सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

किन खस्छ पाठेघर, कसरी गर्ने रोकथाम ?

सोमबार, १९ चैत २०७४, १४ : ५६
सोमबार, १९ चैत २०७४

काठमाडौँ । पाठेघर अर्थात् आङ खस्ने समस्या पहाडी क्षेत्रका महिलामा बढी देखिएको गाइनोलोजिस्ट डाक्टर रूपा झाले बताएकी छिन् । यो समस्या सबै उमेर समूहको महिलामा भए पनि पहाडी क्षेत्रको महिलालाई तराई क्षेत्रको महिलामा भन्दा बढी हुने गरेको उनको बुझाइ छ । 

भारी बोक्ने उकालो–ओरालो बढी हुने हँुदा पेटमा समस्या हुने डा. झाले बताइन् । गर्भावस्थामा प्रजनन् अङ्गमा असर हुने हुँदा पाठेघर लुज भएर जान्छ । पाठेघरलाई अरू तन्तुहरूले जाडेर राखेको हुन्छ । सपोर्ट कम भएपछि लुज भएर पाठेघर ठाउँ छोडेर तल आउँछ, यो अवस्थालाई नै पाठेघर खस्नु भन्छिन् ।’ यो समस्या कुनै महिलामा कम हुन्छ भने कुनैमा धेरै हुन्छ ।’

यो अवस्थालाई मेडिकलको भाषामा ‘पेल्भिक अर्गान प्रोल्याप्स’ भनिन्छ । चिकित्सकहरूको भनाइ अनुसार यो समस्या जुनसुकै उमेर समूहको महिलामा देखा पर्न सक्छ । सन् २००६ को यूएनएफपीएको अध्ययनअनुसार नेपालमा ६ लाख महिला यो समस्या रहेको देखाएको थियो  । अझै पनि यो समस्या झन् बढ्दै गइरहेको छ । 

पाठेघर खस्नुको मुख्य कारण 

सन्तानको जन्मान्तर कम हुनु ।    

धेरै बच्चा जन्माउनु । 

धेरै पटक गर्भपतन गर्नु ।

गर्भवती तथा सुत्केरी समयमा भारी– गह्रौँ सामान बोक्नु ।

अस्पतालमा सुत्केरी नगराउनु आदि पाठेघर खस्नुका मुख्य कारणहरू हुन् । 

डा. झाको अनुसार अस्पतालमै गएर सुत्केरी गराउनु पर्छ भन्ने सोच सबैमा छैन भने भएकाहरू पनि हतपत्त जान मान्दैनन् । अझै पनि नेपालीको सबै क्षेत्रमा  सुविधा सम्पन्न अस्पताल, अनुभव भएका चिकित्सक पुग्न सकेको छैनन् । कतिले चाहेर पनि अभावकै कारणले घरमै  बच्चा जन्माउन बाध्य छन् ।’ यो समस्यालाई कम गर्नका लागि गर्भावस्थामा परिवार र गर्भवती महिलाले आफ्नोे विशेष ख्याल गर्नुपर्ने हुन्छ ।’ पाठेघर नखस्नका लागि सुत्केरी गराउने समयमा अस्पताल नै जानुपर्ने हुन्छ ।’

अस्पतालमा सुत्केरी अवस्थामा के गर्दा महिला तथा शिशुका लागि राम्रो हुन्छ भन्ने बारेमा चिकित्सकहरूले जानकारी गराइरहेका हुन्छन् ।’ 
 
डा. रुपा भन्छिन्– सुत्केरी बेथा लागेको समयमा बढी नै बल प्रयोग हुन्छ । सुत्केरी बेथा लागेको सुरुकै अवस्थादेखि बल प्रयोग गर्नु गलत हो ।’ बेथालागेको सुरुदेखि नै महिलाले बल प्रयोग गर्दा पाठेघर खस्ने बढी समस्या हुन्छ ।  त्यसकारण अप्रेसन नगरी नै बच्चा जन्मिने अवस्था छ भने ७ घर खुलेपछि अर्थात चिकित्सकको सल्लाह अनुसार बल प्रयोग गर्नुपर्छ ।’ सुरुदेखि नै बल प्रयोग गर्दा पाठेघरलाई  सर्पाेट गर्दै आएको लिगामेन्ट लुज हुने हुँदा पाठेघर खस्ने समस्या हुन्छ ।’

हाल महिलाको पाठेघर खस्नुको मुख्य कारण भनेको धेरै बच्चा जन्माउनु, सुत्केरी अवस्थामा खानापानको राम्रो व्यवस्था नहुनु, गर्भवती अथाव सुत्केरी अवस्थामा भारी काम गर्ने महिलाहरूमा पाठेघर खस्ने समस्या बढी देखिने डा. झाले बताइन् । 

रोकथामका लागि उपनाउनुपर्ने उपाय

सानै उमेरमा विवाह नगर्ने । 

गर्भवती भएपछि नियमित स्वास्थ्य परीक्षण गर्ने । 

चिकित्सकको सल्लाहअनुसार नियमित आइरन चक्की  र क्याल्सियम खाने । 

गर्भवती अवस्थामा भारी सामान नउचाल्ने । 

गर्भवती अवस्थामा यौन सम्पर्क नगर्ने, सुत्केरी भएको ३ देखि ६ महिनासम्म यौन सम्पर्क नगर्ने ।  

सुत्केरीपछि कम्तीमा पनि ३ देखि ५ महिना आराम गर्ने ।   

पोषणयुक्त खाना खाने । 

कम्तीमा २ वर्षको जन्मान्तरमा अर्काे बच्चा जन्माउने जस्ता कुरालाई अपनाउन सकेको खण्डमा आङ अर्थात पाठेघर खस्ने समस्या कम हुनसक्छ । 

विद्यालय शिक्षामा पनि गम्भीर रूपमा पाठेघरको विषयमा अध्ययन गराउनु पर्ने भन्दै डा. झा भन्छिन्– कक्षा ६ देखि नै महिलाको पाठेघरको विषयमा जानकारी गराए अझ राम्रो । 

ब्यायमबाट पनि हुन्छ उपचार 
गर्भवती अवस्थामा महिलाको पाठेघर खुकुलो भएको हुन्छ । यो समयमा गह्रौँ भारी नबोक्ने, व्यायममार्फत पाठेघरलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । 

डा. झाका अनुसार पाठेघर खस्ने फस्ट एन्ड सेकेन्ड डिग्रीको अवस्थामा भने व्यायमले पनि काम गर्न सक्छ । सुरुकै अवस्थामा छ भने प्रजनन् स्वास्थ्यसम्बन्धी तालिम प्राप्त महिलाहरूले सिकाएको व्यायम गर्न सकिन्छ । जसलाई ‘किगेल्स व्यायम’ भनिन्छ । यस्तै अर्काे रहेको छ रिङ पेसरी खसेको पाठेघरलाई पुरानै अवस्थामा फर्काउनका लागि रिङ पेसरी गरिन्छ । योनीबाट रिङ पेसरी राखेर झरेको पाठेघरलाई भित्रै अड्काउने गरिन्छ । पाठेघरमा राखेको रिङ हरेक ३ महिनामा फेर्नुपर्ने हुन्छ ।’
 
लक्षणहरू 
–योनीमा केही निस्केर बसेको जस्तो महसुस हुनु । 
–पिसाब फेर्न गाह्रो हुनु । 
–खोकी लाग्दा, हिँड्दा, पेटमा बल पर्दा पिसाब चुहिनु ।
–ढाड दुख्नु ।
–योनीबाट सेतो पानी बग्नु ।
–बसेर काम गर्न असहज हुनु पाठेघर खस्नुको लक्षणहरू हुन । 


 डाक्टर रुपा झा ग्रिन सिटी अस्पतालमा कार्यरत छिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप