आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
टी—२० विश्वकप छनोट

ओमानसँग हारेपछि सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी यूएई

बिहीबार, १३ वैशाख २०८१, २३ : २६
बिहीबार, १३ वैशाख २०८१

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा बिहीबार नेपाली टोली ओमानसँग पाँच रनले पराजित भएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा अलआउट हुनुअघि एक सय ४० रनमात्र बनाउन सक्यो । नेपालका ब्याट्सम्यानले ओमानविरुद्ध गतिलो प्रदर्शन गर्न सकेनन् । नेपालका लागि बिवेक यादबले सर्वाधिक ३९ रन बनाए । उनले २४ बलको सामना गरी पाँच छक्का हिर्काए ।

ओपनर कुशल भुर्तेलले २६ रन बनाए । अर्का ओपनर आसिफ शेख पाँच रनमै आउट भए । तेस्रो नम्बरका ब्याट्सम्यान सोमपाल कामी पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् । कुशल मल्ल १० रनमै पेभेलियन फर्किए । कप्तान रोहित पौडेल पनि १२ रनमै आउट भए । 

छैठौँ नम्बरका ब्याट्सम्यान सन्दीप जोरा १२ रन बनाउँदै आउट भए । गुल्सन झा तीन रनभन्दा अगाडि बढ्न सकेनन् । सन्दीप लामिछाने दुई रनमै स्टम्पिङ आउट भए । करण केसीले ११ बलमा एक छक्का र एक चौकाको मद्दतले १५ रन बनाए । ओमानका बलर बिलाल खानले तीन विकेट लिए । सकिल अहमद, महेरान खान र अकिब इलियासले पनि दुई—दुई विकेट हात पारे ।

समूहगत चरणको अन्तिम खेलअघि नै नेपाल र ओमान समूह ‘ए’ बाट सेमिफाइनलमा प्रवेश गरिसकेका थिए । बिहीबारको खेलले समूह वितेको टुंगो लगाएको हो । नेपाललाई हराएपछि ओमान ६ अंकसहित समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो । 

नेपाल भने चार अंकसहित समूह उविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । सिंगापुर र मलेसिया भने समूहगत चरणबाटै घर फर्किने निश्चित भइसकेको छ । यी दुबै टोलीले अघिल्ला दुई खेलमै पराजय भोगेका थिए ।  सेमिफाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ । यूएई समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्यो । यूएईले बिहीबार समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङलाई २२ रनले पराजित गरेको हो ।

सेमिफाइनलमा ओमानको प्रतिद्वन्द्वीको टुंगो लाग्न बाँकी छ । सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग भिडन्त गर्नेछ । अर्को सेमिफाइनल खेल समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेताबिच हुनेछ । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । 

नेपालले यसअघि एक पटक टी—२० विश्वकप खेलेको छ । जारी छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई आठ विकेटले र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने आफ्नो पहिलो खेलमा मलेसियालाई ३२ रनले र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले पराजित गरेको थियो । 

नेपालले पहिलो विकेटको रुपमा विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी आठ बलमा एक चौकाको मद्दतले पाँच रन बनाउँदै आउट भएका थिए । ओमानका बलर बिलाल खानले आसिफलाई आफ्नो बलमा आफैले क्याच गरेका थिए । 

दोस्रो विकेटका रुपमा सोमपाल कामी १२ रन बनाउँदै आउट भएका थिए । उनले नौ बलमा एक छक्का र एक चौका हिर्काएका थिए । उनलाई ओमानका बलर सकिल अहमदले कश्यप प्रजापतीद्वारा क्याच गराएका थिए ।

तेस्रो विकेटका रुपमा कुशल भुर्तेल आउट भए । ओपनर कुशलले १८ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाएका थिए । उनलाई ओमानका बलर मेहरान खानले बोल्ड गरेका थिए । चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल १२ बलमा १२ रन बनाउँदै आउट भए । उनलाई ओमानका बलर अकिब इलियासले बोल्ड गरेका थिए ।

यसैगरी पाँचौँ विकेटका रुपमा कुशल मल्ल १२ बलमा १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई ओमानका बलर मेहरान खानले कलिमुल्लाहद्वारा क्याच गराएका थिए । छैठौँ विकेटका रुपमा गुल्सन झा पाँच बलमा तीन रन बनाउँदै आउट भए । उनलाई ओमानका बलर अकिब इलियासले जिसन मक्सुदद्वारा क्याच गराएका थिए । 

नेपालको सातौँ विकेटका रुपमा सन्दीप जोरा पेभेलियन फर्किएका थिए । उनी १५ बलमा एक छक्काको मद्दतले १२ रन बनाउँदै आउट भएका थिए । उनलाई ओमानका बलर जिसन मक्सुदले नसिम खुसीद्वारा क्याच गराएका थिए । त्यतिबेला नेपालले १४.५ ओभरमा सात विकेट गुमाएर ८२ रन बनाएको थियो ।
नेपालले आठौँ विकेटका रुपमा सन्दीप लामिछानेलाई गुमाएको थियो । छामिछाने दुई रन बनाउँदै आउट भएका थिए । उनी ओमानका बलर सकिल अहमदको बलमा विकेटकिपर अथावालेद्वारा स्टम्पिङ भएका थिए । 

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ३२ रनको योगदान गरेका थिए । तल्लो क्रमका ब्याट्सम्यान नसिम खुसीले २५ रन जोडेका थिए । ओपनर प्रतिक अथावलेले पनि २४ रन बनाए । आयान खान १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । 

ओमानका तल्लो क्रमका ब्याट्सम्यान सकिल अहमदले अविजित २२ रन बनाएका थिए । उनले १७ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । कालिमुल्लाहले पाँच रनमा पेभेलियन फर्किए । उनलाई करण केसीले सोमपाल कामीद्वारा क्याच गराएका थिए । ओमानले अतिरिक्त रुपमा सात रन पाएको थियो । 

नेपाली टोलीका बलर करण केसीले तीन विकेट लिएका थिए । सन्दीप लामिछाने र सोमपाल कामीले दुई—दुई विकेट हात पारेका थिए । गुल्सन झा र अविनाष बोहराले पनि एक—एक विकेट लिएका थिए । सन्दीपले चार ओभरमा ३० रन खर्चिए भने सोमपालले चार ओभरमा १६ रन दिएका थिए । करणले चार ओभरमा ४३ रन खर्चिएका थिए । 

ओमानको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका थिए । उनले ओमानका ओपनर ब्याट्सम्यान कश्यप प्रजापतीलाई आठ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले कश्यपलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । कश्यपले पाँच बलको सामना गरी दुई चौका हिर्काएका थिए । पहिलो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाउँदा ओमानले आठ रन बनाएको थियो ।   

ओमानको दोस्रो विकेट सामपाल कामीले लिएका थिए । उनले ओमानका तेस्रो नम्बरका ब्याट्सम्यान अकिब इलियसलाई दुई रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । इलियस आउट हुँदा ओमानले ३.१ ओभरमा २१ रन बनाएको थियो ।

ओमानको तेस्रो विकेट गुल्सन झाले लिएका थिए । उनले ओमानका ओपनर ब्याट्सम्यान प्रतिक अथावालेलाई २४ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । गुल्सनले प्रतिकलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । विकेटकिपर ब्याट्सम्यान प्रतिकले १८ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । उनी ओउट हुँदा ओमानले पाँच ओभर ३७ रन बनाएको थियो ।

ओमानको चौथो विकेट सोमपाल कामीले लिएका थिए । उनले ओमानका पाँचौँ नम्बरका ब्याट्सम्यान सोएब खानलाई शून्य रनमै बोल्ड गरेका थिए । सोमपालले लिएको यो दोस्रो विकेट थियो ।

सोएब आउट हुँदा ओमानले ५.४ ओभरमा ३८ रन बनाएको थियो ।  ओमानको पाँचौँ विकेट स्पिनर सन्दीप लामिछानेले लिएका थिए । उनले ओमानका ब्याट्सम्यान आयान खानलाई १८ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । सन्दीपले आयानलाई बोल्ड गरेका हुन् । आयानले पेभेलियन फर्किनुअघि २५ बलमा दुई चौका हिर्काएका थिए ।

ओमानको छैठौँ विकेट पनि सन्दीपले नै लिएका थिए । आयानलाई आउट गराएलगत्तै सन्दीपले अर्को बलमा ओमानका ब्याट्सम्यान मेहरान खानलाई शून्य रनमै एलबीडब्लूको धरापमा पारेका थिए । त्यतिबेला ओमानले १३.२ ओभरमा ८७ रन बनाएको थियो । 

ओमानको सातौँ विकेट अविनाष बोहराले लिएका थिए । उनले ओमानका अनुभवी ब्याट्सम्यान जिसन मक्सुदलाई ३३ रनको ब्यक्तिग स्कोरमा पेभेलियन फर्काएका थिए । अविनाषले कप्तान सिजनलाई आसिफ शेखद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि जिसनले २६ बलको सामना गरी तीन छक्का र एक चौका हिर्काएका थिए । त्यतिबेला ओमानको टोलीले १४.४ ओभरमा एक सय रन बनाएको थियो ।

ओमानको आठौँ विकेट करण केसीले लिएका थिए । उनले ओमानका ब्याट्सम्यान नसिम खुसीलाई २५ रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । करणले नसिमलाई सन्दीप लामिछानेद्वारा क्याच गराए ।

करणले लिएको यो दोस्रो विकेट थियो । नसिमले पेभेलियन फर्किनुअघि १४ बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । उनी आउट हुँदा ओमानले १७.३ ओभरमा एक सय १८ रन बनाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप