आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशीमा किचलो

एमाले मन्त्री बर्खास्त गर्न मुख्यमन्त्रीलाई कांग्रेसको दबाब

माओवादी र नेकपा (एकीकृत समाजवादी) लाई मन्त्री बनाए सरकारबाट बाहिरिने तर विश्वासको मत फिर्ता नलिने एमालेको भनाइ
शुक्रबार, २२ मङ्सिर २०८०, १५ : ५३
शुक्रबार, २२ मङ्सिर २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई उनकै दल नेपाली कांग्रेसले बिना विभागीयको रूपमा नियुक्त एमालेका मन्त्री रामबहादुर राना मगरलाई बर्खास्त गर्न आन्तरिक दबाब दिएको छ ।  कांग्रेस स्रोतले दिएको जानकारीअनुसार मुख्यमन्त्री कार्कीले भने ढिलो चाँडो एमाले बाहिरिने भएको कारण बर्खास्त नगर्ने रणनीति बनाएका छन् ।

कोशी प्रदेशका कांग्रेसका एक नेताले नाम उल्लेख नगरी भने, ‘एमालेको मन्त्रीलाई बर्खास्त गर्नुपर्छ भन्ने कांग्रेसको लाइन हो ।’ मुख्यमन्त्री कार्कीले गठबन्धन दलहरूको बैठकमा सहभागी भएर त्यस खालको निर्णयमा सहमति पनि गरेका छन् । तर, कार्यान्वयन भने अब हुने उनले दाबी गरे ।

‘पार्टीको लाइन पहिले नै एमाले बाहिरिनुपर्छ भन्ने हो । विस्तार गरेर त बाहिरिन्छ नै । तर, त्योभन्दा पहिले नै बाहिरिनु पर्‍यो नि त । सरकार पुनः गठन गरिहाल्नुपर्‍यो,’ उनले भने, ‘एमालेलाई आमनेसामने तरिकाले नै छोडाउनुपर्छ । चोर बाटो भन्दा मूल ढोकाबाटै निकाल्नुपर्छ भन्ने हाम्रो मान्यता हो । अब त्यसो हुँदैन भने झ्यालबाट पनि निकाल्छौँ । मुख्यमन्त्रीले मन्त्री बर्खास्त गर्नुपर्‍यो नि त ? म गठबन्धनको सरकार बनाउँछु तपाईँहरू छोड्नु भन्नुपर्छ मुख्यमन्त्रीले ।’

उनले एमालेको मन्त्री हुँदाहुँदै गठबन्धनबाट नयाँ मन्त्री थप्न पनि अप्ठ्यारो भएको सुनाए । ‘झन्डा हल्लाएर बिना जिम्मेवारी एमालेको मन्त्री किन कुदेको ? राजीनामा दिनुपर्दैन ? न विभाग छ, न इज्जत छ । कांग्रेसको लाइन भनेको मन्त्रीबाट एमालेलाई हटाउनुपर्छ भन्ने हो,’ उनले दाबी गरे । 

यसैबीच आजै साँझसम्ममा एमाले र काँग्रेसको निर्णायक वार्ता हुने बताइएको छ । आज बिहान एमाले संसदीय दलका नेता हिकमतकुमार कार्कीसँग काँग्रेसका केही नेताहरूले विराटनगरमै छलफल गरेका थिए । उक्त छलफलका क्रममा पनि कांग्रेस नेताहरूले एमाले नेता कार्कीलाई सहमतिको सरकार बनाऊँ भन्ने प्रस्ताव गरेका थिए । कार्कीले भने माओवादी र एकीकृत समाजवादी सरकारमा सहभागी भए आफूहरू सरकारबाट बाहिरिने अडान राखेको स्रोतको दाबी छ । 

कांग्रेस संसदीय दलका नेता तथा प्रदेश सभापति उद्धव थापा भने काठमाडौँमा रहेका कारण उनी आए पनि पुनः आजै साँझ अर्को छलफल गरेर निष्कर्ष निकाल्ने दुवै दलको तयारी छ । ‘दुई घण्टापछि निष्कर्ष निस्कन्छ, किन हतारिनुभएको,’ बैठकमा सहभागी एक नेताले भने । गठबन्धन दलहरूले भने माओवादी र नेकपा एसको तर्फबाट १–१ जना मन्त्री तत्काल नियुक्त गर्ने सहमति गरेका छन् । ‘सम्भवतः आइतबारसम्ममा मन्त्रीमण्डल विस्तार हुन्छ,’ ती नेताले भने । 

संविधानको धारा १६८ को उपधारा ५ अनुसार कांग्रेसका नेता कार्की गत असोज २७ गते एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थन लिएर मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले शपथग्रहण गरेकै दिन एमालेबाट रामबहादुर राना मगर र कांग्रेसबाट शमशेर राईलाई मन्त्री नियुक्त गरेका छन् । तर, उनीहरुले

जिम्मेवारी भने अझै पाएका छैनन् । मन्त्री रानामगरले जिम्मेवारी नपाउँदा नरमाइलो लागिरहेको प्रतिक्रिया दिए । ‘त्यति राम्रो लागिरहेको छैन, छलफल जारी छ । छिट्टै निकास निस्किन्छ भन्ने विश्वास गरौँ,’ उनले भने ।

आजै एमालेसँग फाइनल वार्ता हुने र गठबन्धनका मन्त्री थप्ने कुरा छ । यद्यपि पुष्टि हुन सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप