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ । समूह ‘ए’ को उपविजेताले भने सेमिफाइनल खेलमा समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

हाल समूह ‘बी’ मा चार अंकसहित संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो र दुई अंकसहित बहराइन दोस्रो स्थानमा छन् । दुई अंक जोडेको हङ्कङ तेस्रो र खाता खोल्न नसकेको कुवेत चौथो स्थानमा आसिन छन् । बिहीबार नै मुलपानी क्रिकेट मैदानमा हङ्कङले यूएई र बहराइनले कुवेतको सामना गर्दैछन् । बिहीबार दिउँसो समूह ‘ए’ को दोस्रो खेल कीर्तिपुर मैदानमा मलेसिया र सिंगापुरबिच खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप